‘पचास वर्ष शासन गर्छौं भन्नु कस्तो वाद हो ?’

‘पचास वर्ष शासन गर्छौं भन्नु कस्तो वाद हो ?’


नेपाली कांग्रेसका नेता एवम् काठमाडौं निर्वाचन क्षेत्र नं ५ का लागि प्रतिनिधि सभा उम्मेदवार डा. प्रकाशशरण महतले आगामी निर्वाचनलाई नेपाली कांग्रेसले आफ्नो आस्थाको लडाईंका रुपमा लिएको बताएका छन् । आगामी निर्वाचन अरु समयको जस्तो सामान्य चुनाव नभई यसले नेपालमा लोकतान्त्रिक शासन व्यवस्था र विधिको शासनको पक्षपाति नेपाली कांग्रेसलाई विजयी गराउने कि देशमा एक दलीय कम्युनिष्ट शासनलाई मान्यता दिने भन्ने विषयको लडाईं भएको उनले बताए ।

नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ५ मा शनिबार आयोजित बुद्धिजिवी तथा पेशाकर्मीहरुको भेलालाई सम्बोधन गर्दै उनले भने, नेपाली कांग्रेसले भनेको छ यो निर्वाचन हाम्रो आस्थाको लडाईं हो हामीले विसं २००७ मा र त्यसपछि पनि पटक पटक ल्याएको प्रजातन्त्र र त्यसमार्फत स्थापित विधिको शासनलाई कम्युनिष्ट सर्वसत्तावादबाट बचाउनका लागि लडिरहेका छौँ ।

डा. महतले केही दिनअघि माओवादी अध्यक्ष प्रचण्डले अब नेपालमा कम्तीमा पनि ५० बर्षसम्म कम्युनिष्टले शासन गर्नेछन् भनी दिएको अभिव्यक्तिप्रति लक्षित गर्दै भने, हामी केही भन्दैनौँ यसबाट जनताले प्रष्टै बुझ्न सक्छन् कि अहिले नै ५० वर्ष शासन गरिन्छ भनेर घोषणा गर्नु कम्युनिजम हो कि होइन ?

नेपालका हरेक पटकका लोकतान्त्रिक आन्दोलनको नेतृत्व नेपाली कांग्रेस बाहेक अरु कसैले गरेका छैन र संविधानका सभाको निर्वाचन र त्यसमार्फत संविधान लेखन मात्र नभई संविधान जारी गर्ने काम नै कांग्रेसको नेतृत्वमा भएको यथार्थ इतिहासलाई कसैले बंग्याउन नसक्ने तथ्य प्रस्तुत गर्दै डा. महतले अगाडि भने,, त्यसैले अब यो संविधानको कार्यान्वयन र यसमार्फत संघीयताको स्थापनामा पनि कांग्रेस बाहेकको अर्को कसैले नेतृत्व गर्न सक्दैन र नागरिक स्वतन्त्रता र लोकतान्त्रिक मूल्य मान्यताको संरक्षण पनि हुदैन ।

नेपालमा लोकतन्त्रको स्थापना, संविधान सभाको निर्वाचन र यसमार्फत संविधान लेखनका साथै महिला जनताति एवम् दलितहरुका अधिकारलगायतका क्षेत्रमा नेपाली कांग्रेसेकै नेतृत्वमा उल्लेखनीय कामहरु भएका भए पनि कांग्रेसले कहिल्यै आफ्ना कामको प्रचार नगर्ने गरेको तर कम्युनिष्टहरुले भने तील जत्रो काम गरे पनि पहाड जत्रो प्रचारप्रसार गर्ने गरेका उनले बताए ।

माओवादीलाई शान्ति प्रकृयामा ल्याई नेपालमा पहिलो पटक संविधानसभाको निर्वाचन गर्नेसम्मको अगुवाई कांग्रेसले गरेकाले यस पटकको निर्वाचनमा पनि आफू पहिलो पार्टी हुने अधिकार नेपाली जनतासमक्ष राख्दछ भन्ने महतको तर्क छ ।

कांग्रेसको नेतृत्वमा निर्माण भएको संविधानको सफल कार्यान्वयन र त्यसमार्फत संघियताको संरचना निर्माणका लागि अबको अगुवाइ पनि कांग्रेसले नै गर्नुपर्ने भन्दै नेपाली जनतासँग कांग्रेसलाई विजयी गराउन अपिल गरे । डा. महतले आफूले क्षेत्र नं ५ बाट प्रतिनिधित्व गर्न पाएमा यस क्षेत्रको विकासमा सशक्त रुपमा लाग्ने प्रतिवद्धता व्यक्त गर्दै काठमाडौँ क्षेत्र नं ५ धार्मिक, सांस्कृतिक तथा पर्यटकीय हिसावले अत्यन्त समृद्ध क्षेत्र रहेकाले तिनको समयानकुल र आधुनिक विकास तथा विस्तारमा आफू सदैव लागिपर्ने बताए ।