‘नेपाल मोह’ बढ्दै विदेशी पर्यटकमा !

‘नेपाल मोह’ बढ्दै विदेशी पर्यटकमा !


विदेशी पर्यटकमा ‘नेपाल मोह’ बढ्दै गएको छ । पछिल्लो समय नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको संख्या हवात्तै बढेसँगै नेपालप्रति विदेशी पर्यटकको मोह बढेको पाइएको हो । सन् २०१७ मा मात्रै २३ प्रतिशतले बढेको छ ।

सन् २०१७ को १० महिना (जनवरी/अक्टोबर) मा गत वर्षको यसै अवधिको तुलनामा पर्यटकको संख्यामा यो वृद्धि भएको छ । अध्यागमन विभागले सन् २०१७ को १० महिनामा नेपाल भ्रमणमा आउने पर्यटकको संख्या सात लाख ५७ हजार चार सय ४८ पुगेको छ ।

यो वर्षको अक्टोबरसम्म नेपाल आउने पर्यटकको संख्या सन् २०१६ मा आएका कुल पर्यटक संख्याभन्दा पनि बढी हो । सन् २०१७ को मार्च र सेप्टेम्बर दुवै महिनामा एक/एक लाखभन्दा बढी पर्यटक नेपाल आएका छन् । मार्चमा एक लाख ६ हजार दुई सय ९१ र सेप्टेम्बरमा एक लाख १२ हजार चार सय ९२ विदेशी पर्यटक नेपाल आएका छन् ।

सन् २०१६ मा सात लाख ५३ हजार विदेशीले नेपाल भ्रमण गरेको थिए । तर सन् २०१७ को १० महिनामै सात लाख ५७ हजार विदेशीले नेपाल भ्रमण गरिसकेका छन् । सन् २०१६ को अक्टोबरसम्म नेपाल आउने विदेशी पर्यटकको संख्या भने पाँच लाख ८४ हजार एक सय चार मात्रै थियो । यो संख्या सन् २०१७ को यसै अवधिको संख्याभन्दा एक लाख ७३ हजार तीन सय ४४ ले कमी हो ।

सन् २०१४ मा पर्यटक आगमनको संख्या झन्डै आठ लाख थियो । तर सन् २०१५ मा भने पर्यटक आगमनको संख्या घटेर पाँच लाख ४० हजारमा झरेको थियो । भूकम्प र भारतीय नाकाबन्दीका कारण सन् २०१५ पर्यटन आगमन ह्वात्तै घटेको थियो । पर्यटन आगमन बढाउने भन्दै सरकारले विश्वका विभिन्न देशमा पर्यटन प्रवद्र्धनात्मक कार्यक्रम थालेको थियो ।

सरकारले सन् २०१६ लागि घुमफिर वर्षका रूपमा मनाउँदै आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षित गरेको थियो । यसैगरी सरकारले सन् २०१६ मा आठ लाख पर्यटक भित्राउने लक्ष्य लिएको थियो । तर सरकारी लक्ष्यमा पुग्न नसके पनि सन् २०१६ मा साढे सात लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भ्रमणका आएका थिए ।