नेपाल प्रहरी सङ्गठनभित्र उज्यालो र अँध्यारो पक्ष -वीरेन्द्रमणि पौडेल

मानव संसारमा चोरी, डकैती, हत्या, लुट, बलात्कार, भ्रष्टाचार र अनियमित कार्यहरू बिस्तारै-बिस्तारै बढ्दै गए । जतिजति मानव समाजमा अपराध कार्यहरू वृद्धि हुँदै गए त्यतित्यति यसबाट मुक्ति प्राप्त गर्न निरन्तर प्रयत्न हुँदै गयो र सभ्य मानव समाज स्थापनाका लागि र स्थापित मानवीय मूल्य र मान्यतालाई जोगाइराख्न सुरक्षा दस्ता खडा गरियो र त्यो दस्तालाई अङ्ग्रेजीमा पुलिस -उयष्अिभ) भनियो । संंसारका सबै देशमा पुलिस फोर्स गठन गरियो र सबै पुलिस फोर्सले एउटै काम गर्न थाले- शान्तिसुरक्षा कायम गर्ने, अपराध नियन्त्रण गर्ने र अपराधीलाई दण्डित गर्न सहयोगी भूमिका निर्वाह गर्ने ।
अरू देशमा जस्तै राष्ट्रनिर्माण प्रक्रियालगत्तै नेपालमा पनि युग सुहाउँदो पुलिस फोर्स गठन गरियो र अङ्ग्रेजी पुलिस शब्दलाई नेपालीमा ‘प्रहरी’ भनियो । स्थापनाताका अव्यवस्थित रहेको प्रहरी सङ्गठन विक्रमसम्वत् २०१२ सालमा प्रहरी ऐन जारी गरिएपछि व्यवस्थित हुँदै आयो । परम्परागत अवस्था र सामान्य हतियार प्रयोगद्वारा शान्तिसुरक्षामा खट्ने प्रहरीहरू आधुनिक युगसँगै अत्याधुनिक हतियारकासाथ आधुनिक र युग सुहाउँदो अपराध नियन्त्रणसम्बन्धी तालिमप्राप्त गर्न सक्षम बने । देश-देशबीचका प्रहरीहरूबीच अपराध नियन्त्रणसम्बन्धी अनुभव साटासाट र सहयोग आदान-प्रदान गर्न विश्व प्रहरी सङ्गठन निर्माण गरियो र ‘इन्टरपोल’ नामकरण गरियो । नेपालले इन्टरपोलको सदस्य बनेर आफू लाभान्वित भयो भने अन्य राष्ट्रका अपराधीलाई पक्रनसमेत मद्दत पुर्‍यायो ।
स्थापनाकालदेखि नेपाल प्रहरीको नेतृत्व तोरणशमशेर जबरा, नरशमशेर जबरा, ज्ञानबहादुर याक्थुम्बा, गोपालशमशेर जबरा, पूर्णसिंह खवास, ढुण्डीराज शर्मा, पहलसिंह लामा, रोमबहादुर थापा, खड्गजीत बराल, दर्ुलभकुमार थापा, दिलबहादुर लामा, हेमबहादुर सिंह, रत्नशमशेर जबरा, मोतीलाल बोहरा, ध्रुवबहादुर प्रधान, अच्युतकृष्ण खरेल, प्रदीपसमशेर जबरा, श्यामभक्त थापा, ओमविक्रम राणा र हेमबहादुर गुरुङले सम्हाले । हाल रमेशचन्द ठकुरीले सम्हालिरहेका छन् ।
यहाँसम्म आइपुग्दा नेपाल प्रहरी सङ्गठनको इतिहासलाई कोट्याउँदा थुप्रैखाले उज्याला र अँध्यारा पक्षहरू भेटिए, खराबी, कमजोरी र अन्यायका पाटाहरू पनि देखिए जुन पाटाहरूबारे चर्चा गर्दा नेपाल प्रहरी सङ्गठन र नेपाली जनता लाभान्वित हुने ठहर गरिएकोले यहाँ चर्चा गर्ने प्रयत्न गरियो ।
उज्याला पक्षहरू ः
क) नेपाल प्रहरीका इमानदार प्रहरी जवान र अफिसरहरूले बाढीपीडितको उद्धारकार्यमा सहयोग, रक्तदान कार्यमा सहभागिता र विभिन्नखाले दुर्घटनामा सक्रिय सहयोग गरी मानवअधिकार रक्षामा समर्पित भएका छन् ।
ख) अन्तर्राष्ट्रिय कुख्यात अपराधीहरूलाई मिहिनेतसाथ पक्राउ गर्न सफल भई अन्तर्राष्ट्रिय रूपमा ख्याति कमाएका छन् ।
ग) विदेशमा शान्ति मिसनमा सहभागी भई इमानदारी, अनुशासन र लगनशीलता प्रदर्शन गरी नेपालको शिर ठाडो पार्न मद्दत पुर्‍याएका छन् ।
घ) अरू मुलुकको तुलनामा साधन, स्रोत र सुविधाको कमी भए पनि मिहिनेत र पसिना खर्चेर नेपाल प्रहरीले आन्तरिक गुण्डागर्दी, चोरी, डकैती र अनियमितताविरुद्ध विगतमा आफ्नो उपस्थितिलाई मजबुत बनाएको थियो ।
ङ) नातावाद, कृपावादको प्रभावमा नपरी अच्युतकृष्ण खरेल नामका एक प्रहरी अधिकृतले उनी प्रहरी सेवामा बहाल रहँदा मुलुकभित्रको गुण्डागर्दी समाप्त पार्न ठूलै मिहिनेत गरेे । परिणाम सकारात्मक आएको महसुस गरियो । अच्युत खरेलको सकारात्मक असर नेपालमा निकै लामो समयसम्म रह्यो जसले सबै प्रहरी कर्मचारीको लामै समयसम्म इज्जत धान्यो ।
च) रमेश खरेल नामका प्रहरी अधिकृतले काठमाडौंमा शान्तिसुरक्षा, अमनचयनका लागि र घुस-भ्रष्टाचारविरुद्ध चालेका अभियानले त्यहाँका जनताले राहत महसुस गरेका छन्, खुसी भएका छन् र उनको कामबाट समाजको ठूलो हिस्सा दङ्ग परेको छ ।
छ) राजुबाबु श्रेष्ठ नामका एक बहालवाला प्रहरी नायव उपरीक्षक -डीएसपी) ले गोरखामा आफ्नो पचास लाख रूपैयाँबराबरको पुख्र्यौली अचल सम्पत्ति एउटा विद्यालयलाई दान दिएर प्रहरीहरू मनकारी र दानी पनि हुन्छन् भनी जनतालाई सोच्न बाध्य तुल्याएका छन् ।
ज) प्रहरी महानिरीक्षक रमेशचन्द ठकुरीले आफ्ना मातहतका कर्मचारीलाई भेदभाव नगर्ने अधिकृतको रूपमा ख्याति कमाएका छन् भने अतिरिक्त प्रहरी महानिरीक्षक रवीन्द्रप्रताप शाह र नरेश गुरुङ भ्रष्टाचारविरोधीको रूपमा स्थापित भएका छन् । अर्का अतिरिक्त प्रहरी महानिरीक्षक किरणकुमार गौतम निर्णयक्षमतामा सशक्त कहलिएका छन् । मध्यक्षेत्रीय प्रहरी प्रमुख नवराज ढकालले जनताको सम्मान नगरी प्रहरीको सम्मान हुन सक्दैन भन्ने सङ्केत दिँदै हालै अशक्त वृद्धवृद्धाहरूलाई लत्ताकपडा वितरण गरे । प्रहरी तालिमकेन्द्र भरतपुरका बलराम शर्मा पौडेलले प्रहरी भर्नामा घुस लिएका एक प्रहरी कर्मचारीलाई कारबाही गरेर अनुशासनको अपरिहार्यता पुष्टि गरे । प्रहरी सङ्गठनमा यस्ता प्रहरी कर्मचारीका कारण जनताले प्रहरीमाथि भरोसा गर्न सक्ने स्थिति बन्दै जानेछ र विश्लेषकहरूले यस्ता कार्यहरूलाई सकारात्मक रूपले विश्लेषण गर्ने छन् ।
अँध्यारो पक्ष ः
क) अछाम जिल्ला प्रहरी कार्यालयमा २०६६ सालको दसैंमा महिला प्रहरी सुन्तली धामीको आफ्नै सहकर्मी पुरुष प्रहरीद्वारा शरीर गिजोलियो भन्ने समाचार सत्य वा झुटो के थियो त्यो नेपाली जनतालाई नेपाल प्रहरीले जानकारी दिएन ।
ख) २०६७ सालको दसैंताका महाराजगञ्ज प्रहरी थानामा कार्यरत दुईजना प्रहरी जवानले नागरिकको घरमा प्रवेेश गरी रकम लुटेको खबर प्राप्त भयो । ती प्रहरी कर्मचारीलाई कारबाही भयो-भएन, कस्तो कारबाही भयो नेपाली जनताले थाहा पाएनन् ।
ग) पश्चिम नेपालमा केही समयअघि प्रहरी अधिकृतहरूविरुद्ध तल्ला दर्जाका प्रहरीले विद्रोह गरे । त्यसप्रकारको गलत कदम उनीहरूले किन उठाए – विद्रोह गर्नुपछाडि के-के कारण थिए – निष्पक्ष छानबिन आयोग बन्यो कि बनेन – आउने दिनहरूमा त्यसप्रकारका घटना नदोहोरिऊन् भन्नाका खातिर के-कस्ता कदम चालियो – लोकतान्त्रिक व्यवस्थामा जनताले जानकारी पाउनुपथ्र्यो, त्यो अवस्था खासै आएन ।
अत्याचारको पाटो ः
क) रोलक्रम र नियमसङ्गत प्रहरी महानिरीक्षक पदमा पुगेका रत्नशमशेर राणालाई नियम संशोधन गरेर जबर्जस्ती अपमानपूर्वक हटाएर अत्याचार गरियो । शायद यो खालको अपमान र अत्याचार सहन नसकेर उनको अल्पायुमै ज्यान गयो । यो कोणबाट तत्कालीन गृहमन्त्रीले महानिरीक्षक रत्नशमशेरमाथि अत्याचार गरेकै थिए भन्ने पुष्टि हुन्छ ।
ख) सबै डीआईजीहरूको दुईवर्षो म्याद थप्ने र एउटा राजेन्द्रबहादुर सिंहको मात्रै म्याद थप नगरेर अपमानसहितको अत्याचार कुनै बेलाका गृहमन्त्रीले गरेका थिए ।
ग) बहालवाला अतिरिक्त प्रहरी महानिरीक्षक कल्याण तिमिल्सिना विदेशी नागरिकको करिब तीन लाख डलर लुट काण्डमा मुछिएका छन् । उनलाई कारबाहीका लागि मन्त्रिपरिषद्मा फाइल पुगे पनि कुनै पनि कारबाही भएको छैन । एआईजी कल्याण तिमिल्सिना दोषी हुन् वा निर्दोष नेपाल प्रहरीले नेपाली जनतालाई अहिलेसम्म जानकारी दिएको छैन तर नियमसङ्गत एक सय रूपैयाँमात्रै चालकलाई जरिवाना तिराउने चितवन ट्राफिक प्रहरीका असइ हरि क्षेत्रीलगायत चारजनालाई बिनाकसुर प्रधानमन्त्री निवास बालुवाटारको सचिवको गैरकानुनी जोडदार आदेशबाट तुरुन्तै निलम्बन गरियो । ठूलालाई कारबाही नगरिएको सानालाई कच्याककुचुक पारिएको यो स्थिति अत्याचारको पराकाष्ठा हो ।
छ) ट्राफिक प्रहरीका असइ कृष्णबहादुर ज्युठकुरीकी श्रीमती बिरामी भएर दुवै मिर्गौला फेर्नुपरर््र्नेर्र् अवस्थामा पुगिन् । करिब साठी हजारको सङ्ख्यामा रहेका प्रहरीले एक-एक रूपैयाँ मात्रै सहयोग गरेका भए साठी हजार सहयोग मिल्थ्यो । तर, कसैले पनि सहयोग गरेनन् । घरजग्ग्ाा बेचेर ठकुरीले श्रीमतीको उपचार गरे । सक्ने सहयोग नगर्नु पनि एकप्रकारको अत्याचार हो ।
निष्कर्ष ः
प्रहरी नेपाली जनताको साझा सम्पत्ति हो । नेपाली जनताको साझा सम्पत्तिको रूपमा रहेको प्रहरी सङ्गठनलाई ठीक ढङ्गले परिचालन गर्नु सरकारको कर्तव्य हो भने जनताको सहयोगबिना प्रहरी एकै मिनेट पनि टिक्न सक्दैन, प्रहरी सेवक हो शासक होइन भन्नेे सत्य प्रहरी कर्मचारीले बुझ्न जरुरी छ । ठीक काम गर्ने प्रहरीलाई पुरस्कृत गरिनुपर्छ भने दण्डित गर्न लायकहरूलाई दण्ड दिनैपर्छ । भूतपूर्व प्रहरी महानिरीक्षक अच्युतकृष्ण खरेल, प्रहरी नायव महानिरीक्षक ज्ञानेन्द्रविक्रम महत, एसएसपी वसन्तराज कुँवरलगायत थुप्रै अनुभवी प्रहरीको ज्ञान-सीप जनताको हितमा प्रयोग गर्न सकियोस् भन्नेतर्फ बहालवाला प्रहरी महानिरीक्षक सचेत रहन जरुरी छ । तल्ला दर्जाका प्रहरीलाई पनि मौका र अवसर प्रदान गरिनुपर्छ । प्रहरीलाई कठपुतली बनाएर आफ्नो निजी इच्छामा नचाउने गृहमन्त्रीको पञ्जाबाट मुक्त गरी पूर्णरूपले प्रहरीलाई ऐनद्वारा निर्देशित हुने अवस्था सिर्जना गरिनुपर्छ । तीतो सत्य यही हो- नेपाली जनताको मनमा आज पनि अधिकांश प्रहरी आर्थिक भ्रष्टाचारी हुन् भन्ने छ । प्रहरीले छवि सुधार्नैपर्छ । आखिर घुम्दै-फिर्दै प्रहरी भ्रष्ट हुनुमा आर्थिक विपन्नता नै प्रमुख कारण मान्न सकिन्छ । यदि प्रहरीलाई यतिबेलाको तलब, रासन आफ्नो र परिवारको लालनपालन र शिक्षामा अपुग भएको छ भने खुलस्त पार्न जरुरी छ कति तलब वृद्धि गर्नुपर्ने हो – स्थितिलाई मध्यनजर राखी प्रहरीलाई सरकारले नपुग भएको तलब वृद्धि गर्नुपर्छ । यो उपायद्वारा प्रहरीमात्रै आर्थिक भ्रष्टाचारबाट टाढा रहन सक्यो भने बिस्तारै समाजका अन्य नामका भ्रष्टाचारीहरू पनि ठेगानमा आउने छन् । ठीक कामको सुरुआत जसले गरे पनि हुन्छ । यसका लागि पहिलो प्रयास प्रहरीद्वारा नै गर्दा अति उत्तम हुने देखिन्छ । उपाय कस्तो लाग्यो प्रहरी महानिरीक्षक रमेशचन्द ठकुरीज्यू –

प्रतिक्रिया