राष्ट्रिय च्याम्पियनसिप धरापमा : स्थगित गर्न खेलकुद मन्त्रालयबाट राखेपलाई पत्राचार

राष्ट्रिय च्याम्पियनसिप धरापमा : स्थगित गर्न खेलकुद मन्त्रालयबाट राखेपलाई पत्राचार


– श्रीविक्रम भण्डारी

युवा तथा खेलकुद मन्त्रालयले ‘राष्ट्रिय च्याम्पियनसिप’ स्थगित गर्न राष्ट्रिय खेलकुद परिषद्लाई पत्राचार गरेपछि यतिबेला राष्ट्रिय च्याम्पियनसिप धरापमा परेको छ । नेपालीहरूको महान् चाड विजयादशमी र तिहार सकिएलगत्तै राखेपले राष्ट्रिय च्याम्पियनसिपको आयोजना गर्ने निर्णय गरेको थियो । कात्तिक १५ गतेदेखि सञ्चालन हुन लागेको राष्ट्रिय च्याम्पियनसिपमा एक्कासि खेलकुद मन्त्रालयले रोक लगाएपछि अहिले उक्त प्रतियोगिताको आयोजनामाथि प्रश्नचिह्न खडा भएको छ । मन्त्रालयले राखेपले तोकेको मिति अर्थात् कात्तिक १५ गते नगर्नू र सारणी गर्नु भने पनि यो मितिमा गर्नु भनेर निर्देशन दिएको छैन । यसपछि राखेपले राष्ट्रिय च्याम्पियनसिपको मिति सारणी गर्दै मङ्सिर २८ गतेलाई तोकेको छ । राखेपका अनुसार अब राष्ट्रिय च्याम्पियनसिप मङ्सिर २८ गतेदेखि शुभारम्भ हुनेछ ।
प्राप्त जानकारीअनुसार राखेपले आफूखुसी राष्ट्रिय च्याम्पियनसिपको आयोजना गर्न लागेको हुँदा खेलकुद मन्त्रालयले रोक लगाएको बुझिन आएको छ । राखेपका अध्यक्ष तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीलाई प्रतियोगिताबारे कुनै जानकारी र छलफल नगरी राखेप च्याम्पियनसिप गर्न लागेको हुँदा यस्तो स्थितिको सिर्जना भएको मन्त्रालय स्रोतले जनाएको छ । मन्त्रालयका अनुसार यसअघि पनि यस्तै प्रतियोगिता ‘लुम्बिनी च्याम्पियनसिप’ आयोजना भइसकेको र उक्त प्रतियोगितालाई निरन्तरता दिनुको साटो किन राष्ट्रिय च्याम्पियनसिप गर्न खोजियो त्यसबारे पनि राखेपसँग स्पष्ट जानकारी मागिएको थाहा भएको छ । मन्त्रालयले नाममै आपत्ति प्रकट गरेको स्रोतले जानकारी गराएको छ ।

निर्धारित समयमा अर्थात् तोकिएको समयमा राष्ट्रिय प्रतियोगिताको आयोजना हुन नसक्दा पूर्वसदस्यसचिव युवराज लामाका पालामा राखेपले राष्ट्रिय प्रतियोगिताको खड्किएको अभावलाई टार्न ‘लुम्बिनी च्याम्पियनसिप’को आयोजना गरेको थियो । उक्त प्रतियोगिता नेपालका प्रमुख सहरमा आयोजना गरिएको थियो । त्यसको केही वर्षपछि सुदूरपश्चिमाञ्चलमा छैटौँ राष्ट्रिय प्रतियोगिताको आयोजना भएको थियो । यतिबेला मध्यपश्चिमाञ्चलमा आयोजना हुन लागेका आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता तोकिएको समयमा हुन नसकी केही समय पछि धकेलिएको हुँदा राखेपले राष्ट्रिय च्याम्पियनसिप गर्ने निर्णय निर्णय थियो । तर, राखेपले लुम्बिनी च्याम्पियनसिपलाई किन निरन्तरता दिएन त्यो रहस्यमय बनेको छ । राखेप स्रोतका अनुसार राखेपले आयोजना गर्ने भएकाले ‘राखेप च्याम्पियनसिप’ राखिएको बुझिनमा आए पनि साँचो कुरो के हो ? त्यो रहस्यकै विषय बनेको छ । राखेपको यो निर्णयले लुम्बिनी च्याम्पियनसिप कोमामा पुगेको छ । जुन भविष्यमा नेपाली खेलकुदको इतिहास पल्टाउँदा एकादेशको कथामा भेटिने प्रायः निश्चित भएको छ ।

यतिबेला प्रतिनिधिसभाको निर्वाचनपछि अर्थात् मङ्सिर २८ गतेदेखि राष्ट्रिय च्याम्पियनसिपको आयोजना गरिने राखेपले जानकारी गराएको छ । तर, उक्त समयमा यो च्याम्पियनसिप हुन्छ या हुँदैन ठोकुवा गर्ने अवस्था छैन । नेपालको तरल राजनीति यसको बाधक नबन्ला भन्न सकिँदैन । र पनि राष्ट्रिय च्याम्पियनसिपको नाममा केही प्रतियोगिता सम्पन्न भएको अवस्था छ । हालै करातेले यही नामबाट प्रतियोगिता सञ्चालन गरेर २३ जना राष्ट्रिय खेलाडीको छनोट गरेको छ । अन्य खेलकुदका सङ्घहरूले पनि यसै च्याम्पियनसिपलाई मध्यनजर गर्दै आफ्ना खेलाडीलाई प्रशिक्षण दिइरहेका छन् । यस्तो अवस्थामा राष्ट्रिय च्याम्पियनसिप सबैको च्याम्पियनसिप बन्नुपर्ने देखिएको छ । अन्यथा मन्त्रालय र राखेपबीचको खिचातानी र तनावमा खेलाडी पिल्सिने कुरोमा दुईमत छैन । तसर्थ व्यक्तिगत स्वार्थभन्दा माथि उठेर दुवै संस्थाले खेलकुदलाई स्वार्थ बनाए भने राष्ट्रिय च्याम्पियनसिप सफलतापूर्वक सम्पन्न हुने देखिन्छ । जुन समग्र खेलकुदको कोसेढुङ्गा पनि साबित हुनेछ ।

नेपालमा आयोजना गर्ने जिम्मेवारी पाएको १३औँ दक्षिण एसियाली खेलकुद (साग) र इन्डोनेसियाको जकार्तामा हुने १८औँ एसियाली खेलकुद प्रतियोगिता मध्यनजर गर्दै राष्ट्रिय खेलकुद परिषद्ले ‘राखेप च्याम्पियनसिप’को आयोजना गर्ने निर्णय गरेको थियो । राखेप च्याम्पियनसिपको सञ्चालन तथा व्यवस्थापन समितिको संयोजकसमेत रहेका राखेपका सदस्यसचिव केशवकुमार विष्टको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको थियो । २०७४ कात्तिक १५ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको राखेपले पहिलोपटक आफ्नै नामबाट च्याम्पियनसिप आयोजना गर्न लागेको थियो । जसको नाम ‘राखेप च्याम्पियनसिप’ राखेको थियो ।

त्यस्तै राखेप च्याम्पियनसिपमा २७ खेल समावेश गर्ने बैठकले निर्णयसमेत गरेको थियो । ती २७ खेलमा कराते, तेक्वान्दो, एथलेटिक्स, कबड्डी, ब्याडमिन्टन, बास्केटबल, भारोत्तोलन, हक्की, फेन्सिङ, गल्फ, पौडी, आर्चरी, सेपाकताक्रो, लनटेनिस, साइक्लिङ, ट्रायाथलन, सुटिङ, कुस्ती, जुडो, खोखो, स्क्वास, उसु टेबुलटेनिस, ह्यान्डबल, फुटबल र भलिबल रहेका थिए । साथै उक्त बैठकले राखेप च्याम्पियनसिपको मस्कट ‘मयुर’लाई राख्ने निर्णयसमेत गरेको थियो । साथै प्रतियोगिता सञ्चालन गर्न राष्ट्रिय सङ्घहरूलाई बजेट उपलब्ध गराउने निर्णय गर्दै प्रतियोगिता आयोजना गर्न अनुमानित ४ करोड ३१ लाख खर्च हुने जानकारी गराएको थियो ।

राष्ट्रिय च्याम्पियनसिप सफलताका साथ सम्पन्न गर्न बजेटको बाँडफाँड तथा आर्थिक व्यवस्थापन, सङ्घ समन्वय, प्रचारप्रसार, खेल सामग्री तथा पोसाक व्यवस्थापन, अनुगमन तथा निरीक्षण, प्राविधिक समन्वय र समारोह गरी विभिन्न ७ उपसमितिसमेत गठन गरेको थियो । करिब २ हजार ५ सय खेलाडीले सहभागिता जनाउने प्रतियोगिताबाट राष्ट्रिय टिमको छनोट गरिने जानकारी गराएको थियो । साथै प्रतियोगिता १५ दिनसम्म चल्ने भन्दै कात्तिक १५ गतेदेखि शुभारम्भ भई कात्तिक मसान्तसम्म सकिने जानकारी गराएको थियो ।

कुरा जे भए पनि राष्ट्रिय च्याम्पियनसिप व्यक्तिगत च्याम्पियनसिप होइन, यो समग्र खेलकुदको विकासका लागि आयोजना गरिएको च्याम्पियनसिप हो । यो च्याम्पियनसिपमा अन्तर्राष्ट्रियस्तरमा पदक जित्ने सम्भावना भएका २७ खेल समावेश गराइएको छ । जसको प्रतिनिधित्व नेपालका खेलाडीले गरिरहेका छन् । यो कुरो मन्त्रालय र राखेपका पदाधिकारीले राम्रोसँग बुझ्नुपर्छ । शक्तिको आडमा खेलाडीको जीवनमाथि कसैले खेलवाड गर्न पाइँदैन, चाहे त्यो मन्त्रालय होस् या परिषद् । राष्ट्रिय च्याम्पियनसिपको सञ्चालन गर्ने क्रममा राखेपले खेलकुद मन्त्रालयसँग छलफल गरेको भए राम्रो अर्थात् सुनमा सुगन्ध हुन्थ्यो, यसर्थमा कि आखिर माउ संस्था भनेको खेलकुद मन्त्रालय हो । यसमा राखेप चुकेको छ । यसको मतलब प्रतियोगितामाथि नै रोक लगाउने कार्य मन्त्रालयले गर्नु कति उचित हुन्छ त्यो सोचनीय कुरा बनेको छ ।

यो विषयमा राखेपका सदस्यसचिव केशवकुमार विष्टसँग सम्पर्क गर्दा उनले कात्तिक १५ गते शुभारम्भ हुने भनिएको राष्ट्रिय प्रतियोगिता मन्त्रालयले स्थगित गर्नु भनेकाले स्थगित गरिएको जानकारी गराएका थिए । साथै विष्टले आगामी मङ्सिर २८ गतेदेखि प्रतियोगिता सुचारु रूपमा सञ्चालन हुने पनि बताए । यतिबेला मुलुक निर्वाचनमा होमिएको अवस्थामा प्रतियोगिता हुन नसकेको खुलासा गर्दै प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचनपछि प्रतियोगिताले निरन्तरता पाउने प्रस्ट पारेका थिए ।