‘मकाउको आतिथ्य र माया अविष्मणीय’

‘मकाउको आतिथ्य र माया अविष्मणीय’


आफ्नो परिवारको उज्ज्वल भविष्यका लागि बिरानो देशमा पसिना बगाइरहेका नेपालीले खेलाडीप्रति जुन सद्भाव, आतिथ्य र माया देखाए त्यो कुनै सपनाभन्दा कम थिएन । नेपाली खेलाडी मकाउमा खेल्न आउने सुइँको पाउना साथ उनीहरू आफ्नो कर्तव्य र जिम्मेवारीमा समेत हेरफेर गर्दै नेपाली टिमको स्वागतमा एयरपोर्ट पुगेका थिए । जुन बिरानो देशमा नेपाली टोलीका लागि सञ्जीवनी बुटीभन्दा कम थिएन ।

आर्थिक सङ्कटले गाँजेको र खानेबस्नेको अत्तोपत्तो नभएको अवस्थामा मकाउमा कार्यरत नेपालीको उपस्थितिले नेपाली टोलीले राहतको श्वास फेरेको थियो । यस्तोमा अझ कहाँ बस्ने, व्यवस्था मिलाउनु भएको छ, छैन भने दुःखसुख गरेर मिलेर बसौँला भन्ने उनीहरूको वाक्यले नेपाली टोलीलाई मकाउमा नभई नेपालमै भएको महसुस गराएको थियो । नेपालीको त्यो आत्मीयता साँच्चिकै प्रशंसनीय र सेल्युट गर्न लायक थियो ।

एयरपोर्टबाट नेपाली टोलीको लगेज गुडाउँदै, खेल आयोजना हुने कभर्डहलसम्म पुगेका ती नेपालीले खाने–बस्नेको टुङ्गो नलागुन्जेलसम्म नेपाली टोलीको साथ छोडेका थिएनन् । परिणाम, सबैको सहमतिमा तीन ग्रुपमा बाँडेर मकाउमा बस्ने नेपालीले नेपाली टोलीको व्यवस्था गरेका थिए । त्यसमा प्रशिक्षक, पत्रकार र दुई अफिसियल गरी चारजनाको जिम्मेवारी रमेशजंग थापा (काजी) ले उठाए । त्यस्तै दुईजना महिला खेलाडी र दुईजना अफिसियल गरी चारजनालाई धमलादम्पती शङ्कर धमला र सुष्मा धमलाले आफ्नो घरमा राखेका थिए । बाँकी आठजना खेलाडीको व्यवस्थापन धीरेन सिटौलाले गरेका थिए । सिटौलाले खेलाडीलाई होटेलमा राखेर सम्पूर्ण खर्च व्यहोरेका थिए ।

यसबाहेक मकाउ चेम्बर्स अफ कमर्सका अध्यक्ष सुदर्शन थापामगर, नेपाली जनसम्पर्क समिति मकाउका संस्थापक सभापति अम्बिर जोशी, एनआरएनका सचिव रामचन्द्र घिमिरे, विष्णुकुमार श्रेष्ठ, प्रज्ज्वलकुमार अधिकारी, विजय थापा, राजन खत्री, बरुणकुमार बस्नेत, प्रकाश रेग्मी, राजीव थापा, प्रेम भुजेल, भोला गुरुङ, राजाराम धमला, आदर्श धमला, खेमी देवकोटा, सुवास श्रेष्ठ, राकेश श्रेष्ठ, पूर्णबहादुर श्रेष्ठ, किरण श्रेष्ठ, सुरेशजंग थापा, गंगा रिजाल, टेकबहादुर पौडेल र सिंह लामाले व्यक्तिगत रूपमा विशेष सहयोग गरेका थिए ।

राष्ट्रिय तेक्वान्दो सङ्घ नेपालका खेलाडीले मकाउ ओपन च्याम्पियनसिपनमा उत्कृष्ट प्रदर्शन गर्दै ५ स्वर्ण, २ रजत र १ कांस्य पदक जितेपछि लब लिजर फिटनेस क्लबका प्रोप्राइटर सागर अधिकारी र बालाजु एकेडेमीका चर्चित कराते खेलाडी शङ्कर धमलाको विशेष सहयोगमा बिदाइ कार्यक्रमको आयोजना गरिएको थियो । मकाउको चर्चित हाक्सा विचमा आयोजना गरिएको उक्त बिदाइ कार्यक्रममा अविष्मणीय बनाउन सुष्मा धमलाले निभाएको भूमिका आफँैमा तारिफयोग्य थियो । सुष्माले खेलाडीहरूको खाने–बस्नेको व्यवस्था मात्र नगरी खेलाडीप्रति जुन मायाममता देखाएर दक्षिणासमेत दिएर बिदा गरिन् त्यसले नेपाली टोलीको मुटु छोएको थियो ।