बाबुरामले भने- प्रचण्ड र ओली कम्युनिष्टको खोल ओढेका छद्मभेषी !

बाबुरामले भने- प्रचण्ड र ओली कम्युनिष्टको खोल ओढेका छद्मभेषी !


नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले चरम अवसरवादका लागि नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) मिलेर गठबन्धन बनाएको आरोप लगाएका छन् । नेपाली कांग्रेसको नेतृत्वमा रहेको लोकतान्त्रिक गठबन्धनले गोरखाको पालुङटारमा शनिबार सम्पन्न गरेको चुनावी सभालाई सम्बोधन गर्दैनेता पौडेलले एमाले नेतृत्वले राष्ट्रवादको नारा लगाए पनि काम भने राष्ट्र विखण्डन हुने खालको गर्दै आएको बताए । एमालेले आफूलाई राष्ट्रवादी शक्तिको रुपमा प्रस्तुत गर्न खोज्नु नक्कली कुरा भएको भन्दै उनले एमाले होइन कांग्रेस नै राष्ट्रवादी पार्टी भएको दाबी गरे । कांग्रेसको नेतृत्वमा शान्ति र संविधान आएको भन्दै पौडेलले कांग्रेसकै नेतृत्वमा मुलुकमा समृद्धि ल्याउने पनि पौडेलले जानकारी दिए ।

महामन्त्री शशांक कोइराला, नयाँ शक्ति पार्टीका संयोजक तथा गोरखा क्षेत्र नं २ का उम्मेदवार डा बाबुराम भट्टराई, उद्योगपति विनोद चौधरी, कांग्रेसका केन्द्रीय सदस्य कमला पन्त, सुरेन्द्रराज पाण्डे, नयाँ शक्तिका नेता देवी ओझा, करिष्मा मानन्धर, ज्ञानेन्द्र कुमाललगायतले सम्बोधन गरेको सो सभालाई सम्बोधन गर्दै नयाँ शक्ति पार्टीका संयोजक डा. भट्टराईले एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सच्चा कम्युनिष्ट नभई कम्युनिष्टको खोल मात्रै ओढेको पात्र भएको ठोकुवा गरे । ‘एनसेल, बूढीगण्डकी जलविद्युत् आयोजनामा कमिसन खानेहरु कसरी कम्युनिष्ट हुन सक्छन् ?’ भन्ने सवाल गर्दै डा. भट्टराईले भने ‘कांग्रेस वामपन्थी शक्ति हो । तर कम्युनिष्टले भनेजस्तो एकतन्त्रीय शासनको हामी खिलापमा छौँ ।’ मुलुकबाट कुनै हालतमा लोकतन्त्र गुम्न नदिने पनि उनले बताए ।

यस्तै कांग्रेसका महामन्त्री शशांक कोइरालाले राजनीतिक मुद्दाहरु करिब सकिएको बताउँदै अब विकास र समृद्धिका मुद्दाहरु उठाउने बेला आएको भन्दैअब ब्यवस्था परिवर्तन गर्ने खालका एजेण्डाहरु काम नलाग्ने र जनताको चाहना अनुसार देश संमृद्ध बनाउने, गाउँ र सहरको विकास गर्ने कार्यमा लाग्नुपर्ने उनको तर्क थियो ।

सभालाई सम्बोधन गर्दै हालै नेपाली कांग्रेस ज्वाइन गरेका उद्योगपति विनोद चौधरीले कांग्रेसले विकासको नेतृत्व लिएकाले लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई विजयी गराउन आग्रह गरे । चौधरीले भने – ‘कांग्रेसले उदार अर्थतन्त्र नीति ल्याएपछि नीजि क्षेत्रबाट लगानी बढ्न थाल्यो । देशमा केही न केही विकास भइरहेकै छ । अब राजनीतिक मुद्दाहरु सल्टिसकेका छन्, देशलाई विकसित गर्नुपर्छ । त्यो कांग्रेसको नेतृत्वमा मात्रै संभव छ ।’ सभामा गोरखा २ का अधिकांश गाउँबाट नेता, कार्यकर्ता तथा समर्थकहरुको ठूलो जमघट भएको थियो ।