खेलकुदमा ‘तान्ने’ प्रवृत्ति हाबी भएपछि…

खेलकुदमा ‘तान्ने’ प्रवृत्ति हाबी भएपछि…


‘खुट्टा तान्ने’ शब्द निकै प्रचलनमा छ नेपाली बोलीचालीमा । कसैले कसैको विरोध या असहयोग गरेको सन्दर्भलाई ‘खुट्टा तान्ने प्रवृत्ति’ विशेषण लगाएर पनि बुझ्ने गरिन्छ । तर, आफ्ना कर्मचारीबाट पाएको सास्तीको बयान गर्न राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टका लागि उक्त शब्द पर्याप्त भएन, उनी भन्छन्, ‘खेलकुदमा त खुट्टा मात्र नभई सुरुवाल नै तान्ने प्रवृत्ति हाबी भएको छ ।’

आखिर सुरुवाल नै तान्ने कस्तो प्रवृत्ति पैदा भएछ त खेलकुदमा ? आफ्नो दुईवर्षे कार्यकाल योजनाबद्ध तरिकाले अघि बढे पनि राजनीतिक शक्तिको आडमा खुट्टा तान्नेहरूको जमातले सुरुवालै फुस्काउने कसरत गरेको भन्दै उनले दुःखेसो प्रकट गरेका हुन् । आफ्नै पार्टी नेकपा एमालेका केही व्यक्ति आफ्नो सुरुवाल फुस्काउन लागिपरेको खुलासा गर्दै सदस्यसचिव विष्टले दुस्मन खोज्न अन्यत्र जानुपर्दैन भन्ने उक्तिलाई चरितार्थ पारे ।

‘मेरो नियुक्ति राजनीतिक हो, यो कुरा सबैलाई थाहा छ । मैले खेलकुदमा कसैमाथि प्रतिसोध साध्ने कार्य गरेको छैन । पार्टीको कार्यकर्ता नभई खेलकुदकै सदस्यसचिव भएर कार्य गरेको छु । कसैमाथि भेदभाव गरेको छैन, तर मैमाथि विभिन्न षड्यन्त्र भइरहेको छ,’ सदस्यसचिव विष्टले भने, ‘र पनि, औँलो दिँदा डुँडुलो निल्ने दुस्प्रयास खेलकुदमा भइरहेको छ, जसको सामना गरिरहेको छु, जति सहयोग गरे पनि चित्त बुझाउन गाह्रो भइरहेको छ, यो खेलकुदका लागि राम्रो सङ्केत होइन ।’

लाउके प्रवृत्तिका पात्रहरूले अनावश्यक रूपमा मन्त्रीको चाकडी गर्दै कान फुक्ने गर्दा आफूले सास्ती पाएको सङ्केत गर्दै विष्टले भने, ‘ती व्यक्तिले मन्त्रीज्यूलाई जसरी कान फुके पनि उहाँ र मबीचको सम्बन्ध निकै सुमधुर छ । मलाई त भन्न पनि लाज लाग्छ, हाँसो उठेर आउँछ, कान फुक्नेले मेरा कमी–कमजोरीका बारेमा भन्दा पनि आफ्नो दुनो मात्र सोझ्याउने कार्य गरेको देख्दा । मैले यस्तो कुरा पनि सुन्नुप¥यो जसको म कल्पनासमेत गर्न सक्तिनँ ।’
‘सदस्यसचिवका त थुप्रै गर्लफ्रेन्ड छन्’ भन्ने चुक्ली लगाउनेसमेत खेलकुदभित्रै रहेछन् । जबमन्त्रीज्यूसँग यस्ता कुरा लगाएको मैले थाहा पाएँ, रिसभन्दा पनि निकै हाँसो उठ्यो र उनीहरूको निच मानसिकता दुःख लाग्यो । दया जाग्यो उनीहरूको पदलोलुपता देखेर । खेलकुद क्षेत्रको गुणात्मक प्रगति भइरहेको अवस्थामा सम्बन्ध बिगार्ने उद्देश्यले यस्तो कार्य गरिनु राम्रो होइन ।’ यसरी खुलेका विष्टले पहिलेको भन्दा अहिले यस्ता प्रवृत्तिमा न्यूनीकरण आएको पनि स्वीकार गरे ।

‘सरकार परिवर्तनसँगै आकाङ्क्षीहरूको चलखेल बढ्नु स्वाभाविकै हो । तर, व्यक्तिगत स्वार्थ पूरा गर्न अरूको चरित्रहत्या गर्न कदापि मिल्दैनथ्यो, मन्त्रीज्यूको कान फुक्नेले चाहिँ यस्तै हर्कत गरेछन् । जसले खुद मन्त्रीज्यूलाई समेत लज्जाबोध भएछ । मन्त्रालयमा भेट्न जान्छन्, खुला रूपमा कुरा गर्दैनन्, गोप्यमा कुरा गर्ने भन्छन्, गोप्यमा कुरा गर्दा अरूको कुरा काट्ने र केही माग्नेबाहेक केही गर्दैनन् । उनीहरूको यस्तोे व्यवहारका कारण मन्त्रीज्यू पनि आजित भएको मेरो जानकारीमा आएको छ,’ विष्टले खुलासा गरे ।

अझ अघि बढेर सदस्यसचिव विष्टले भने, ‘खेलकुदमा छ्वास्स केही भयो कि अदालत र अख्तियार धाउनेहरू अहिले शिथिल भएका छन् । यसको अर्थ अहिले खेलकुदमा राम्रो काम भएको छ । यो कुुराको पुष्टि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत गरेको छ । पहिले हप्तामा १० देखि १५ वटासम्म खेलकुदका उजुरी पर्थे, अहिले यसमा कमी आएको छ । कारण जे पनि हुन सक्छ, तर मचाहिँ यसलाई खेलकुदमा राम्रो काम भएकाले भएको भन्छु । साथै दाबी पनि गर्छु, अबको एक वर्षमा यस्ता सबैको बोली बन्द हुनेगरी कार्य गर्छु । राजनीतिले खेलकुदलाई कसरी गाँजेको छ, त्यो दशैँताका विभिन्न मन्त्रालयबाट गरिने पत्राचारबाट पनि सोझै अनुमान लगाउन सकिन्छ । पत्रमा लेखिएको हुन्छ– ‘फलानो प्रतियोगिताका लागि एक हजार थान भलिबल, दुई सय थान नेट, एक सय थान फुटबल उपलब्ध गराई सहयोग गरिदिनुहोला । वास्तविकता त्यस्तो हुँदैन, यो केवल राजनीति गर्न र भोट बैंक बढाउने उद्देश्यबाट प्रेरित हुन्छ । मेरो कार्यकालमा सबै राजनीतिक दलका नेताले खेलकुदलाई प्रयोग गर्न खोजेका छन् । तर, मैले नियमसङ्गत कति दिन मिल्छ त्यति नै सहयोग गर्ने गरेको छु । खेलकुदमा राजनीति हाबी हुन दिएको छैन ।’