निरूपा र प्रेमको ह्याङओभर -दीपकमणी ‘दाजुभाइ’

निरूपा र प्रेमको ह्याङओभर -दीपकमणी ‘दाजुभाइ’


रमाइलो नै भयो भन्नुपर्छ ।
नभेट्दै हाम्रो फोनमा कुरा हुन थाल्यो । फोनमा कुरा हुने क्रममा उनीप्रति हाम्रो धारणा सामान्य थियो- एउटी उमेरदार भावुक लेखिकाभन्दा बढ्दा हामीले उनलाई केही पनि ठानेका थिएनौँ । टेलिफोनमा सुनिने सुमधुर आवाज र त्यस आवाजमा मिसिएर आउने प्रेमप्रतिका उदास स्वरहरू कम आकर्षक लाग्दैनथे र पनि उनी हामीलाई भावुक केटीभन्दा ज्यादा केही लागेन ।
सपना नै सपना बोकेर हिँडेकी एउटी तीस नपुगेकी युवती र त्यही सपनाका भारीहरूले लतारेर धेरै अघि बढ्न नसकेकी केटीका रूपमा हामीले उसलाई लियौँ- जतिखेरसम्म उनीसँग हाम्रो भेट भएन । उनी लेखिका हुन् । कविताहरू लेख्छिन् । तर, उनका कविताहरू हामीले पढेका छैनौँ । बरु कहिलेकाहीँ हामीले एसएमएस पठाउँदा उतैबाट कविताका केही लाइनजस्ता एसएमएस आउँथे । उनको उपन्यास पनि बजारमा आएको छ । उपन्यास एउटी उदास र भावुक केटीले भोगेको या भोग्न नचाहेको प्रेमको पेरिफेरीमा सीमित छ । ठाउँ ठाउँमा उपन्यास लेखिकाको डायरीजस्तो पनि लाग्छ ।
उपन्यास मसिनो छ । उनी आफैं पनि मसिनो छिन् । कहाँ-कहाँ कुन-कुन कुरासँग उनी सन्तुष्ट हुन सकिरहेकी छैनन् र यो कुरा उनको शरीरमा पनि देखिन्छ । उनी आफैंसँगचाहिँ असन्तुष्ट छैनन् तर जीवनसँग भने हामीलाई लाग्छ उनलाई ज्यादै बिमति छ ।
सर्न्दर्भ हो, निरूपा प्रसुनको । उनको एउटा उपन्यास हामीले पढेका छौँ र केही साँझ उनीसँग फोनमा कुरा गरेका छौँ । हाम्रो परिचयको सीमा यत्ति हो । उपन्यास अभिषेक सामान्य उपन्यासभन्दा यसकारण पनि पृथक छ कि यसमा स्वाभाविकता ज्यादा छ । एउटी उमेरदार केटीका जबर्जस्त सपना र त्यस सपनाले ल्याइदिएको उमेरदार भावुकताले उपन्यासलाई पठनीय बनाएको छ । अझ लेखिकाले ठाउँ ठाउँमा यथार्थ र तथ्यपरक कुराहरू गरिदिँदा उपन्यास डायरीजस्तो बन्न पुगेको छ ।
‘गणितमा जोड-घटाउ गरेर हिसाब मिलेझैं गरेर ठ्याक्कै मिल्दैन । जिन्दगीका हिसाबहरू कति यस्ता पनि हुन्छन् । जहाँ घाटैघाटाको हिसाब नाफाको फाइलमा चढ्न पुग्छ भने कहिले नाफाको हिसाब घाटामा परिणत हुन पुग्छ । त्यो हिसाब केरकार गरेर डटपेनले मिलाएझैं जिन्दगीका हिसाबहरू मिलाउने डटपेन सायद हामीसँग हुँदो हो त किन हाम्रो जिन्दगीमा दुःख, चिन्ता अनि असन्तोषहरूले राज्य गर्न पाउँथे र -‘ उपन्यासकी नायिका नै भनुँ शिष्या, उसैको संवाद हो यो, ‘आफ्नो खुसी मात्रै होइन । अरूको दुःखलाई पनि महसुस गर्न सक्नुपर्छ । आफ्नो बेचैनचाहिँ पहाड ठान्ने अनि अरूको चाहिँ तिल ठान्नु हुँदैन । तिमीलाई चिन्ताको विषय नभएका कति यस्ता कुराहरू अरूलाई चिन्ता बन्न सक्छ । तिम्ा्रो चिन्ताको विषय अरूलाई केही होइन जस्तो पनि लाग्न सक्छ । हरेक कुराहरूले मान्छेअनुरूप प्रभाव पार्छ । आफूलाई राम्रो लाग्ने मात्र गर्ने अरूलाई मतलब नगर्ने । आफ्नोजस्तो मन अरूको पनि त हुन्छ नि ।’
यो संवाद सत्य नै हो । तर, भावुकतावश बोलिदिएजस्तो । किन मानिसहरू सिकाउन उद्यत् छन् – किन हरेकले हरेकलाई आफूजस्तो बनाउन खोज्छन् – प्रेममा आउने विचलन या अप्ठेरो पनि त्यही सहयात्रीलाई आफूझैं बनाउन गरिएको असफल प्रयासकै कारण त हो ।
प्ा्रेमका बारेमा सधैं मानिसहरूमा एउटा उत्सुकता रह्यो । अझ प्रेमप्रतिका मानिसका विविध स्वभाव र रहरले गर्दा प्रेम प्रेमभन्दा बढ्ता रहस्यजस्तो नै बन्न पुग्यो । किशोर पार गरेर अघि बढ्ने क्रममा शरीरमा थपिएको मांसलसँगै युवायुवतीमा बढ्ने रहर र उत्सुकतासँगै प्रेम पनि उत्सुक र चासोको विषय बन्ने गरेको छ । प्रेमका विविध सर्न्दर्भमा मानिस जटिलभन्दा जटिल बन्दै जान थालेको छ । उपन्यास अभिषेकको सार यही हो ।
प्रेम त्यस्तो गम्भीर र जटिल विषय हुँदै होइन । प्रेम सरल र सहज भयो भने पूरै जीवन सरल हुन्छ । तर, प्रेमलाई ग्रहण गर्दा नै रहस्यको रूपमा ग्रहण गरियो भने त्यो रहस्यभन्दा बढी जटिल र जीवनका लागि दुःखदायी सावित हुन्छ । प्रेमप्रति युवापुस्तामा बढ्दै ग्ाएको आकर्षण र त्यही आकर्षणका कारण अन्तरमुखी हुँदै ग्ाएको प्रेम कति ठाउँमा अभिशाप सावित भएको छ ।
प्रेम जीवनप्रति सकारात्मक र सहज हुने उपाय हो । तर, यौवनकालमा गरिने प्रेम अझ जटिल हुँदै गएको छ । त्यसो त प्रेममा मन ठूलो कि शरीर भन्ने विवाद सधैं कायम छ । शरीरबिना मनमा मात्र सीमित रहने प्रेम प्रेम हो कि पूजा हो- ठम्याउन मुस्किल छ । पुरुष-महिलाबीच यही विषयमा विषमता खडा हुँदै गएको छ । उपन्यासले यो कुरालाई प्रस्ट पारेको छ । अझ कति ठाउँमा त लेखिकाले जीवनलाई चाहिनेभन्दा बढ्ता गम्भीर बनाउने चेष्टा पनि गरेकी छिन् ।
निरूपा मुस्किलले २५-२६ की भइहोली । हामीले उनको उमेर सोधेका छैनौँ । तर, हामीलाई पक्का विश्वास छ उसले तीस नाघेकी छैन । तीस ननाघेकी एउटी लेखिकाले लेखेको यो पे्रमकहानी सुन्दर छ । एउटा सुन्दर कल्पना छ । अझ भावुक संवादहरूले युवामाझ प्रिय बन्न पनि सक्छ । तर, निरूपाको जुन उमेर हो त्यो उमेरको परार्वतन उनको उपन्यासमा पनि भएको छ । पात्रहरूको हत्या सहज र छिटो रूपमा गरिएको छ । उपन्यासलाई छिटो टुङ्ग्याउन होला पात्रहरूलाई लेखिकाले आफूअनुकूल चलाएकी छिन् । पात्रको स्वभाव र पात्रको आदर्शअनुरूप पात्रहरूलाई लिएर अघि बढ्न लेखिका डराएकी छिन् । लेखिकाको यो डरलाई उपन्यास पढ्ने क्रममा पटकपटक अनुभव गर्न सकिन्छ ।
उपन्यासमा सुन्दर र राम्रा विम्बहरूको प्रयोग गरिएको छ । कवितामा जस्तो । एक ठाउँमा निरूपाले लेखेकी छ, ‘माला उन्दा सकिसकेपछिको सियोझैं चटक्कै अघिको दृश्य बिर्सिएर निदाउन थाल्छु ।’ बालप्रेम उपन्यासको मूल मर्म हो । बालबालिकाबीचको प्रेम या बालककालको प्रेमले युवावस्थामा हुने ह्याङओभर नै उपन्यासको सार हो । यहाँ प्रेम होइन प्रेमका प्रभावहरू छन् । उपन्यासमा प्रेम कम र प्रेमका प्रभाव या ह्याङओभर नै ज्यादा छ ।
भाषा प्रिय छ । दृश्यहरू प्रट छन् । निरूपाले उपन्यासमा लेखेकी छ, ‘साथीहरू जिउँदै माछालाई ढुङ्गामा लगेर सुकाउँथे । मलाई माछाको माया लाग्थ्यो । माछा समाउन रहर लाग्थ्यो । समाएको माछा फेरि पानीमै छाडिदिन्थेँ ।’ अर्को ठाउँमा लेखेकी छ, ‘मान्छेलाई त जति गरे पनि पुग्दैन । ज्याद्रो छ मान्छे । आफ्नो जिन्दगीमा पर्राईको होइन, आफ्नो मनको राज चल्नुपर्छ ।’
यस्ता धेरै उदाहरण छन् जसले उपन्यासलाई सबल बनाएको छ । यति हुँदाहुँदै पनि यो अब्बल उपन्यास भने होइन । अझ यस उपन्यासलाई सशक्त बनाउन सकिने ठाउँहरू थिए । कति संवाद हतारमा लेखिएको छ । स्वाभाविक बनाउने नाममा राखिएका कति संवादहरू उपन्यासमा आवश्यक देखिँदैन । अझ लेखिकाले कति ठाउँमा आफूलाई विभिन्न फिल्म र उपन्यासको प्रभावबाट मुक्त राख्न सकेकी छैनन् ।
तर अभिषेक प्रिय उपन्यास भने जरुर हो । यो उपन्यास पछिल्लो समय लेखिएका उपन्यासहरूमा यसकारण पनि पृथक् छ कि यस उपन्यासमा जीवन छ । मानिसका कथा छन् । मानिसका सपना र भावुकताका कथा छन् । रहर र आकाङ्क्षाका कथा छन् ।
हामी उपन्यासको सफलताको कामना गर्र्छौं ।