आत्मघाती विष्फोटबाट नाइजेरियामा पचासको मृत्यु

आत्मघाती विष्फोटबाट नाइजेरियामा पचासको मृत्यु


उत्तरपूर्वी नाइजेरियाली शहर मुवीमा रहेको एक मस्जीदमा हिजो मङ्गलबार भएको आत्मघाती आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या ५० पुगेको छ । नाइजेरियन प्रहरीलाई उद्धृत गरी एजेन्सीहरुले जनाएअनुसार मंगलबार बिहानै एक पहिचान खुल्न नसकेको किशोरले उत्तरी राज्य आदामावामा विस्फोट गराएको थियो ।

बताइएअनुसार मङ्गलबार साँझसम्ममा आत्मघाती आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या ५० पुगेको छ भने घटनामा घाइतेहरूको सङ्ख्याको पनि एकीन विवरण लिने प्रयास भइरहेको छ ।

बिहानको प्रार्थनाको समयमा मानिसहरु मस्जिदमा भेला भएका बेला आक्रमणकारीले बम पड्काएका थिए । एक प्रत्यक्षदर्शीले आक्रमणकारी पनि प्रार्थना गर्नेहरुकै समूहमा रहेको बताएका छन् । आक्रमणको जिम्मा भने अहिलेसम्म कसैले लिएको छैन ।

नाइजेरियामा बोको हरामले आठ वर्षयता चलाएको सशस्त्र द्वन्द्वमा २० हजार जति मानिसको ज्यान गइसकेको छ भने करिब २३ लाख मानिस विस्थापित बनेका छन् । भीडभाड बढी हुने क्षेत्रलाई इस्लामवादी लडाकू समूह बोको हरामले लक्षित गर्दै आएको छ ।

बोको हरामको कब्जामा रहेका केही क्षेत्र सेनाले पुनः नियन्त्रणमा लिएपछि उक्त समूहले आत्मघाती हमला बढाएको हुनसक्ने अनुमान स्थानीय सञ्चारमाध्यमले बताएका छन् ।