आधुनिक मानव र प्राकृतिक यौन अधिकार

आधुनिक मानव र प्राकृतिक यौन अधिकार


– डिल्लीराम अम्माई

समयको गति र जीव जगतको नियतिको आरोह अवरोहसँगै प्राणी जगतको विकासक्रम पनि परिवर्तित स्वरुपमा अगाडि बढिरहन्छ । जीव जगतको विकासमा यौनको महत्वपुर्ण स्थान हुन्छ भन्ने तथ्यलाई धेरै जोड दिएर सम्झाईरहनु पर्दैन। सम्पूर्ण जीवका यौनसम्बन्धी आ-आफ्नै प्राकृतिक र अनुवांशिक गुणहरु हुन्छन् । बिना यौन प्राणी जगतको विकास प्रवाह सम्भव छैन । त्यहि क्रममा मानव यौन जीवनचक्रका पनि केही प्राकृतिक र अनुवांशिक विशेषताहरु छन् । जसलाई प्रख्यात मनोविद सिग्मंड फ्रायडले तीन दसकभन्दा बढीको अनुसन्धानबाट निश्कर्षमा पुर्याएका हुन् ।

एउटा शिशुको रुपमा जन्मेदेखि मृत्युसम्म मानिसका पाँच यौन चरणलाई क्रमशः ओरल, गुदा, लिङ्ग पहिचान, विलम्ब र जननाङ्गमा विभाजन गरेका छन् । मानवले ती सबै उमेरअन्तर्गत कसरि यौन सन्तुष्टी प्राप्त गर्दछ भन्ने कुरा उनले Psychosexual Development भन्ने पुस्तकमा विस्तृत रुपमा व्याख्या गरेका छन् । जसलाई मानिसको आयुभरको यौनचक्र भन्न सकिन्छ ।

यो लेखको तात्पर्य मानिसको जीवनकालभरिको यौनचक्रलाई विश्लेषण गर्नु नभएर मानिसले प्राकृतिक रुपमा लिएर आएको अनुबांशिक गुणलाई विश्लेषण गर्नु रहेको छ । मानिस प्राकृतिक रुपमा कुन यौन बर्गमा पर्छ ? उसको बंशाणुगत यौन चरित्र केहो ? मानव विकाससंगै यौनलाई मानिसले कसरी परिपूर्ति गर्दै आयो ? र यौनसाथीको छनौट स्वतन्त्र हुनुपर्ने हो वा दवाबमुलक ? यहि विषयमा छलफल केन्द्रित हुने छ ।

एउटा उदाहरणलाई लिउँ । पचास मिलियन वर्षअगाडि जमिनमा बस्ने Anthracotheres जातिको एउटा प्रजाति उभयचर हुँदै एउटा परिवार आधुनिक हिप्पोमा विकास भयो भने अर्को पाकिसेटस र इन्डोहायस हुँदै आधुनिक व्हेल, डल्फिन, ओटर र सिलमा रुपान्तरण भएको जीव बैज्ञानिकहरुले पत्ता लगाए । ती जीवले आफ्नो पुरानो सारीरिक ढाँचा, बस्ने वासस्थान र खाने आहारा सबै बदले तर प्राकृतिक यौनचरित्रलाई बदल्न सकेनन् । उनीहरुको यौन चरित्र प्रायः मोनोगामस रहेको छ । त्यसपछि बच्चाहरु जन्माउने, दुध चुसाउने सबै प्राकृतिक गुणहरु यथावत नै रहेको छ ।

त्यस्तै मानव विकासक्रममा पनि धेरै आरोह अवरोहहरु आए । ऊ हिमाली भेगमा पनि बच्न सक्ने भयो, अत्यान्त गर्मी स्थानमा पनि बाँच्न सक्ने रुपमा आफूलाई रुपान्तरण गर्न सक्यो । भनिन्छ मानव विकासको क्रम रोकिएन भने उसले पानीमा बस्न सक्ने गरि आफुलाई रुपान्तरण गर्ने छ ।

याप मानवको कन्दमुल, रुखका बोक्रा र चराका अण्डा आहार थियो । बिंदरथाल र होमोह्याबिलिस तीसलाख वर्षे विकासक्रममा कन्दमुल र मुख्यतया मासुमा निर्भर भयो । होमो सेपियन्स पछिको आधुनिक मानवले आफ्नो जीवनशैली र आहारविहारमा परिवर्तन ल्याउन सके पनि यौन चरित्र र प्राकृतिक स्वभावमा परिवर्तन ल्याउन सकेको छैन ।

यसै सन्दर्भमा मानिस यौनिक रुपमा के हो ? उसको यौनसमबन्धी प्राकृतिक स्वभाव कस्तो थियो, कस्तो विकासक्रमबाट गुज्रियो र हालको मानव यौन मनोविज्ञान कस्तो छ ? त्यो बारे केहि तथ्यहरुसंग साक्षात्कार गर्ने जमर्को गरिएको छ ।

अहिलेसम्म खोजिएका तथ्यहरुबाट के निचोडमा पुग्न सकिन्छ भने ब्वाँसो, फ्याउरो, वेभर्स (एक प्रकारको डल्फिन), अफ़र्स (शिल) जस्ता केही प्राणी र केही चराका प्रजातिहरु मोनोगामस प्राणीभित्र पर्दछन् । तर मानिस मोनोगामस प्राणि हैन । मानिस वहुयौन साथीसँग सम्भोग गरेर यौन आनन्द लिने पोलिगामस प्राणि हो । मानिसको प्राकृतिक गुण अनुशार जीवनभर एउटा यौनसाथीसँग सम्भोग गरेर ऊसले यौनिक सन्तुष्टि लिन सक्दैन । तर समय, परिस्थिति र चेतनाको विकासक्रमले मानिसलाई बाध्यतावश पोलिगामसबाट मोनोगामसतर्फ घचेटीरहेको देखिन्छ । अहिलेको मानबिय यौन अवस्था मानिसको प्राकृतिक र अनुवांशिक गुण बिपरित मात्र नभएर मानिसले मानिसमाथि शक्तिको आडमा थोपरिएको कथित धार्मिक, नैतिक र सामाजिक नीति नियमहरुको परिणती हो । यौनको प्राकृतिक नियमलाई मानिसले प्राकृतिक रुपमा नै बग्न दिएको भए विभिन्न रोग, सामाजिक विसंगती र यौनहिंसाको जन्म नै हुने थिएन ।

मोनोगामस (Monogamous) भनेको के हो ?
मोनोगामस भनेको जीवनभर एउटै मात्र विपरित लिंगी जोडीबीच यौनसम्बन्ध कायम गर्ने प्राणीलाई बुझाउँछ । मोनोगामस प्राकृतिक यौन गुण हो । जसको लागि जीवन भर एउटै यौनसाथी प्रथम र अन्तिम हुन्छ । ब्यक्तिवादी समाज व्यवस्थाले कृषि र दाश युगपछि मानिसमा पनि कृतिम दवाबवश यी गुणहरु अपनाउन बाध्य पारिएको छ, जुन असम्भवप्रायः छ । मानिसको मनोविज्ञान यौनसाथी बदलेको कल्पना र सपनाबाट प्रायः उत्तेजित रहन्छ । मोनोगामी जोडीहरु प्राकृतिक रुपमा चिन्ने तरिका उसको सारीरिक बनावटले हो। जसका भालेपोथीको आकार समान हुन्छ र लिङ्ग र स्तनबाहेक अन्य तरिकाले पहिचान गर्न सकिँदैन।

अध्ययनले के देखाएको छ भने मानिस मात्र नभएर प्रकृतिमा रहेका प्राणीहरुमध्ये ३ देखि ५ प्रतिशत जिवात्माहरु मात्र एक यौन साथीसँग सम्भोग गर्ने प्राणीअन्तर्गत पर्दछन् । उनीहरुको यौन जीवनको अनुसन्धानबाट यो पत्ता लागेको छ कि पहिलोपटक छनौट गरेको जोडीमध्ये एक मर्यो वा हरायो भने बांचेकोले जीवनभर अर्को यौनसाथी खोज्दैन र यौन सम्पर्क पनि गर्दैन । जनावरमा फ्याउरो, ब्वाँसो, शिल र डल्फिन (अफ़र्स) मात्र त्यो यौन वर्गमा पर्दछन ।

यी सबै प्राकृतिक सत्यहरु पत्ता लगाउन यौन अनुसन्धानकर्ताहरुले पाँच हज्जार प्रजातिका जनावरहरुको यौन जीवनबारे अध्ययन अनुसन्धान गरेका थिए ।

पोलिगामस (poligamous) को अर्थ :
एकै समय वा फरक फरक समय र स्थानमा फरक फरक यौन साथिहरुसंग सम्भोग गर्न रुचाउने प्राणि पोलिगामस हो । ग्रिक शब्द पोलिगामिया (State of sex and marriage to many spouses) बाट पोलिगामी शब्द आएको हो । मोनोगामि वर्गका प्राणीले एक यौनसाथीसंग जीवन बिताइदिन्छ भने पोलिगामी यौन वर्गको विशेषता बहुयौन साथी बनाउनु वा बनाउने चेस्टा गरिरहनु हो । त्यो अवस्थामा मानिस कुन वर्गमा पर्छ ? आफुले आफ्नो मनलाई सोध्दा सहज उत्तर पाउन सकिन्छ । आधुनिक मानिसले आफ्नो बहुयौन सन्तुष्टिलाई पुरा गर्ने सामुहिक विवाह, बहुविवाह र बेश्यागमनमार्फत बाटो खोजिरहेको हुन्छ । यो वर्गका भालेपोथी समान हुँदैनन् । यो वर्गका भाले वा पुलिंगीहरु पोथी वा स्त्रिलिंगी भन्दा १० प्रतिशत अग्ला र २० प्रतिशत शारीरिक वजन बढी भएका हुन्छन् । उनीहरुको लिङ्ग पहिचान गर्न त्यति गाह्रो हुँदैन ।

प्राकृतिक अधिकार भर्सेज सामाजिक नियम र शक्ति :
मानिस शक्तिशाली शासकहरुद्वारा लादिएका कथित नैतिक, सामजिक र धार्मिक नीतिनियमहरुको परिबन्दले निर्धारण गरेको एकल यौन जीवन पद्धति (केवल स्त्रीको लागि मात्र बाध्यकारी) लाई अपनाउँदै आइरहेको देखिन्छ । तर पनि अहिले विकसित र चेतनशील देशहरुमा यौन स्वतन्त्रताका बारेमा छलफल र बहस घनिभूत रुपमा हुँदै आएका छन् । उनीहरुले सबै किसिमका ब्यक्तिवादी र सामान्तवादी सामाजिक ब्यवस्थाले निर्धारण गरेका अन्यायपूर्ण दबाबहरु तोडेर यौनको प्राकृतिक बहावलाई नरोक्न आह्वान समेत गरेका छन् ।

यौनलाई वर्तमान समाज व्यवस्थाले जतिसुकै गोप्य, घिनलाग्दो, कसैलाई भन्नैनहुने रहस्यमयी र मोनोगामस बनाउन खोजे पनि मानिसले फरकफरक अवस्थामा बहुयौन साथीसंग सम्भोगको बाटोमा लुकेर भए पनि हिँड्न छोडेको छैन । आफ्नो नीजी पत्नी वा पति बाहेक अन्य सुन्दर सुन्दरीसंग यौनिक रुपमा लालायित भैरहने, फरकफरक यौनसाथी बनाएर विभिन्न आसनको यौन कल्पना गर्दै आफ्ना यौनाङ्गबाट यौनरस बगाइरहने र यौन साथी बदल्ने चेस्टामा तरंगित भैरहने मानिसको प्राकृतिक गुण हो । हाम्रो पूर्वीय संकीर्ण र परम्परावादी समाजमा यसरी यौनबारे खुलेर बहस गर्दा अमर्यादित बहस भनेर आरोप पनि आउन सक्छ तर यौन बहस विकसित मुलुकका स्कुलहरुमा अनिवार्य बनाइएको छ भने समाजमा बौद्धिकहरुबीच बिना हिच्किचाहट यस्ता बहसहरु हुने गर्दछन् ।

समाजशास्त्रीका अनुसार मानवको आधुनिक समुदाय एकल यौन बाध्यतातर्फ धकेलिनुका पछाडी केहि बाध्यताहरु छन् । तिनै बाध्यताहरुले मानव विकासको पछिल्लो चरणमा आफ्ना यौनिक अधिकारबारे आवाज उठाईरहेको छ । निजी सम्पत्तिको प्रादुर्भाव, बच्चा जन्मदर अधिक भएकोले हुर्काउने निजी दायित्व, कथित धार्मिक र सामाजिक अन्धता आदि कारणले मानिसले यौनसाथी छनौट र यौन स्वतन्त्रता गुमाएको हो । कृषि युगको शुरुवातले मानिस घुमन्तेबाट रैथाने र निजी सम्पतिको मालिक बन्न पुग्यो । त्यहि सम्पत्तिको लोभले चाहना भए वा नभए पनि बाँच्नको लागि श्रम गरेका जोडी स्थायी रुपमा संगै बस्न बाध्य भए ।

शिकारी वा ढुंगेयुगको कविला समाजमा मानिसले आफ्नो यौनसाथी चिम्पान्जिले जस्तै बदलिरहन्थे । यौनको लागि महिलाको स्वीकृति निर्णायक हुन्थ्यो । त्यस्तै समुहको सबैभन्दा बलवान पुरुषमात्र स्त्रीको रोजाइमा पर्दथे । त्यसैले त्यो बेला जन्मेका बच्चा अधिक स्वस्थ र बलिया हुन्थे । जन्मेका सबै बच्चाहरु आमाको माया र सामुहिक रेखदेखमा हुर्कन्थे ।

त्यो बेला यौनको लागि अनुबांशिक र प्राकृतिक अदृस्य नियम थियो । त्यहाँ दबाबमुलक वैधानिक नियमकानुन हुन्थेन । दुबैको इच्छाअनुशार यौनसाथी रोजेर सम्भोग कार्य सम्पन्न हुन्थ्यो भने अर्को पटक पुरानै यौन साथीसंग सम्भोग गर्न कोहि बाध्यकारी थिएन । आवस्ताश्य अनुशार यौनसाथीको छनौट र सम्भोग गर्न महिला र पुरुष स्वतन्त्र हुन्थे ।

यौन शोषण र दासताको शुरुवात कसरी र किन भयो ?

जब सामुहिक उत्तरदायित्व र सामुहिक जीवनपद्धतिबाट मानिस व्यक्तिगत सम्पत्ति र व्यक्तिवादी जीवन पद्धतितर्फ बाध्यतावश बदलिने परिस्थिति बन्यो, उनीहरुले राज्य वा त्यस्तै प्रकारको आफुनियन्त्रित क्षेत्र घोषणा गरे । त्यसपछि सामुहिक जीवन पद्धति छिन्नभिन्न भयो । त्यो बेलाको जोडी र त्यो जोडीको स्त्रीबाट जन्मेका बच्चा लिएर मानिसले आफ्नो बास बनायो । आमा बच्चाको स्याहार र बाबुको खेतीपातीको साथै तात्कालिक खानाको जोहोले जीवन पूर्ण रुपमा ब्यस्त बनायो । त्यहि निजि सम्पत्ति र तात्कालिक दायित्वले मानिसलाई आफ्नो प्राकृतिक अधिकार स्थगित गर्न बाध्य बनायो ।

ती सबै बाध्यताको कारण एक खालको परिस्थिति भएपनि मानिस एउटै यौन साथीबाट पूर्णत तृप्त हुन सक्दैन । तृप्त भएजस्तो देखिने उसको बाध्यता हो ।

समाज, सम्भोग र प्रेमबारे:
संसारमा सबैभन्दा धेरै आकर्षण यौनिकता तर्फा नै देखिन्छ । मानिसको मात्र के कुरा यौन सम्पर्कको लागि आसक्त नहुने जिबात्मा को पो होला र ? संसारभर अहिलेसम्म लेखिएका साहित्य र गीतमध्ये दुइ तिहार्इ भन्दा बढी यौनिकताउन्मुख छन् । लेख्नेहरुले पनि आआफ्नो मनोविज्ञानको प्रतिनिधित्व गरेर लेख्ने हुन् । ब्यक्तिवादी अधिपत्यलाई कायम राख्न बनाइएका कथित धर्म, संस्कृति, कानुन र अनगिन्ति सामाजिक बाध्यताहरुले लेखक, दार्शनिक र साहित्यकारको मनोविज्ञानलाई पनि दबाबमा पारेको हुन्छ । माथिबाट लादिएको दवाबका कारण मुस्लिम बाहुल्य तथा पूर्वीय समाजका अनगिन्ती मानबहरु यौनबारे खुलेर कुरा गर्न सक्दैनन् । खुल्ला रुपमा यौन चाहनाबारे आफ्नो छनौटको साथीसंग समेत इच्छा प्रकट गर्न सक्दैनन् । यौनसाथी फेर्नुपर्ने कारणबारे गरिने बहस त झन् टाढाको कुरा भयो । खुल्ला रुपमा यौन चाहना पुरागर्ने बहस किन हुन सक्दैन ः त्यो स्वतन्त्रता खान पाउने स्वतन्त्रता भन्दा कमजोर किन बनाइयो ? आखिर त्यो पनि प्राकृतिक आवश्यकता न हो । पश्चिमी समाज यौनको बहसमा खुल्ला हुँदै छ र अब यौन प्राकृतिक गुण अनुशार बग्न दिनुपर्छ भन्ने मान्यता पनि स्थापित हुँदैछ ।

तर धार्मिक रुढीग्रस्त समाजमा स्वतन्त्र रुपमा यौन छनौट गर्नबाट बन्चित गरिन्छ । यौन आवश्यकतालाई वैध र अवैधको बिल्ला भिराएर हिँसा गर्ने र ज्यान समेत लिने गरिन्छ । प्राकृतिक नियम अनुशार छनौट र चाहना स्वतन्त्र छ, शुद्ध यौन चाहनाले मात्र प्रेरित छ र प्रेमपूर्ण छ भने त्यो यौन वैध हो । त्यसकोलागि विवाह वा सामाजिक मर्यादा पुरा गर्न जरुरि छैन । यी यस्तै दमित चाहनाहरु बाँध फ़ुटेझैँ कलमको सहाराबाट बाहिर निस्कन्छन् जसलाई हामी साहित्य वा यौन साहित्य भन्दछौं । प्रेम या यौन साहित्यको मूल कारण पनि कथित ब्याक्तिवादी सामाजिक नैतिकताले हाम्रो प्राकृतिक र जैविक अधिकार थिचिनुबाट विष्फोट भएको मानिन्छ ।

प्राकृतिक रुपमा स्वतन्त्रतापुर्वक यौनसाथीको छनौट र हेराफेरी गर्ने हाम्रो प्राकृतिक अधिकार हुँदाहुँदै पनि ब्यक्तिवादी समाजमा यौन आकर्षणका आयामहरु सामाजिक प्रचलन र ब्यक्तिगत रुचिअनुसार फरक पर्न सक्छ। तर सबै किसिमका यौन आकर्षणका शैलीहरुको केन्द्रिय महत्व भनेको सम्भोग हो ।

सम्भोग सधैंभरि सबैलाई स्वर्गीय आनन्द दिने कार्य हो । जसमा स्त्री पुरुषको समान भूमिका, रुचि र त्याग हुनु जरुरी हुन्छ । त्यसैले सम्भोग अधिकार हो भने एकभोग अपराध । सम्भोगतर्फ जीव आकर्षित हुनुको मूल कारण त्यहि चरम तृप्ति हो । सन्तान उत्पादनको लागि प्रकृतिले जीवजगतलाई त्यसैगरि सृष्टि गरि दिएको छ । त्यसको लागि जीवको प्राकृतिक स्वाभाव, रुचि, शारीरिक भिन्नता, यौनसाथी छनौटको तरिका समेत प्रदान गरेको छ ।

‘Making love with a woman and sleeping with a woman are two separate passions, not merely different but opposite. Love does not make itself felt in the desire for copulation (a desire that extends to an infinite number of women) but in the desire for shared sleep (a desire limited to one woman).’
– Milan Kundera

सन्दर्भ स्रोत : The social control of sexuality by John Delamater ,A report The sexual Revolution by Tan W. Smith, Make a love not war by david plyn, Sexual liberation is not the same thing as sexual Equality by Danielle crittelle