प्रचण्डलाई विदा गरेपछि ओलीले भने- ‘कम्युनिष्टको सरकार बन्छ-बन्छ’

प्रचण्डलाई विदा गरेपछि ओलीले भने- ‘कम्युनिष्टको सरकार बन्छ-बन्छ’


रेजिना गौतम (झापा) । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकीकरण अब कसैले रोक्न नसक्ने बताएका छन् । आइतबार विहान पुत्रशोकमा परेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई काठमाडौंतर्फ विदा गरेका ओलीले दिउँसो काँकरभिट्टामा आयोजित बाम गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै त्यस्तो बताएका हुन् ।

एमाले र माओवादी केन्द्र गठबन्धन गरि आसन्न प्रतिनिधि र प्रदेश सभा चुनावमा तालमेलमा उत्रिएको छ । चुनावी तालमेलको बाम गठबन्धनलाई एकीकरण गर्न अब कसैले रोक्न नसक्ने ओलीले दाबी गरेका हुन् । जनताको जीवनस्तर उठाउन कम्युनिष्ट सरकारले मात्र पुरा गर्ने बताउदै पुर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले जनताको अब दुःखका दिनहरु अन्त्य भएको अभिव्यक्ति दिए ।

चुनावपछि बामपन्थीको सरकार बन्नेमा ढुक्क रहेका ओलीले भने– ‘चुनावपछि बामपन्थीको सरकार बन्छ–बन्छ, कम्युनिष्टको सरकार बन्ने भएपछि कांग्रेस आत्तिएको छ ।’ फाउको जिन्दगी जिउँदै गरेको बताउँदै ओलीले भने– कतिखेर मरिने हो ठेगान छैन । फाउको जिन्दगी हो भ्रष्टाचार गर्नु छैन ।’

झापालाई विकासको स्वरुप नै बदल्ने ओलीले योजना सुनाउँदै भने– कृषिलाई आधुनिकरण, हात्तीको सुरक्षा, हरेक क्षेत्रमा सिञ्चाई, ५ खर्ब बजेटमा काँकरभिट्टादेखि कोशीसम्म ६ ल्याण्डको सडक, पुर्वपश्चिम विद्युतिय रेलमार्ग, चन्द्रगढी विमान स्थलको विस्तार तथा रात्रीकालीन हवाइजहाजको सेवा सञ्चालन गरिने छ ।


(आइतबार विहान झापाबाट प्रचण्डलाई राजधानीतर्फ विदा गर्दै केपी ओली)