युद्धलाई जितेका प्रकाश मुत्युसँग हारे !

युद्धलाई जितेका प्रकाश मुत्युसँग हारे !


प्रकाश दाहाल माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका एकमात्र छोरा थिए । ०३८ फागुन १८ गते चितवनको शिवनगरमा जन्मेका प्रकाश ०५६ सालदेखि माओवादी पार्टीमा भूमिगत भए । त्यतिबेला उनी मात्र १५ वर्षका थिए ।

बुबा नेतृत्वको माओवादीले सशस्त्र जनयुद्ध शुरु गरिसकेपछि प्रकाशले सामान्य नागरिकजस्तै गरी हिँड्न सकिने अवस्था थिएन । त्यसैले पनि उनी पार्टीमा होलटाइमर भए । भूमिगत अवस्थामै हुँदा उनले १२ कक्षासम्मको औपचारिक अध्ययन पूरा गरे ।

पार्टीमा भूमिगत हुँदा उनको जिम्मेवारी बुबा तथा पार्टीका सुप्रिम कमाण्डर प्रचण्डको सहयोगीको रुपमा काम गर्नु थियो । बुबाको सहयोगीका अलावा उनी पार्टीका विभिन्न युद्ध अभियानमा पनि सहभागी भए । माओवादीको तत्कालीन जनमुक्ति सेनाका डेपुटी कमाण्डर नन्दकिशोर पुन ‘पासाङ’ जो अहिले उपराष्ट्रपति छन्० सँगै उनी विभिन्न युद्ध अभियानमा सहभागी हुन्थे ।

प्रकाश माओवादीको तत्कालीन केन्द्रीय कार्यालय ‘हेडक्वार्टर’मा सूचना संकलन विभागमा काम गर्थे । युद्धकालमा उनले नेताका गाडी समेत चलाउँथे ।

भूमिगत कालमा हुँदा प्रकाश धेरैपटक मृत्युको मुखबाट जोगिए । सेनासँगको दोहोरो भिडन्त हुँदा पनि प्रकाश माओवादीको जनमुक्ति सेनासँगै हुन्थे ।

युद्धमा बाँचेका प्रकाश मुटुले काम नगर्दा संसारबाट विदा भएका छन् । युद्धजितेका प्रकाश शनिवार साँझ आमा सीता दाहालले पकाएको जाउलो खाएर सुतेर कहिल्यै नब्युँझिने गरी संसार छाडेर गएका छन् । उनीप्रती श्रद्धा–सुमन ।।