विश्वप्रसिद्ध उपन्यासकार, जसको भाषण सुनेर मानिस मग्न हुन्थे

विश्वप्रसिद्ध उपन्यासकार, जसको भाषण सुनेर मानिस मग्न हुन्थे


– हेमन्त खतिवडा

मार्क ट्वेन अमेरिकाका प्रसिद्ध उपन्यासकार हुन् । वकिलका छोरा उनी नामी हास्यकार पनि हुन् । सन् १८३५ मा फ्लोरिडामा उनको जन्म भएको थियो । मिसिसिपी नदीको किनारको हानिबल भन्ने ठाउँमा उनी हुर्केका थिए । हानिबलका डाँडाकाँँडा, नदीनाला, पाखा–पखेरा, वनजङ्गल हिँड्दै, लड्दै अनि पढ्दै उनी अघि बढे ।

सानो ठाउँ थियो हानिबल, असाध्यै सुन्दर गाउँ । पाँच सय मानिस बस्थे, नदीमा नाउहरू चल्थे हानिबलका केटाहरूका नेता पनि उनै ट्वेन । स्कुल नलागेको बेला पाखा–भित्ता, चौर–मैदान घुमिहिँड्थे । वन–जङ्गलमा पुग्थे, निसङ्कोच खोलामा नुहाउँथे, पौडी खेल्थे । छङछङ परेको त्यो निर्मल, स्वच्छ अनि कञ्चन खोलामा नुहाएर घाम ताप्थे, आनन्दको अनुभूति गर्थे । अनि खोलामा माछा मारेर घर फर्कन्थे ।

एघार वर्षको हुँदा उनका बाबु मरे । बाबु मर्दा मैले बाबुले भनेको सुनिनँ भन्थे, रुन्थे अनि पश्चात्तापको आगोमा दन्किन्थे । तर जे हुनु भयो, अब राम्रो बन्ने कोसिस गर भन्थिन् आमा । ‘हुन्छ आमा तपाईंले भनेको सधैँ मान्छु, तपार्इंलाई पिर्दिनँ’ भन्थे, तर उनले आमालाई पिर्नुसम्म पिरे । पढ्न स्कुल जान्थे, तर भागेर अन्तै पुग्थे । पटक्कै पढ्दैनथे, कतिपल्ट घरदेखि भागे, पानीमा डुबे ।

मिसिसिपी नदीमा खेले, आफ्नी आमालाई डरले मर्नु पारे । उनकी आमा थिइन् राम्री, हँसिली, पशुपक्षी मन पराउँथिन् । दीनदुःखीलाई खुबै माया गर्थिन् ।
पछि उनी पत्रकार भए, उही बेला उनले आफ्नो कलम तिखारे, घुमाए अनि अङ्ग्रेजी भाषामाथि तिनले आधिपत्य हासिल गरे । फेरि उनलाई घुम्ने लहड चल्न थाल्यो । अरे ! यी उपन्यासकार फेरि घुम्न निस्किए । झरनाको झरझर स्पर्श गरे, खोलाको कलकलमा आफ्नो पाउ भिजाए अनि बगैँचा डुले । हिमालयको यात्रामा निस्किए, हिमशृङ्खलाको मनोरम दृश्य आँखामै कैद गरे । सेन्टलुई गए, न्यूयोर्क, फिलाडेल्फिया, वुफालो गए, वासिङ्टन, आयोवा गए । गए, गए धेरै क्षेत्रहरू गए । त्यहीबेला हो उनले भाइसँग केही वर्ष काम गरेको । अनि त्यही बेला हो दुवै भाइले सहकार्य गर्ने अवसर पाएको पनि ।

जीवनको धार बदलिरह्यो, गति बदलिरह्यो । उनी सन् १८५१ मा मिसिसिपी नदीमा चल्ने जहाजका पाइलट भए । तीन वर्ष उनले पाइलटको काम गरे । यही बेला मिसिसिपी नदीका किनारमा बस्ने थरीथरीका मानिससँग उनको हेलमेल भयो, अनि उनका यिनै मानिस पछि उपन्यासका पात्र–पात्रा (चरित्र) भए ।

फेरि उनी पत्रकारितामा फर्के । सन् १८६५ मा उनको कथा ‘जम्पिङ फ्रग’ छापियो । रातारात उनी प्रसिद्ध भए । चार वर्षपछि त उनको पुस्तक इन्नोसेन्ट्स अब्रड छापियो । अनि त उनको ख्याति झन् फैलियो, सुदृढ भयो । उनले प्रशस्त पैसा कमाए, नाम कमाए । तर, उनले पैसा र नाम मात्र चाहेका थिएनन्, एउटी पत्नी पनि चाहेका थिए । एक दिन मार्क ट्वेनले ओलिभियाको फोटो देखे, अनि तत्कालै उनी ओलिभियाप्रति मोहित भए । उनले मनभित्र हर्ष, उल्लास र विजयको विस्फोट अनुभव गरे । उनले ओलिभियालाई सयौँ प्रेमपत्र लेखे, धेरैधेरै प्रेमपत्र लेखे जसमा प्रेमको आवेग थियो, पत्रहरूबाट नै उनले ओलियभाको मन जिते । ओलिभिया थिइन् अत्यन्त सुन्दरी अबोध बालिकाजस्ती ।

सन् १८७० फेब्रुअरीमा उनीहरूको विवाह भयो । त्यसपछि चौँतीस वर्षसम्म सुखी जीवन बिताए । यही बेला हो उनले टम सयर, हकलबेरी फिनजस्ता विश्वप्रसिद्ध उपन्यासहरू लेखेका ।

यी दुई उपन्यासहरूले बालकपनलाई खेल, आनन्द र साहस कर्मको रूपमा परिभाषित गर्छन् । मार्क ट्वेन स्वयम् मिसिसिपी नदीको किनारमा हुर्केका थिए । उनले आफ्नो बाल्यकाल बिर्सन सकेनन् ।

मार्क ट्वेनको ‘टम सयर’ एउटा सफल पुस्तक मानिन्छ । यसको पृष्ठभूमि मिसिसिपी नदी छ । आफ्नै परिवारका मानिस यसका पात्रपात्रा छन् । उपन्यासको सुखद अन्त्य र केटाको जीवन्त चित्रणले यो पुस्तक साना–ठूला सबैका लागि प्रिय लाग्छ ।

हकलबेरी फिन मार्क ट्वेनको प्रसिद्ध अमेरिकी उपन्यास हो । यो उनको प्रसिद्ध उपन्यास हो । हक यसको कथावाचक हो, सानो एउटा केटा यसमा दृश्यहरूको विस्तृत विवरण छ, काव्यमय छ यो काव्यात्मक छ । पात्रहरू जीवन्त छन् । यसमा हास्यको पुट छ अनि व्यङ्य पनि । हक एउटा जँड्याहाको छोरा हुन्छ, छोराले पिरोल्छ अनि त्यही पिर सहन नसकी घरबाट भाग्छ । उसको साथी दास केटो जिम हुन्छ । उनीहरू मिसिसिपी नदीमा डुङ्गामा चढेर यात्रा गर्छन् । यात्रा गर्दा हकले थरीथरीका मान्छेहरू भेट्छ–नदीका आसपासमा बस्ने हरेक श्रेणीका मानिसको त्यहाँ सजीव वर्णन छ । मिसिसिपी नदी स्वयम् उपन्यासको पात्र भएर चलमलाउँछ । यस पुस्तकभरि हकको अपार उत्साह, उल्लास र उमङ्गको बेजोड प्रस्तुति देख्न सकिन्छ । उनीहरूका साहस कर्मलाई एउटा विषयको धागोले बाँधेको छ– त्यो विषय हो जो मान्छेले मान्छेप्रति गरेको अमानुषिकता र मानवीय क्रूरता ।

अर्नेस्ट हेमिग्वेले भने– अमेरिकी साहित्यमा हकलबेरी फिन प्रथम र सबभन्दा उत्कृष्ट उपन्यास हो । बीस वर्षपछि फेरि विलियम फक्नरले पनि झन्डै त्यही कुरा भने । यी दुई महान् लेखकले के भन्न चाहेका छन् भने मार्क ट्वेनले नै अमेरिकी भाषाको आविष्कार गरे, अमेरिकी चेतावको आविष्कार गरे ।
उनको शैली अति प्राञ्जल छ, स्वच्छ छ, छर्लङ्ग बुझिने भाषा छ । बोलेको जस्तै गरी लेख्छन् ।

आँखाका निम्ति नलेखेर उनी कानका निम्ति लेख्थे । शैली नै उनको अनुपम, अनुकरणीय पनि । उनका कृतिमा हास्यको रङ देख्न सकिन्छ, विनोद देख्न सकिन्छ ।

किताब लेखेरै उनले करोडौँ कमाए, हो… अगाध धन कमाए, नाम कमाए । उनको ख्याति चरमचुलीमा पुग्यो । जता पनि मार्क ट्वेनको नाम गुञ्जिन थाल्यो ।
तर सन् १८८४ देखि भने उनलाई विपत्तिहरूले घेर्न थाले । एउटा प्रकाशन संस्थामा आफ्नो भएभरको पैसा हाले । तर, त्यो संस्था चाँडै बन्द भयो । उनको धेरै पैसा डुब्यो । उनी तन्नमभगत हुन पुगे ।

अब उनले ऋण लिए, अनि संसारको यात्रामा हिँडे । प्रत्येक सहर–सहर गएर भाषण दिन थाले । उनको भाषणमा यस्तो मधुरता थियो कि यस्तो साङ्गीतिक र काव्यात्मकता थियो कि सारा मानिस लठ्ठ पर्थे अनि उनलाई हेरेको हेरै गर्थे ।

यस्तै भाषणबाट उनले प्रशस्त पैसा कमाए, एक–एक गरेर ऋण चुक्ता गरे । उनीको किताब धेरै बिक्री भयो अनि फेरि उनी करोडपतिका रूपमा दर्जिए । मानिस उनका भाषण सुनेर भुँडी फुटुन्जेल हाँस्थे ।

पैसा ! पैसा ! अब उनको निम्ति पैसा धाराबाट पानी आएसरी भयो । स्कुललाई दान दिए, कलेजलाई दान दिए अनि अस्पताललाई दिए । तर, उनी अझ धनी, अझ धनी लेखकका रूपमा विख्यात भए । सुनको दिन थियो उनको, हर्षका दिन थियो अनि जता पनि उमङ्ग र खुसीको दिन थियो ।

अब उनलाई व्यक्तिगत विपत्तिहरूले घेर्न लागे । उनकी छोरी मरिन्, त्यो मृत्यु असह्य थियो, उनको हृदयमा धक्का लाग्यो । फेरि स्वास्नी मरिन्, उनी छाती पिटिपिटी रुन लागे । छोरी क्लाराको बिहे भयो, त्यही वर्ष उनकी अर्की छोरी मरिन् । अब उनी एक्लो भए, नितान्त एक्लो । उजाड भयो जिन्दगी । अब उनी भावनात्मक रूपमा दुःखी भए । मानसिक आघातका कारण मुहारमा विषाद देखिन थाल्यो ।

सेतै फुलेको कपाल लिएर, सेतै दाह्री लिएर अनि सेतै सुट लगाएर उनी हिँड्थे ।

अन्तिम दिनहरूमा उनले धेरै सम्मान पाए, धेरै पुरस्कार पाए । विश्वविद्यालयहरूले उनलाई डाक्टरको उपाधि प्रदान गरे । आलोचकहरूले उनलाई अमेरिकी साहित्यको लिङ्कन भने ।

सन् १९१० मा उनले सधैँका लागि आँखा चिम्ले । उनको अन्त कसरी भयो त ? उनकी छोरी क्लारा वर्णन गर्छिन्, ‘बिहीबार बिहान २७ अप्रिलमा बाबु सधैँझैँ उठे, उनी मौन थिए, शान्त अनि सदाझैँ चङ्गा । उनी बसेको कुर्सीमै उङ्न लागे । म उनको छेउमै बसेकी थिएँ । हठात आँखा खोले, मेरो हात समाए अनि भने, ‘बाई छोरी ! बिदा !’ त्यसपछि उनी चिरनिद्रामा पुगे ।

सूर्य अस्ताउन लागेको थियो, उनी पनि त अस्पताल लागे । अनि केही क्षणमै सूर्यसँगै अस्ताए ।