मुलुकमा भित्रिने रेमिट्यान्स बृद्धिदर खुम्चिदै

मुलुकमा भित्रिने रेमिट्यान्स बृद्धिदर खुम्चिदै


मुलुकमा विदेशी मुद्रा भित्र्याउने प्रमुख माध्यमको रुपमा रहेको रेमिट्यान्स बृद्धिदर थप खुम्चएको छ । राष्ट्र बैंकका अनुसार असोजसम्ममा गत बर्षको सोही अवधिको तुलनामा २.६ प्रतिशतले बृद्धि भइ रेमिट्यान्स एक खर्ब ७६ अर्ब २३ करोड रुपैयाँ पुगेको हो । गत बर्षको असोजमा रेमिट्यान आप्रवाह ३.२ प्रतिशतले बढेको थियो ।

चालु आर्थिक वर्षको पहिलो दुई महिना लगातार घाटामा रहेको शोधानान्तर (मुलुक भित्रिने र बाहिरिने विदेशी मुद्राको अन्तर) अवस्था असोजमा बचतमा फर्केको छ । आर्थिक बर्षको पहिलो तीन महिनामा चार अर्ब २७ करोड रुपैयाँले सोधनान्तर बचत भएको हो । गत वर्षको असोजमा शोधानान्तर अवस्था १९ अर्ब ७० करोडले बचतमा रहेको थियो । सोधनान्तर बचत भए पनि असोजमा चालु खाता घाटा २१ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको रिपोर्ट अनुसार चालु आर्थिक वर्षको तीन महिनाको गत बर्षको तुलनामा मूल्यबृद्धि दर खुम्चिएको छ ।

गत बर्षको असोजमा ६.७ प्रतिशत रहेको उपभोक्ता मुद्रास्फीति दर यसपाली ३.१ प्रतिशतमा सिमित भएको केन्द्रिय बैंकले जनाएको हो ।

उपभोक्ताले तरकारीको चर्को मूल्य बृद्धि खेपिरहनु परेका बेला खाद्यान्न मुद्रास्फीति भने ०.५ प्रतिशत मात्र रहेको राष्ट्र बैंकले जनाएको छ। गत बर्ष खाद्यान्नको मूल्यबृद्धिदर ५.७ प्रतिशत थियो ।
तीन महिनामा २० अर्ब ४३ करोड रुपैयाँको वस्तु निर्यात हुँदा आयात दुई खर्ब ५७ अर्ब रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ। निर्यात ७.९ र आयात १६.९ प्रतिशतले बढेको छ ।

गत असार मसान्तमा १० खर्ब ७९ अर्ब ५२ करोड रुपैयाँ विदेशी विनिमय सञ्चिति रहेकोमा असोजमा बढेर १० खर्ब ९९ अर्ब ८२ करोड पुगेको छ ।