हवाई मैदानमा मुक्त कमैयाका पक्की घर बन्दै

हवाई मैदानमा मुक्त कमैयाका पक्की घर बन्दै


धनगढीस्थित पुरानो हवाई मैदानको खाली जग्गा ओगटेर बसेका मुक्तकमैयाले जग्गाधनी प्रमाणपत्र नपाउँदै त्यहाँ पक्की घर निर्माण गर्न थालेका छन् । नगर विकास समितिले आफूहरुलाई पाँच-पाँच धुर जग्गा दिने भनेकाले ओगटेको जग्गामा पक्की घर निर्माण गर्न थालेको मुक्त कमैयाले बताएका छन् । समितिले आफू बसेको जग्गाको कित्ताकाट गरिसकेकाले पक्की घर निर्माण गरिएको पूर्व कमैया होरीलाल चौधरीले बताए ।

‘चुनाइ गर्ने सीप सिकेर दक्ष भएका दश जनाको समूहले पालैपालो मुक्तकमैया परिवारको घर चुनाइ गर्ने गरेका छन्, अर्का पूर्व कमैया सीताराम चौधरीले भने- ‘सिमेन्टको गाह्रो र इट्टाको चुनाइ आफै गर्नुपर्दा निर्माण लागत केही कम परेको छ ।’

धनगढीको पुरानो हवाई मैदानमा बसेका ५३ मुक्तकमैया परिवार मध्ये १५ परिवारले पक्की घर निर्माण गरिरहेका छन् । अरु परिवारले पनि पक्की घर निर्माणको तयारी थालेका छन् । धनगढी नगर विकास समितिले हवाई मैदानमा बसेकालाई सोही ठाउँमा जग्गा दिने निर्णय गरेको भए पनि मुक्तकमैयाले अहिलेसम्म जग्गाधनीको प्रमाणपत्र भने पाएका छैनन् ।

जिल्ला भूमिसुधार अधिकारी एवं मुक्तकमैया पुनःस्थापन जिल्ला समितिका सदस्य सचिव लोकराज जोशीले कैलाली जिल्लामा कूल आठ हजार ९१० मुक्तकमैया परिवार रहेकोमा आठ हजार २०३ परिवारको पुनःस्थापना गरिसकिएको छ । राससका अनुसार नौ सय ७४ परिवारको अझैसम्म पुनःस्थापना हुन बाँकीे छ । मुक्तिपछिका दिनमा पूर्व कमैया घर चुनाइ गर्ने, सिलाइकटाइ गर्ने, बंगुर तथा कुखुरापालन गर्ने, काठको काम गर्ने, रिक्सा चलाउने काम गरी जीविका चलाउँदै आएका छन् ।