नौ वर्ष कोमामा रहेका भारतीय पूर्वमन्त्रीको निधन

नौ वर्ष कोमामा रहेका भारतीय पूर्वमन्त्रीको निधन


विगत नौ वर्षदेखि कोमामा रहेका भारतका पुर्व सूचनामन्त्री प्रियरन्जन दास मुन्सीको निधन भएको छ । सन् २००८ देखि कोमामा रहेका दासमुन्सीको ७२ बर्षको उमेरमा नयाँदिल्लीस्थित उपचार भइरहेको अस्पतालमै निधन भएको बताइएको छ ।

“उहाँको स्थानीय समय अनुसार दिउँसो १२ः१० मा निधन भएको छ, विगत एक महिनादेखि उहाँको गंभीर अवस्थामा उपचार भईरहेको थियो, दुर्भाग्यबस आज उहाँको उपचार सफल हुन सकेन,” एपोलो अस्पतालले जारी गरेको वक्तव्यमा भनिएको छ ।

भारतको पश्चिम बंगाल राज्यमा प्रमुख प्रतिपक्षी दल भारतीय कांग्रेस पार्टीको सबैभन्दा उच्च नेताका रुपमा उनी परिचित थिए । कांग्रेस नेतृत्वको एकिकृत प्रगतिशिल गठबन्धनको सरकारमा मन्त्री भएकै बेला अकस्मात बेहोस भई ढलेपछि उनलाई पक्षघात भएको थियो । त्यसपछि उनी होसमा नआई दिवंगत भएका हुन् ।

भारतका राष्ट्रपति रामनाथ कोबिन्द, प्रधानमन्त्री नरेन्द्र मोदी र कांग्रेसकी प्रमुख सोनीया गान्धीले उनको निधनमा समवेदना व्यक्त गरेका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गर्दै भनेका छन्, “प्रिय रन्जन दास्मुन्सी लोकप्रिय र अनुभवी राजनीतिक नेता हुुनुहुन्थ्यो, फुटबललाई लोकप्रिय बनाउन उहाँले उल्लेख्य काम गर्नुभएको थियो ।”