ओलम्पिक कमिटीको गाडी एमालेको प्रचारमा

ओलम्पिक कमिटीको गाडी एमालेको प्रचारमा


– श्रीविक्रम भण्डारी

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले आफ्नो कार्यालय (एनओसी)को गाडी चुनाव प्रचारमा प्रयोग गरी दुरुपयोग गरेका छन् । एनओसीको बैठकमा अफिस प्रयोगको लागि गाडी खरिद गर्ने निर्णय गरे पनि श्रेष्ठले उक्त गाडी व्यक्तिगत रुपमा प्रयोग गरी दुरुपयोग गर्दै आएको विषयमा शुरुदेखि नै आलोचना हुँदै आएको थियो । त्यसमाथि प्रतिनिधिसभाको लागि एमालेका उम्मेदवार रहेका जीवनरामले चुनाव प्रचारमा एनओसीको गाडी नै प्रयोग गरेपछि बाहिर यसको आलोचना भए पनि एनओसीका कर्मचारीहरूले चुइँक्क सम्म पनि विरोध गर्न नसकेको कुरा यतिबेला उदेकको विषय बन्न पुगेको छ ।

एनओसीका पदाधिकारी र खेलाडीहरुको सुविधाको लागि खरिद गरिएको गाडी (बा १५ च ५६०४) अहिले श्रेष्ठले एकलौटी रुपमा भोगचलन गर्दै आएका छन् । यतिले मात्रै नपुगि उक्त गाडी श्रीमतीलाई कार्यालय छोड्ने र ल्याउनदेखि छोराछोरीलाई स्कुल छोड्ने र ल्याउने कार्यमा प्रयोग भैरहेको जानकारी प्राप्त भएको छ ।

श्रेष्ठले एनओसीको गाडी घरप्रयोगका लागि पनि उपभोग गर्न थालेपछि असैह्य भएर सो गाडीका चालकले राजीनामा नै दिएका थिए । राजीनामा दिँदा चालकले हाई ब्लडप्रेसर र घरायसी कारण देखाएका थिए, तर वास्तविकता भने बेग्लै थियो । विश्वस्त श्रोतका अनुसार जीवनरामकी श्रीमतीको ज्यादतिपूर्ण खटनपटन सहन गर्न नसकेपछि चालकले राजीनामा दिएका थिए ।

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी)ले कार्यालय सञ्चालन र विभिन्न खेलकुदको विकासको लागि प्रत्येक बर्ष हजारौं डलर नेपाल ओलम्पिक कमिटीलाई आर्थिक सहयोग प्रदान गर्दै आएको छ । नेपालमा महाभुकम्प गएपछि भूकम्पपीडित खेलाडी, सञ्चारकर्मीहरूका सहयोगको लागि पनि आईओसीले एनओसीमा हजारौंँ डलर उपलब्ध गराएको थियो । भूकम्पपीडितका नाममा केही रकम खर्च गरे पनि बाँकी रकम विभिन्न बैंकका खातामा सार्दै आर्थिक हिनामिना गरेको एनओसी स्रोतले बताएको छ ।

जीवनराम श्रेष्ठले आईओसीबाट प्राप्त सहयोगको दुरुपयोग गर्दै आफूलाई सुविधासम्पन्न महेन्द्राको एक्सक्युभी जीप किन्न सफल भएका थिए । त्यतिवेला उक्त गाडीको मूल्य ६० देखि ७० लाख पथ्र्यो । श्रेष्ठले एनओसीको बैठकमा पदाधिकारीहरूलाई झुक्याएर म्याइन्युट गराएर गाडी किनेका थिए ।

स्मरण रहोस्, आइओसीबाट प्राप्त सहयोग व्यक्तिगत भोगचलन गर्न पाइँदैन, त्यो ओलम्पिक चार्टरमा स्पष्टसँग लेखिएको छ । तर श्रेष्ठले आइओसीको रकमको दुरुपयोग गर्दै उक्त गाडीलाई व्यक्तिगत रूपमा मात्र प्रयोग नगरी वर्तमान चुनावी अभियानमा पनि प्रयोग गर्दै आएका छन् । साथै श्रेष्ठले एनओसीका कर्मचारी र राखेपका कर्मचारीलाई आफ्नो चुनावको प्रचारप्रसारमा लगाएर खेलकुदको हुर्मत लिने कार्यसमेत गरेका छन् ।