नाफा बढाउन विकास बैंकहरु असफल

नाफा बढाउन विकास बैंकहरु असफल


चालू आर्थिक वर्षको पहिलो त्रैमासमा नाफा बढाउन विकास बैंकहरु असफल देखिएका छन् ।

पहिलो त्रैमासिक अवधिको वित्तीय विवरण सार्वजनिक गरिसकेका विकास बैंकमध्ये केही बैंकको नाफामा वृद्धि भएपनि धेरै बैंकले नाफा घटाएका हुन ।

मितेरी डेभलपमेन्ट बैंकले २ करोड ३३ लाख रुपैयाँ नाफा कमाएको छ । बैंकले गत वर्ष २ करोड ५८ लाख रुपैयाँ नाफा कमाएको थियो । बैंकको नाफा ९ दशमलव ८३ प्रतिशतले कमी आएको छ । बैंकको जगेडा कोषमा २३ करोड ६१ लाख रुपैयाँ छ ।

चालू आर्थिक वर्षको पहिलो त्रैमासमा तिनाउ विकास बैंकले १ करोड ५६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । बैंकले गत वर्षको तुलनामा १८ दशमलव २७ प्रतिशत कम नाफा कमाएको छ । यसले गत वर्ष १ करोड ९१ लाख रुपैयाँ कमाएको थियो ।

त्यसैगरी पूर्णिमा विकास बैंकले १ करोड ३१ लाख रुपैयाँ नाफा कमाएको छ । यस बैंकको पनि नाफा घटेको छ । बैंकले गत वर्षको तुलनामा २३ दशमलव ३८ प्रतिशतले नाफा घटाएको छ ।

गत वर्ष बैंकले १ करोड ७१ लाख रुपैयाँ कमाएको थियो ।

त्यस्तै हाम्रो विकास बैंकले १ करोड रुपैयाँ मुनाफा कमाएको छ । बैंकको मुनाफा गत वर्षको तुलनामा ९ दशमलव १३ प्रतिशतले घटेको छ । गत वर्ष विकास बैंकले १ करोड १० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

त्यसैगरी सहारा विकास बैंकले २९ लाख रुपैयाँ घाटा बेहोरेको छ । गत वर्ष बैंकले २३ लाख रुपैयाँ घाटा बेहोरेकोे थियो ।

एक्सेल डेभलपमेन्ट बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमासिकमा ३ करोड १५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । बैंकले गत वर्ष सोही अवधिमा २ करोड ७७ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

बैंकले गत वर्षको तुलनामा १३ दशमलव ७७ प्रतिशत बढी नाफा आर्जन गरेको छ । ३८ करोड ४५ लाख रुपैयाँ चुक्ता पुँजी भएको बैंकले जगेडा कोषमा ३७ करोड ६ लाख रुपैयाँ राखेको छ । निक्षेपमा ४ अर्ब ५५ करोड ५३ लाख रुपैयाँ संकलन गरेको बैंकले कर्जामा ३ अर्ब ८७ करोड २८ लाख रुपैयाँ लगानी गरेको छ ।

क्षेत्रीय स्तरका विकास बैंकमा सबैभन्दा बढी नाफा साइन रेसुंगा बैंकले कमाएको छ । यस विकास बैंकले ६ करोड ५० लाख रुपैयाँ नाफा कमाएको छ ।