एमाले पुनः सत्तारुढ हुने तरखरमा

एमाले पुनः सत्तारुढ हुने तरखरमा


काठमाडौं । आउँदो चैतभरि सत्तारुढ भइसक्ने कसरतमा एमाले नेताहरू लागेका छन् । केही अघिसम्म निहाउरो देखिने नेताहरू अचेल प्रफुल्ल देखिन थालेका छन् । एमालेको उच्च सूत्रका अनुसार राप्रपाका नेता लोकेन्द्रबहादुर चन्दले आफ्ना १२ जना सांसदको समर्थन आफूसँग रहेको ग्यारेन्टी दिइसकेका छन् । तर, केही थोरै होमवर्क गर्न अझ बाँकी छ ।

त्यही होमवर्कका क्रममा केही दिनअघि एमालेका शक्तिशाली नेताहरूको विशेष बैठक राजधानीमा बस्यो । त्यही बैठकमा तय गरिएको रणनीतिअनुसार सैद्धान्तिक, व्यावहारिक र आन्तरिक सन्तुलनका गोटी चाल्न प्रारम्भ गरिएका थिए । उक्त बैठकको लगत्तै पछि माधव नेपालले एमालेको गणतन्त्रसम्बन्धी अवधारणा खण्डित भइसकेको बताउनुभएको थियो भने राप्रपासँग मिलेर सरकार बनाउन हुन्न भनेर संविधानमा नलेखिएको धारणा वामदेव गौतमले व्यक्त गर्नुभएको थियो ।

राप्रपालाई मन्त्री–सहायकमन्त्री मात्र होइन, प्रधानमन्त्री नै दिएर भए पनि यो सरकार ढाल्न एमाले चाहन्छ भन्ने सम्भावना बढेको महसुस गरिएको छ । काङ्ग्रेस सत्तामा रहिरहे प्रजातन्त्र मासिन सक्ने शङ्का एमाले नेताहरूमा छ र प्रजातन्त्र बचाउन उहाँहरू जोसँग पनि हातेमालो गर्न तयार हुनुहुन्छ । त्यसैले महाअधिवेशनको दस्तावेजमा प्रमुख शत्रुको पङ्क्तिमा राखिएको राप्रपालाई प्रमुख मित्रु बनाउन उहाँहरू पसिना बगाइरहनुभएको छ ।
रापालाई कर्णप्रिय लाग्ने कुराहरू गत हप्ता माधव नेपाल, वामदेव गौतम र खड्ग ओलीले सार्वजनिक गरेर ‘एक राउन्ड पसिना’ उहाँहरूले बगाइसक्नुभएको छ ।

खड्ग ओलीले यसक्रममा सबल तर्क अगाडि सार्नुभएको छ– ‘राजतन्त्र नभएका मुलुकका कम्युनिस्ट मात्र गणतन्त्रवादी हुन्छन् ।’ उहाँको भनाइ छ– पुँजीवादीहरू वास्तवमा राजावादी हुन् भने गणतन्त्र भएको देशमा राजसंस्था स्थापना गरेर देखाउँछन् । ओलीले सोध्नुभएको छ । कम्युनिस्टहरूले संसारमा कुन देशको राजसंस्थाको विनाश गरे ? स्पष्ट छ– ओलीका विचारहरू राष्ट्रिय प्रजातन्त्र पार्टीलाई विश्वास दिलाउने क्रममा व्यक्त भएका हुन् ।

एमालेको गणतन्त्रको नारालाई राप्रपाले गठबन्धनका लागि प्रमुख अवरोध भनेर बताएपछि नेताहरूले गणतन्त्रसम्बन्धी भनेर बताएपछि नेताहरू गणतन्त्रसम्बन्धी नयाँ धारणाहरू व्यक्त गरेको जानकारी एमालेको उक्त सूत्रले दिएको छ । सोही सूत्रका अनुसार राप्रपा–एमाले गठबन्धनका लागि दुवै पार्टीको आगामी बैठकबाट पारित गरेर कदम चाल्ने सहमति उक्त नेतृत्व तहमा भइसकेको छ । एमाले नेताहरूको यो प्रयास सफल भयो भने लोकेन्द्रबहादुर चन्दको नेतृत्वमा एमाले पनि सरकारमा बस्ने करिबकरिब निश्चितप्रायः रहेको जानकारी सोही सूत्रले दिएको छ ।

राप्रपासँग गठबन्धन गर्ने अभियानमा माधव नेपाल, वामदेव गौतम र खड्ग ओलीहरू लाग्नुभएको बेला अर्को प्रभावशाली नेता सीपी मैनाली पुनः घाँडो बन्न पुग्नुभएको छ । ऐनमौकामा असहयोगी बन्ने नेता भनेर बहुमत पक्षले ठान्दै आएका सीपीले ठीक यही बेला राप्रपासँग कुनै पनि परिस्थितिमा मिल्न नसकिने अडान पार्टीभित्र लिनुभएको छ । उहाँले सिद्धान्ततः सत्ता साट्न नसकिने कुरा स्पष्टसँग राख्नुभएको थाहा भएको छ ।

केही दिनअघि उहाँले राप्रपासँग गठबन्धन गरेर सत्तामा जान सकिने बहुमत पक्षका नेताहरूको धारणालाई उहाँहरूको व्यक्तिगत विचार हो भनी टिप्पणी गर्नुभएको थियो । जसरी हुन्छ राप्रपासँग मिल्ने चक्करमा लागेका बहुमत पक्षका नेताहरूलाई सीपी यसबेला एउटा सङ्कटको वस्तु बन्नुभएको छ । तर, एमालेको एक उच्च सूत्रले सीपीको मुखमा उपप्रधानमन्त्री पद ठोसिदिएर बुझो लगाइदिने जानकारी दिएको छ । उपप्रधानमन्त्री पद सीपीलाई दिएर बहुमत पक्षले एकै तीरमा २ सिकार गर्न चाहेको टिप्पणी अल्पमत पक्षका एक नेताले गरेका छन् । सीपी मात्र होइन, पार्टी अध्यक्ष मनमोहन अधिकारी पनि राप्रपासँगको गठबन्धनको कडा विरोधमा उभिनुभएको छ, तर अधिकारीको विरोधको भने बहुमत पक्षले कुनै वास्ता गरेको छैन ।

राप्रपाको राजनीति एमालेभित्र मात्र होइन यो गठबन्धनलाई व्यवहारमा उतार्ने राप्रपाभित्र पनि सहमति हुन सकेको छैन । चन्द पक्ष हतारिएको र थापा पक्ष आत्तिएको स्थिति अहिले राप्रपामा छ । संविधानलाई नै आलोचनात्मक समर्थन मात्र गर्ने एमालेसँग गठबन्धन गर्नु कुनै पनि दृष्टिबाट उचित नहुने तर्क राप्रपाभित्र बलियो रूपमा उभिएको छ । त्यति मात्र होइन काङ्ग्रेससँगको सहयात्राबाट कुन कारण देखाई हात झिक्ने र एमालेसँग फरक के औचित्यका लागि अङ्गालो मार्ने भन्ने प्रश्नको चित्तबुझ्दो तर्क राप्रपाका नेताहरूले भेट्टाउन सकेका छैनन् । राप्रपाको थापा खेमाले एमालेसँग कुनै पनि हालतमा मिल्न नसकिने अडान लिएको छ । अर्को खेमाले भने चन्दलाई प्रधानमन्त्री बनाउने हो भने जसरी पनि मिल्ने भन्ने नीति लिएको जानकारी एक सूत्रले दिएको छ ।
राप्रपाभित्रको यो विवादमा चन्द पक्षले जित्यो भने थापा पक्षको निश्चित रूपले पत्तासाफ हुने डरले थापा पक्ष एमालेसँग मिल्नु घातक हुने तर्क गरिरहेको छ । उता एमालेको नेतृत्व तह भने चन्द र उनको ग्यारेन्टी दिएको १२ जना जोडेर १०३ बनाउने अभियानमा लागिसकेको छ ।

यसैक्रममा एमालेले सम्पूर्ण रूपले चुस्त र अन्तिम तयारी गर्न केही दिनअघि आफ्ना सांसदहरूलाई राजधानी बोलाएको थियो । के कारणले राजधानी बोलाइएको हो भन्ने सुइँकोसम्म सांसदहरूलाई दिइएको थिएन, राजधानी आएपछि मात्रै जानकारी गराउने नेतृत्वको योजना थियो, तर राप्रपासँगको वार्ता उचित टुङ्गोमा नपुगेको, सीपी मैनालीरूपी समस्या समाधान भइनसकेको कारण सांसदहरूको स्तरमा छलफल गरिएन । थाहा भएअनुसार चाँडै नै मूलभूत समस्याहरू टुङ्ग्याएर एमालेले कदम चाल्नेछ । चैतभरिमा सत्तारुढ भइसक्ने एमालेको योजना सफलीभूत कसरी होला अहिल्यै भन्न सकिन्न । आगामी १३, १४ र १५ गते हुने एमाले केन्द्रीय समितिको बैठकले यससम्बन्धी कुराको अन्तिम टुङ्गो लगाउने विश्वास गरिएको छ ।

एमाले हाइकमान्डले सत्तारुढ राप्रपाको एउटा हिस्सालाई साथ लिएर राजनीति गर्न खोजेको सुइँको पाएपछि नेपाली काङ्ग्रेसको उच्च तहले पनि एमालेका नेता सीपी मैनालीसित संयुक्त सरकार बनाउन सकिने या नसकिने भन्ने विषयमा छलफल गरिरहेको बुझिएको छ । मैनाली वैचारिक रूपले राप्रपाभन्दा काङ्ग्रेसलाई जनआन्दोलनको सहयात्री भएकाले नजिकको मित्र शक्ति हो भन्ने ठान्नुहुन्छ । यो राजनीतिक गोटीचालमा कसको पल्ला भारी हुने हो त्यसको निम्ति केही समय प्रतीक्षा गर्नैपर्ने भएको छ ।

(२०५२ साल माघ १० गते बुधबार)