साम्यवाद, राष्ट्रवाद र अवसरवाद

साम्यवाद, राष्ट्रवाद र अवसरवाद


– बद्रीनरसिंह केसी

यतिबेला ‘वाम गठबन्धन’ भनिने दुई कम्युनिस्ट पार्टीहरू आफ्नो सिद्धान्त र मान्यताअनुरूप ‘सर्वहारा अन्तर्राष्ट्रवाद’ वा ‘कम्युनिस्ट अन्तर्राष्ट्रिय भाइचारा’को नभई पञ्चायती शासनको ओथारोमा हुर्केको ‘राष्ट्रवाद’को नारा लगाइरहेका छन् । तर, माक्र्सवाद–लेनिनवाद र माओवादको घोलबाट नयाँ कम्युनिस्ट पार्टीको रूप लिन लागेको उक्त गठबन्धन, विगतमा आफ्नै लक्ष्य, पक्ष र नाराका अगाडि पराजित भएपछि पञ्चायतले रचना गरेको/सङ्गीत भरेको राष्ट्रवादको गीत गाउन थालेका हुन् । कम्युनिस्टहरूले राष्ट्रवादको नारा लगाएको सुन्दा यस्तो लाग्छ, जामे मस्जिदका मौलानाहरू पशुपतिनाथको पूजा र ‘शिव ताण्डवस्तोत्र’ पाठ गर्दै छन् । ‘स्युडो नेसनलिज्म’ (नक्कली राष्ट्रवाद) यही हो ।

१–२ वर्षअघि आफ्ना एक विश्वासपात्र नेता लगाएर संविधानसभाका पचासजना सभासद्लाई एक–एक करोड रुपैयाँका दरले किन्न चीनसँग पचास करोड रुपैयाँ माग्ने प्रचण्ड यतिबेला राष्ट्रवाद नीलवर्ण स्यालको झाँकीमा छन् । महाकाली सन्धि गरेको बेला एमालेभित्रैबाट वामदेव पक्षबाट ‘राष्ट्रघाती सन्धि गर्ने नेपाली लेण्डुप दोर्जे केपी ओली र उनको मतियार गुट’ भनी एमालेकै संसदीय दलको कार्यालय परिसरमा लागेका मुर्दावादका नारा सुनिजान्नेले बिर्सिहालेका छैनन् । त्यसै वर्ष यही आरोप–प्रत्यारोपको अचानोमा एमाले माथिदेखि तलसम्म दुई फ्याक भएर फुटेपछि टँुडिखेलको विशाल आमसभामा एमालेले नेपालका तीन सय महाभ्रष्टको सूची घोषणा गर्दै पहिलो नम्बरमा एमाले उपाध्यक्ष वामदेव गौतमलाई औँल्याएर घोषणा गरेको पनि बिर्सने कुरा भएन । यिनै ‘नेपाली लेण्डुप दोर्जे’ र ‘नेपालको पहिलो नम्बरको महाभ्रष्ट’ले गत दसैँ बिदाको मौका छोपेर आफ्नै पार्टीका धेरैजसो नेतालाई पनि पछि मात्र थाहा दिई खडा गरेको गठबन्धन ‘राष्ट्रवाद’को रागमा मग्न भएझैँ छ ।

वास्तवमा सच्चा कम्युनिस्ट राष्ट्रवादी हुँदैन, ऊ सर्वहारा अन्तर्राष्ट्रवादको पक्षधर हुन्छ । वाम गठबन्धन पार्टीसँग झुन्ड्याइएको पुच्छरे–नाम, माक्र्सवाद–लेनिनवाद र माओवादप्रति साँच्चै नै निष्ठावान भएको हो भने निजी सम्पत्ति र स्वामित्वको मात्र होइन परिवार–प्रथाको पनि विरोधी हुनुपर्छ । नेपाली काङ्ग्रेसका सभापतिहरूमध्ये सुवर्णशमशेरले पैत्रिक सम्पत्तिबाट पाएको राजधानीको महल (ललिता निवास) र सभापति शेरबहादुर देउवाले बाहेक बीपी कोइराला, कृष्णप्रसाद भट्टराई, सुशील कोइराला कुनै सभापतिले पनि राजधानीमा एउटा घर पनि नजोडी जानुभयो । तर, जगजाहेर छ, एमाले र माओवादी नेताहरूका राजधानीमा आलिसान हवेली, उद्योग, व्यापार, स्कुल, कलेज, अस्पतालहरूमा करोडौँको सेयर छन्, उनीहरू महँगा र विलासी गाडीमा सवार हुने गर्छन् । बिमारी हुँदा बैंकक र सिङ्गापुरका पाँचतारे अस्पतालमा सहजै उपचार गराउँछन् । निर्लज्जता वाम गठबन्धनको साझा चरित्र भएको छ ।

वास्तवमा सच्चा कम्युनिस्ट राष्ट्रवादी हुँदैन, ऊ सर्वहारा अन्तर्राष्ट्रवादको पक्षधर हुन्छ । वाम गठबन्धन पार्टीसँग झुन्ड्याइएको पुच्छरे–नाम, माक्र्सवाद–लेनिनवाद र माओवादप्रति साँच्चै नै निष्ठावान भएको हो भने निजी सम्पत्ति र स्वामित्वको मात्र होइन परिवार–प्रथाको पनि विरोधी हुनुपर्छ । यो गठबन्धन निर्वाचनसम्म कायम रहनेछ, त्यसपछि न गठबन्धन न त राष्ट्रवादको नारा ।

माक्र्सवादबाट भ्रमभङ्ग भएका पूर्ववामपन्थी, चर्चित समाजशास्त्री चैतन्य मिश्र लेख्छन्, ‘…अहिले सम्झँदा लाग्छ, जीवनको एउटा कालखण्डमा अत्यन्तै सोभियताइज्ड् र माओवाइज्ड माक्र्सवाद पढिएछ । लेनिन र माओका आँखाबाट पढिएछ । तर माक्र्सकै आँखाबाट कम पढिएछ ।… त्यसपछि सोभियत कम्युनिस्ट पार्टीका, चीनको कम्युनिस्ट पार्टीका अनि यहाँका कम्युनिस्ट पार्टीका साहित्य पढियो । त्यो अध्ययन यस्तो विकृत ढाँचामा गरिएछ, नभएको माक्र्सवाद पढिएछ, दुई नम्बरी माक्र्सवाद पढिएछ । एउटा खेद यो लाग्छ ।…

जिन्दगीभरि माक्र्सवाद पढेको परिचय बनाएका माक्र्सवादी विद्वान्कै आज यस्तो भ्रम र धोकाबोधको मनोदशा र निष्कर्ष छ भने वाम गठबन्धनका नेताहरू कति नै सच्चा कम्युनिस्ट होलान् ? समाजवाद ल्याउने भन्दै वाम गठबन्धन मयुर नाच देखाइरहेको छ । यिनका पछाडि लाग्ने कार्यकर्ता र मतदाताहरू फेरि थाङ्नामा सुताइने भए । ‘नौलो जनवाद ल्याउने’ नाममा दश वर्षसम्म हत्या, हिंसा, विध्वंस र लुट मच्चाएको माओवादी १८ हजार नेपालीको ज्यान लिएपछि आज अनैतिक साँठगाँठका निर्लज्ज खेल चलाइरहेको छ । कागले आफ्नै नाम काढेको शैलीमा एमाले अध्यक्ष केपी ओली ‘यो चुनाव लुटतन्त्र र समाजवादका बीच हुँदै छ’ भन्दै छन् ।

वास्तवमा वाम गठबन्धन कुनै प्रतिबद्धताका लागि भएको होइन, सत्ताका लागि तात्कालिक स्वार्थपूर्तिको अवसरवादी र धोकापूर्ण हत्कण्डा हो । यो वास्तविकता सारा सचेत जनतालाई थाहा छ । यो कम्युनिस्ट शासन वा कम्युनिस्ट सङ्गठन विस्तारको युग पनि होइन, प्रजातन्त्रको युग हो । अनेक तिकडम रचेर र चुनावी घोषणापत्रमा असम्भव र हास्यास्पद कार्यक्रम राखेर न समाजवाद आउँछ, न साम्यवादमा पुगिन्छ । वाम गठबन्धन अवसरवादी चरित्र र सत्ताको भोकको झाँकी हो ।

यतिबेला राष्ट्रवाद वाम गठबन्धनको भोट माग्ने भाँडो भएको छ । माग्नेलाई कसैले पनि भाँडो हेरेर भिक्षा दिँदैन, मान्छे हेरेर मात्र कति भिक्षा दिने भन्ने निश्चय गर्दछ । गठबन्धनले एमाले र माओवादीको लोकतन्त्रउपरको निष्ठा जाँचेको छ ।

वाम गठबन्धनसँगै अनेकौँ तिलश्मी घटनाक्रम सतहमा प्रकट भइरहेका छन् । एमालेको चुम्बकीय आकर्षणमा माओवादीसँग पार्टी एकीकरण गर्न लागेको भनिन्छ, तर एमालेको माओवादीकरण भएको अर्थले सहर–बजार पिटेको छ । एमालेलाई लोकतान्त्रिक विकल्प शक्तिका रूपमा हेर्ने गरिन्थ्यो, तर यो गठबन्धनले उसलाई लोकतन्त्रकै विकल्पको मतियार बनाएको छ । माओवादी नाफामा छ, एमाले घाटामा छ । यो गठबन्धन निर्वाचनसम्म कायम रहनेछ, त्यसपछि न गठबन्धन न त राष्ट्रवादको नारा । छद्मभेष खोज्नेहरूलाई राष्ट्रवादी हुन कुनै गाह्रो छैन, तर त्यसैमा टिक्नु निकै गाह्रो आचरण हो । अवसरअनुसार मुखुण्डो भिर्ने आदत भएका कम्युनिस्टहरू राष्ट्रवादको मुखुण्डो लगाइरहेका छन् । तर, जतिसुकै राम्रो मुखुण्डो होस् त्यो सधैँ मान्छेका अनुहारमा टिक्न सक्दैन, बेनकाव हुन्छ–हुन्छ ।

[email protected]