स्टेसन विकासतर्फ लगाइयोस् !

स्टेसन विकासतर्फ लगाइयोस् !


– विवेती पौडेल

रेडियो नेपालको खबर सुन्न रेडियो चाहिन्छ । रेडियोबाट आवाज निस्कन ब्याट्री चाहिन्छ । मनचिन्ते स्टेसन मिलाउन रेडियोधनीसँग सीप र इच्छा हुनुपर्छ । यदि स्वयम् रेडियो मालिकलाई खबर सुन्ने इच्छा जागेन भने रेडियो स्वाँऽऽऽ गर्ला वा नखुट्टिने स्टेसनहरू मिसिएका स्वरहरू वातावरणमा छिरोलिएलान्, तर समाचार कसै सुनिँदैन, सुन्न सकिँदैन ।

मुलुकवासीहरू विकास चाहन्छन् । विकासका लागि परिश्रम चाहिन्छ, परिश्रम भएपछि प्रयोग गर्ने जमिन चाहिन्छ । राष्ट्र भन्नु समष्टिमा जनता हो र जनताको जमिन भन्नु देश हो । अर्काे पाटोबाट हेर्दा विकास रोप्ने जमिन छ, तर परिश्रम छैन भने त्यहाँ राष्ट्र फल्दैन, शान्ति फुल्दैन, विकास मौलाउँदैन । त्यसका लागि राष्ट्रमूलीहरूले मतैक्यता जाहेर गरी राष्ट्ररूपी रेडियोमा जनपरिश्रमरूपी ब्याट्री हाल्नैपर्छ । त्यसबाट पनि विकास फल्छ नै भन्न सकिँदैन । किनभने राष्ट्ररूपी रेडियोमा विकास र विनाश नामका स्टेसनहरू हुन्छन्, कतै रेडियोको स्टेसन विनाशमा लाग्यो भने निःसन्देह मुलुक विनाशको भड्खालोमा जाकिन पुग्छ ।

वर्तमानमा हामीकहाँ राष्ट्र घन्किरहेको सुनिन्छ । मृत्युको सहज वरणजस्ता त्याग र बलिदानका उत्कर्ष नमुनाहरू छ्यापछ्याप्ती पाइन्छन् । सायद मृत्युवरण दर्जाको ठूलो परिश्रम अर्काे छैन होला । सार्वजनिक हितका लागि टाउको फुटाउनु, जेलमा बस्नुजस्ता कृतहरूलाई त हामी उत्कृष्ट बलिदानका रूपमा लिने गरेका छौँ । त्यसैले त विभिन्न आस्थाका नेतृत्व तहका महानुभाव मुलुक निर्माणका खातिर आफ्ना वैयक्तिकताहरू थाती राखेको स्वाङ पार्दछन् । यथार्थता सर्वग्राही हुँदोरहेनछ क्यारे ! आज वास्तवमै नेताहरूले सार्वजनिकतामा नभई वैयक्तिकतामा आफ्नो पद, प्रतिष्ठाको उपयोग गरिदिँदा मुलुक इष्ट गन्तव्यतर्फको यात्रारम्भसम्म गर्न नसकेको प्रतीत हुन्छ । के सुरक्षाकर्मी, के माओवादी, के सर्वसाधारण सबैको ज्यान धरापमा रहेको विद्यमान अवस्थामा यस्तै असरल्ल छाड्ने हो त मुलुकलाई ?

होइन, विकासको निकास चाहन्छ देशले भने जीवन बलिदानको इन्धनमा घन्किरहेको मुलुकी रेडियोमा स्टेसन मिलाउन अब ढिलाइ गरिनुहुँदैन । जनताले मुलुकको विकास र शान्ति चाहेका छन् भन्ने महसुस गर्ने बेलासमेत अब घर्किनै थालेको छ । कतै जनताले रेडियो आफ्ना हातमा खोसेर लिने अवस्था नआओस् भनेर राजनेताले मनन गर्नैपर्ने देखिन्छ । त्यसका लागि मुलुक हाँक्ने हिम्मत गरेको राजनेताले मुलुकी रेडियोको स्टेसन विकासतर्फ लगाउन जरुरी हुन्छ । यदि त्यति स्टेसन मिलाउने मात्र काम गरेमा पनि मुलुकले विकासको गति लिन सक्छ । किनकि त्याग र बलिदान पूर्वाेल्लिखित रूपमा भइरहेको छ ।

यस मानेमा अध्यक्ष प्रचण्ड, सभापति शेरबहादुर, अध्यक्ष केपी, अध्यक्ष कमल, महन्त, विजय आदिलाई नेपालरूपी रेडियोका मालिक मानिएको छ र उनीहरूले पनि यसलाई अन्तरहृदयदेखि स्वीकार गर्नुपर्छ । अनि ज्यानको बाजी लगाएर विकास रोप्यौँ भने अर्थात् विकासको स्टेसनमा रेडियो घन्काउन सक्यौँ भने जाबो डेढ लाख वर्गकिलोमिटरको क्षेत्रफललाई वास्तवमै चार वर्ण छत्तीस जातको फूलबारीमा परिणत गर्न सकिनेछ ।

हो ! पृथ्वीनारायण शाहको दूरदर्शिता प्रमाणित हुनेछ । भौगोलिक प्राकृतिकतारूपी इन्जिनमा नेपाली जनताको परिश्रमरूपी इन्धन मिलाएर मुलुकी रेडियोमा विकासे स्टेसन मिलाउने जिम्मा स्पष्टतः राजनेताहरूको हो र सम्पूर्ण जनता शान्तिपूर्ण विकासको माग गरिरहेको वर्तमानमा यो नै उत्तम निकास हो जसका लागि अब ढिलाइ गरिनुहुन्न । प्रधानमन्त्रीय भूमिका सम्हालेका प्रचण्डले वर्तमानमा अब मुख्य मूलीका रूपमा पदभार ग्रहण गरी सम्पूर्ण राजनीतिक शक्तिहरूलाई आ–आफ्ना परिलक्ष्य तथा विषयगत योजना, नीति एवम् कार्यक्रमहरू तयार पारी पेस गर्न आह्वान गर्नुपर्छ । कार्यक्रम पेस गर्न आवश्यक समयावधिसम्म रेडियो, टेलिभिजनको एक मात्र कार्यक्रम भनेको राजनीतिक दलहरूको विषयगत नीति तथा कार्यक्रमको प्रस्तुतीको प्रत्यक्ष प्रसारण गर्ने हुनुपर्छ, ता कि ‘अँ ! यतिबेला यो दलको यो विषयको नीति तथा कार्यक्रम प्रसारण हुँदै छ’ भन्ने जानकारी सर्वसाधारणलाई प्राप्त हुन सकोस् । बरु यसको समयतालिका प्रधानमन्त्रीको अध्यक्षतामा बस्ने समितिले तय गरी वर्तमानमा घन्टा–घन्टामा समाचारका नाममा प्रसारण गरेजस्तै कुन दलको कुन विषयको प्रस्तुति कतिबेला ? भन्ने व्यहोराको जानकारी रेडियो, टेलिभिजनबाट गराउनु उपयुक्त हुनेछ । फेरि एउटा विषय क्षेत्रको प्रस्तुति सबै दलहरूको एकैचोटि याने क्रमशः प्रसारित समयतालिकाबमोजिम गराउँदा जनताले तुलनात्मक रूपमा तत् विषय–क्षेत्रमा आफ्नो बुझाइको प्राथमिकता तोक्न सहज हुनेछ । यसमा भूमिगत दलहरूको कार्यक्रम पनि पेस हुनुपर्छ ।

‘अब पनि नेपाली मस्तिष्कहरू ०७-८ सालतिरकै जस्ता छन्, संविधान लेख्ने होस् वा प्रशासनयन्त्रको जग हाल्न होस् विदेशी बुचहरूकै मुख ताक्नुपर्छ ..’ सोचिनु सरासर गल्ती हुनेछ । के नेपाली भूमिबाट नयाँ प्रयोगारम्भ हुन हुँदैन र ? अन्यान्य राष्ट्रहरूले गरेका प्रयोगकै नक्कल गर्नैपर्ने नेपाली नियति हो र ? भाषणमा नेपाली आफ्नो भाग्यको फैसला आफैँ गर्न सक्षम छन् भन्ने, तर व्यवहारमा टाउकेहरूकै सनक थोपर्ने ? होइन भने आजको विकासप्रतिकूलको रोगको उपचारतर्फ किन सोचिँदैन ? तसर्थ २–३ महिना लगातार गरेर भए पनि सम्पूर्ण राजनीतिक शक्तिले आ–आफ्ना परिलक्ष्य, लक्ष्य, नीति तथा कार्यक्रमको प्रत्यक्ष प्रसारण सक्नुप¥यो । त्यसपछि जनतालाई निर्णयको अवसर प्रदान गर्नुप¥यो । त्यसरी प्राप्त भएको व्यवस्थामा बल्ल गणतन्त्र, जनतन्त्र, प्रजातन्त्र, लोकतन्त्र जे भनिए पनि जनइच्छाको कदर भई राजनीतिक व्यवस्थाको सबल जग बस्नेछ र निर्धारित नीति कार्यान्वयनबाट मुलुकको मुहार फेर्न सहज हुनेछ ।

त्यसकारण, अब सबै कुरालाई थाती राखी मानवको जिजीविषालाई पहिलो प्राथमिकता दिइनुपर्छ । त्यसका लागि देशरूपी रेडियोको स्टेसन जुनसुकै सर्तमा पनि विकास र शान्तिमा मिलान गनुपर्छ । अहिले त विकास र विनाश, शान्ति र हिंसाको दोभासे स्टेसनमा रेडियो बजिरहँदा जनता असरल्ल परेका छन् । सामयिक विचार शीघ्र गरियोस् ।

– अमृतनगर, कीर्तिपुर