धनगढीमा अन्तर्राष्ट्रिय कराते : ७ सय ५० जना खेलाडीले प्रतिस्पर्धा गर्ने

धनगढीमा अन्तर्राष्ट्रिय कराते : ७ सय ५० जना खेलाडीले प्रतिस्पर्धा गर्ने


सुदूरपश्चिमाञ्चलको धनगढीमा आठौं अन्तराष्ट्रिय कराते प्रतियोगिता हुने भएको छ । प्रतियोगिता पौष १२ देखि १४ गते सम्म संचालन हुनेछ । नेपाल गोजुरियो कराते डो युजेनकाई संघको आयोजनामा हुने प्रतियोगितामा नेपाल सहित भारत, भुटान, बंगलादेश, श्रीलङका र पाकिस्तानका गरि करिव ७ सय ५० खेलाडीहरुले प्रतिस्पर्धा गर्ने आयोजकले पत्रकार सम्मेलनमा जानकारी गराएका छन ।

तीन विभागिय टोली नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीबल तथा पाँच विकास क्षेत्रका खेलाडीहरुको सहभागिता रहने छ । प्रतियोगितामा हालै सम्पन्न ५० औं राष्ट्रिय कराते प्रतियोगितालाई खेलाडी छनोटको आधार लिईएको संघका महासचिव प्रकाश कुमार चन्दले जानकारी गराए । जसमा आयोजक सुदूरपश्चिमाञ्चलको दुई टिमले सहभागिता जनाउने छ ।

४२ स्वर्ण पदकका लागि हुने प्रतियोगितामा उमेर समूह अन्तर्गत ७ बर्ष देखि १८ बर्ष उमेर सम्मका र तौल समूहमा ४५ केजी माथीको अन्तराष्ट्रिय नियमानुसारको तौलमा प्रतिस्पर्धा गराईने आयोजकले जानकारी गराए । २३ लाख ५० हजारको बजेट रहेको प्रतियोगितामा टिम कुमुते तर्फ पहिलो, दोश्रो र तेश्रो हुनेले क्रमशः ५१ हजार, ३१ हजार र २१ हजार नगद प्राप्त गर्नेछन् । अन्य विजयी खेलाडी तथा टिमले ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने सचिव चन्दले बताए ।

स्वस्थ, निश्पक्ष र विवाद रहित तवरले प्रतियोगितालाई सम्पन्न गर्नका लागि एशियन कराते महासंघबाट मान्यता प्राप्त निर्णायकहरुको उपस्थितिमा प्रतियोगिता संचालन गरिने भएको छ ।

करातेको सफलताको लागि शुभकामना व्यक्त गर्दै संघका सल्लाहकार अतिरिक्त प्रहरी महानिरीक्षक जय बहादुर चन्दले लागु औषधको कुलत तथा गलत बाटोबाट देशका युवाहरुलाई जोगाउने खेलकुद उत्कृष्ट माध्यम भएको भन्दै खेलकुदको विभिन्न विधाको विकास हुनु जरुरी रहेको बताए ।