राज्यबाट नै उपेक्षित लिगलिगकोट

राज्यबाट नै उपेक्षित लिगलिगकोट


–छविलाल बगाले
‘गोरखा’ र ‘गोरखाली’ विश्वसामु निकै परिचित शब्द हुन् । यि दुबैमा आँट, साहश, स्वाभिमान र निर्भिकताको आशय लुकेको छ । आज यिनै शब्दहरुले नेपाल र नेपालीलाई विश्वमाझ चिनाएको छ । स्वाभिमानी नेपाली भएर बाँच्न सहयोग गरेको छ । त्यसैले गोरखा स्वदेशी तथा विदेशी पर्यटक, अन्बेशक तथा विश्लेषकहरुको गन्तब्य पनि बन्दै गएको छ । यहाँ इतिहास बोकेका पुराना गढी, मन्दिर, दरबार, किल्लाहरुले सबैको मन खिच्ने गरेको छ । मनमा गोरखा बोकेर गएकाहरु आँखा र क्यामारामा मात्रै नभई शिरमा पनि गोरखा बोकेर फर्कने गर्दछन् ।

नेपालका अन्य जिल्लाहरु जस्तै गोरखामा पनि धेरै ऐतिहासिक धरोहरहरु छन् । यिमध्ये लिगलिगकोट क्षेत्र धार्मिक, सांस्कृतिक, ऐतिहासिक एवं पुरातात्विक दृष्टिकोणले निकै महत्वपुर्ण छ । समुद्रीसतहदेखि ४ हजार ७ सय ९० फिटको उचाईमा अवस्थित यो क्षेत्र आँपपिपलको खोल्लीमा पर्दछ । २ सय ४० वर्षसम्म एकछत्र रुपले शासन गरेको नेपालको शाह बंशको उदयबिन्दु मानिने लिगलिगकोट क्षेत्र पर्याप्त सम्भाबना बोकेको एक ऐतिहासिक पर्यटकीय स्थल पनि हो ।

लिगलिगकोट राजा छान्ने ठाउँको रुपमा पनि विख्यात छ । यहाँ हरेक बर्ष राजा छान्ने गरिन्छ । इतिहासलाई पल्टाएर हेर्ने हो भने यहाँ राजा छान्ने परम्परा बि.स. १६०४ को बिजया दशमीको दिनदेखि सुरु भएको पाइन्छ । त्यो मात्र नभएर पर्यटकीय गन्तव्यका लागि स्थानीयले बर्षेनी दशैंको अवसर पारी लिगलिगे दौड आयोजना गरिरहेका हुन्छन् । लिगलिग कोट विकास समितिद्धारा हरेक बर्ष दौडको आयोजन गर्ने गरिन्छ । लमजुङ र गोरखाको सिमानामा पर्ने चेपेघाटबाट सुरु भएको दौड ठाँटीपोखरी, छाप्थोक, बडडाँडा, साउनेपानी, बोहरा गाउँ, मैबल, दर्खेपानी, राई गाउँ, बिजुले डाँडा हुँदै लिगलिगकोट दरबारमा गएर सकिन्छ । दौडमा विजयी हासिल गर्नेलाई श्रीपेच लगाइदिने यहाँको पुरानो चलन हो ।

लिगलिग मगर भाषाको ‘लिङलिङ’ शब्दबाट आएको भन्ने भनाई छ । मगर भाषामा लिङलिङको अर्थ सफा, सुन्दर, कञ्चन प्राकृतिक सौन्दर्य देखिनु भन्ने बुझिन्छ । पर्यटकिय क्षेत्र लिगलिगकोट पुग्ने जो कोही पर्यटकहरु पनि मन्त्रमुग्ध हुने गर्दछन् । त्यसो त यहाँबाट देखिने मनास्लु हिमश्रङखलको मनोरम दृष्य, लमजुङको पर्यटकिय क्षेत्र राइनसकोट, लाली गुराँसको जंगल, लिगलिगकोटको पुराना दरबार, कोट, किल्ला, गढी, पुराना भग्नावशेष अनि नागबेली आकारमा बगेको चेपे नदिको मनोरम दृश्यले सबैको मन खिचिरहेको हुन्छ ।

नेपालमा प्राकृतिक सौन्दर्य, सांस्कृतिक तथा ऐतिहासीक महत्व आदिले सम्पन्न भएका ठाउँहरु पनि उचित प्रबद्र्धनको अभाबमा अहिलेसम्म ओझेलमै छन् । नेपालमा दर्जनौ ठाउँहरुको गन्तब्य पहिचाहन हुन नसक्दा ऐतिहासिक पर्यटकिय स्थलहरु ओझेलमा पर्ने गरेका छन् । ति ऐतिहासिक धरोहरहरुलाई उचित संरक्षण तथा संबद्र्धन गरि त्यहाँका जनतालाई मुलुककै पर्यटन ब्यवसायको मुलधारमा ल्याउन सकिन्छ । प्राकृतिक, सांस्कृतिक रुपमा अनुपम नेपालमा नयाँ नयाँ गन्तब्यको विकास गरी आन्तरिक तथा बाह्य पर्यटनमा नयाँ आयाम थप्न सकिनेतर्फ पर्याप्त ध्यान पुग्नु जरुरी देखिन्छ ।

गोरखाको लिगलिगकोट क्षेत्र निकै संभावना बोकेको स्थल हो । यहाँसम्म आइपुग्ने जो कसैले पनि यसको संरक्षणमा जुट्न आवश्यक रहेको बताउँछन् । ‘लिगलिकोटलाई पाल्पाको रमणीय पर्यटकिय क्षेत्र श्रीनगरकोटसँग तुलना गर्न सकिन्छ ।’ आन्तरिक पर्यटकको रुपमा लमजुङको सुन्दरबजारबाट लिगलिगकोट पुगेका विवेककुमार पण्डित भन्छन्, ‘लिगलिगकोटलाई संरक्षण गरी पूर्वाधारको विकास गरेमा गज्जवको पर्यटकीयस्थल बन्न सक्छ ।’

विवेक कुमार पण्डित मात्रै होइन लमजुङको राइनस नगरपालिकाभित्र रहेको सर्बोदय सेवाश्रमका अध्यक्ष एवं पर्यटन क्षेत्रसँग रमाउने कृष्णराज ओलिया र ठाँटीपोखरीका युवा किरण गिरी पनि पुरातात्विक हिसावले महत्वपूर्ण मानिएको लिगलिगकोटलाई बचाउन आवश्यक रहेको बताउँछन् ।

लिगलिगकोटको टुप्पोबाट देखिने बौद्ध हिमाल, मनास्लु, हिमालचुली, गणेश हिमाल लगायतका दर्जन बढि हिमश्रङखलाहरुले पर्यटकको मन तान्न सक्ने लिगलिगकोटका अभियन्ता एवं लिगलिगकोट पर्यटन विकास समितिका संस्थापक अध्यक्ष गेहेन्द्र राना बताउँछन् । यता अमेरिका बसेर आँपपिपल गाविसमा बिभिन्न योगदान गर्दै आएका डा.बालकृष्ण शर्मा लिगलिगमा बिभिन्न हिमालयहरुको दृश्यावलोकनका लागि एउटा भ्यु टावरको निर्माण गर्न सकियो भने अँझ बढी पर्यटकहरु आकर्शित गर्न सकिने बताउँछन् । “सरकारले प्रत्येक बर्ष गर्ने बजेट भाषणमा लिगलिग कहिल्यै आएन् ।” शर्माले भने, “लिगलिगकोट अर्कै मुलुक हो र ? के यसको विकास गर्ने दायित्व सरकारको छैन् ?”

अभियन्ता गेहेन्द्र रानाले नजिकैको तिर्थ हेला भयो भन्दै २०६५ सालमा लिगलिगकोट पर्यटन विकास समिति गठन गरी लिगलिगकोटको विकासमा लागि परे । तत् पश्चात समितिमा यस क्षेत्रको विकासका लागि केही बजेट आएको थियो । समितिले कार्यालय भवनको निर्माण, खानेपानीको धारा निर्माण, पाटी, रेलिङ र सिढीं लगायतका कामहरु गरेको थियो । विगतमा यस क्षेत्रको विकासका लागि आवश्यक बजेट आएपनि हिजोआज भने खासै बजेट नआएको गाउँलेहरुको भनाई छ । तर त्यसपछिका दिनहरुमा लिगलिगकोट विकासका लागि बजेट आउनै छाडेको अभियन्ता रानाको दुखेसो छ । उनि भन्छन्, “लिगलिगकोटमा बर्षको एक पटक आयोजना गरिने दौड बाहेक अन्य कुनै सिन्को भाँच्ने काम भएको छैन् ।”

शाह बंशबाट पनि उपेक्षित लिगलिगकोट
लिगलिगकोटबारे अनेक ऐतिहासिक कथनहरू छन् । यहाँ दौडेर प्रथम हुने व्यक्तिलाई राजा छान्ने परम्परा वि.सं १६०४ को विजयादशमीको दिनदेखि सुरु भएको इतिहासमा पढ्न पाइन्छ । यसरी राजा छान्ने प्रथालाई लिगलिगे दौड को संज्ञा दिइन्थ्यो । राजा छान्न पहिलोपटक भएको लिगलिगे दौडमा २० नकाटेका ठिटा दलसुर घलेमगर पहिला भई लिगलिगकोटको पहिलो राजा बनेको र उनले वि.सं १६०४ देखि १६१५ सम्म त्यहाँको राज्य गरेको स्थानिय वेद बहादुर राना बताउँछन् । “धेरै ब्यक्तिको एउटै मात्रै प्रश्न हुन्छ की गोरखामा हरेक बर्ष दौडेर राजा छान्ने परम्परा भएपनि दलसुर घलेमगर मात्रै कसरी प्रथम भएर ११ वर्षसम्म राज्य गरे ?” स्थानिय वेद रानाले भने, “लिगलिगे दौड प्रतियोगिता हुने स्थानबारे पनि फरक भनाईहरु छन् ।”

वि.सं १६१६ मा दौडबाट घलेहरुलाई हराएर लमजुङका राजा यशोब्रम्ह शाहका कान्छा छोरा द्रव्य शाह लगलिगकोटको राजा भएको इतिहासमा उल्लेख छ । लिगलिगकोट क्षेत्र शाहकालिन समयको सुरुवाती भएपनि शाह बंशहरुले यस क्षेत्रलाई सधैं उपक्षेमा राखी नै रहे । यहाँ श्रीकालिका माई, भुमे, भीमसेन र द्रव्यदेवीको स्थान, मूलकोटसहित पाँचवटा गढी, बुझ्न नसकिने केही शिलालेखहरू र बस्ने एउटा पाटी रहेको छ । तर यी लथालिङ्ग र भताभुङ्ग अवस्थामा रहेका छन् । शाह बंशहरुले नेपालमा यति लामो समयसम्म एक क्षत्र रुपले शासन ग¥यो तर शाह बंशीय राजाहरुको उद्गमस्थल लिगलिगकोट क्षेत्रले कहिल्यै परिवर्तन भने पाउन सकेन् । राजा द्रश्य शाहदेखि ज्ञानेन्द्रसम्मका राजाहरुले लिगलिगकोटलाई वास्ता नगरेको स्थानियहरुको आक्रोश छ ।

बजेट अभावका कारण संरक्षणमा समस्या
हरेक बर्ष बजेट भाषण हुन्छ, जिल्लामा पर्यटन रोयल्टी आउँछ तर लिगलिगकोटसम्म आइपुग्नै गाह्रो छ । “हामीलाई लाग्छ, ऐतिहासिक धरोहर लिगलिगकोटलाई बचाईराख्नु हाम्रो दायित्व हो ।” लिगलिगकोट पर्यटन विकास समितिका संस्थापक अध्यक्ष राना भन्छन्, “दायित्वमात्रै भनेर के गर्नु हामीसँग बजेट छैन् । यो मन रोएको छ । घरमाथि प्रकृतिको धनी अनि इतिहास बोकेको लिगलिगकोट छ । विकास गर्न हतारमा छु तर कतैबाट बजेट आउँदैन् ।”

कुनै निकायले पनि संरक्षणमा चासो नदिदाँ लिगलिगकोट क्षेत्रभित्र रहेका श्रीकालिका माई, भुमे, भीमसेन र द्रव्यदेवीको स्थान, मूलकोटसहित पाँचवटा गढी, शिलालेखहरू र बस्ने पाटी भताभुङग अनि लथालिङ्ग अवस्थामा छन् । यतिबेला लिगलिगकोटको स्थिती निकै दर्दानक छ । यहाँ राज्यको नजर पुग्न सकेको छैन् । जसले गर्दा दिनानुदिन यो क्षेत्र लोप हुने हो की भन्ने चिन्तामा स्थानियबासीहरु छन् । उनिहरुले केही बर्षअघि संरक्षणको नाममा आएको केही रकमले लिगलिगकोटको प्रवेशद्धारको निर्माण गरेका छन् भने एउटा सानो पाटीको निर्माण गर्न भ्याएका छन् ।

यसरी पुग्न सकिन्छ लिगलिगकोट
हिजोआज गाह्रो छैन लिगलिगकोट पुग्न । किनकि त्यहाँ जाने विभिन्न बाटाहरु पनि छन् । तनहुँ जिल्लाको डुम्रेबाट तुरतरे हुदै पालुङटारबाट लिगलिगकोट पुग्न सकिन्छ । उता लमजुङको बेसीसहरतिरबाट राइनस नगरपलिकाको धमिलिकुवा हुदै पनि यहाँ पुग्न सकिन्छ भने बेसीशहरबाट तुरतुरे आएर पनि यहाँसम्म पुग्न सकिन्छ । अथवा गोरखा सदरमुकामतिरबाट छेपेटार–खोप्लाङ–लुइँटेल–बडडाँडा हुँदै गए पनि हुन्छ । जताबाट गएपनि आँपपिपलस्थित बिजुलीडाँडाबाट करिब आधाघन्टा हिँडेपछि दरबारमै पुगिन्छ । जुनसुकै ठाउँबाट आएपनि गाडीबाट ओर्लिएको २० मिनेटमा लिगलिगकोट क्षेत्र पुग्न सकिन्छ ।

राजा छान्ने प्रचलन यसरी भयो
लिगलिगकोट राजा छान्ने ठाउँको रुपमा पनि विख्यात छ । यहाँ हरेक बर्ष राजा छान्ने गरिन्छ । इतिहासलाई पल्टाएर हेर्ने हो भने यहाँ राजा छान्ने परम्परा बि.स. १६०४ को बिजया दशमीको दिनदेखि सुरु भएको पाइन्छ । पाल्पाका राजा मुकुन्दसेनको मृत्यु पश्चात उनका छोराले राज्य चलाउन नसकेपछि लिगलिगकोटका स्थानियहरुले चेपेबाट दौडेर लिगलिगकोट पुग्ने र जित्ने ब्यक्तिलाई राजा बनाउने सहमति भएको इतिहासमा छ । सोही अनुरुप दशैंको अवसर पारी वि.सं १६०४ मा दलसुर घलेमगरले लमजुङ र गोरखाको सिमानामा पर्ने चेपेघाटबाट ठाँटीपोखरी, छाप्थोक, बडडाँडा, साउनेपानी, बोहरा गाउँ, मैबल, दर्खेपानी राई गाउँ, बिजुले डाँडा हुँदै लिगलिगकोट दरबारसम्म दौडेर विजयी प्राप्त गरेका थिए ।