डेन्जर जोन हेभिवेट चुनाव : प्रम देउवा र पाँच पूर्वप्रधानमन्त्रीको यो समिकरण

डेन्जर जोन हेभिवेट चुनाव : प्रम देउवा र पाँच पूर्वप्रधानमन्त्रीको यो समिकरण


आसन्न प्रतिनिधिसभा निर्वाचनमा प्रधानमन्त्री शेरबहादुर देउवा र पाँच जना पूर्वप्रधानमन्त्री प्रतिस्पर्धामा छन् ।

निरन्तर राजनीतिमा सक्रिय पूर्वप्रधानमन्त्री केही आफ्नै पूर्ववत् निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा गर्दै छन् भने केहीले नयाँ क्षेत्र रोजेका छन् ।

यसअघिका चुनावी परिणाम र हालैको स्थानीय निर्वाचनको मत परिणामले पूर्वप्रधानमन्त्रीहरूको ‘सेफ’ र ‘डेन्जर जोन’ भने मिश्रित छ ।
प्रधानमन्त्री देउवा आफ्नो नियमित निर्वाचन क्षेत्र डडेलधुराबाट चुनावमा प्रतिस्पर्धा गर्दै छन् ।

देउवासँग वाम गठबन्धनका तर्फबाट (माओवादी केन्द्र) का उम्मेदवार खगराज भट्ट तेस्रोपटक चुनावी मैदानमा छन् । भट्ट २०६४ र २०७० को संविधानसभा निर्वाचनमा देउवासँग पराजित भएका थिए ।

दोस्रो संविधानसभा २०७० को मतान्तर ११ हजारभन्दा बढी थियो ।

तर, हालैको स्थानीय निर्वाचनको नतिजाअनुसार देउवालाई सजिलो नभएको पनि आकलन गरिँदै छ ।

यसपटक वाम गठबन्धन एकै ठाउँमा रहेका कारण प्रधानमन्त्री देउवाका लागि चुनावी परिणाम यसअघिको जस्तो सहज नदेखिएको हो । अङ्क गणितका हिसाबले स्थानीय निर्वाचनमा वाम दल काँग्रेसभन्दा आठ हजार मतले अघि छन् ।

अहिलेसम्मका पाँचवटा संसदीय निर्वाचनमा अविजित देउवा अङ्क गणितमा योपटक ‘डेन्जर जोन’मा देखिएका छन् ।

भट्टलाई दुई पटकको हारपछि जित हासिल गर्ने अवसर पनि छ । डडेलधुरामा प्रतिनिधिसभामा छ उम्मेदवार प्रतिस्पर्धामा छन् ।

पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल काठमाडौँ–२ बाट प्रतिस्पर्धामा छन् ।

नेता नेपालको मुख्य प्रतिस्पर्धी काँग्रेसका दीपक कुइँकेल छन् ।

दोस्रो संविधानसभा उपनिर्वाचनमा पाँच हजारभन्दा बढी मतले कुइँकेल यही क्षेत्रबाट निर्वा्चित भएका हुन् ।

संविधानसभा सदस्यमा यही निर्वाचन क्षेत्रबाट निर्वा्चित नेता नेपालले उक्त क्षेत्र छाडेका थिए ।

पहिलो संविधानसभा (२०६४) मा दुई क्षेत्रबाट अनपेक्षित हार बेहोरेका नेता नेपाल २०७० को निर्वाचनमा रौतहट–१ र काठमाडौँ–२ बाट निर्वा्चित भएका थिए ।

दुई क्षेत्रबाट निर्वा्चित नेपालले कानुनी व्यवस्थाअनुसार काठमाडौँ–२ छाडेका थिए ।

उक्त स्थानमा भएको उपनिर्वाचनमा काँग्रेसका कुइँकेल विजयी भएका थिए । स्थानीय तहको अङ्क गणित र २०७० मा आठ हजारभन्दा बढीको मतान्तर नेपालको पक्षमा भए पनि निर्वा्चित क्षेत्र छोड्नुले नेपालमाथि मतदाताले प्रश्न उठाएका छन् ।

काठमाडौँ–२ मा प्रतिनिधिसभाका लागि २४ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।

पूर्वप्रधानमन्त्री झलनाथ खनाल विसं २०६४ र २०७० को संविधानसभा सदस्य निर्वाचनमा इलाम–१ बाट निर्वा्चित भएका थिए ।

योपटक पनि खनाल त्यही क्षेत्रबाट प्रतिस्पर्धामा छन् ।

खनालका मुख्य प्रतिस्पर्धी काँग्रेसका भूपेन्द्र कट्टेल हुन् ।

लगातार दुईपटक सोही क्षेत्रबाट निर्वा्चित खनाल ह्याट्रिकको दौडमा छन् भने कट्टेल पहिलो जितको दौडमा छन् ।

यसअघिको मतपरिणाम र स्थानीय तहको नतिजा भने खनालको पक्षमा छ । प्रतिनिधिसभामा त्यस क्षेत्रबाट आठ जना प्रतिस्पर्धी छन् ।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले २०६४ को संविधानसभा सदस्य निर्वाचनमा झापा–७ बाट तत्कालीन एमाओवादीका युवानेता विश्वदीप लिङ्देनसँग पराजय बेहोरेका थिए । २०७० को निर्वाचनमा भने ओली विजयी भए ।

तुलनात्मक रूपमा ओली सुरक्षित निर्वाचन क्षेत्रबाट प्रतिस्पर्धामा छन् ।

ओलीका मुख्य प्रतिस्पर्धीमा काँग्रेसका डा खगेन्द्र अधिकारी छन् । शिक्षण पेसामा संलग्न अधिकारी उम्मेदवार बन्न त्रिभुवन विश्वविद्यालयको जागिर छाडेर झापा पुगेका हुन् । झापा–५ बाट प्रतिनिधिसभामा ओलीसहित १४ प्रतिस्पर्धी छन् ।

जन्मथलो चितवनमा पहिलोपटक उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसामु कडा चुनौती छ ।

काँग्रेसको बलियो क्षेत्र मानिएको चितवन–३ मा काँग्रेसकै समर्थनमा उम्मेदवार बनेका राप्रपा प्रजातान्त्रिकका विक्रम पाण्डे प्रचण्डका लागि चुनौती हुन् ।

सशस्त्र सङ्घर्षपछिको पहिलो संविधानसभा सदस्य निर्वाचनमा प्रचण्ड रोल्पा–१ र काठमाडौँ–१० बाट निर्वा्चित भएका थिए ।

दोस्रो संविधानसभामा रोल्पा छोडेका प्रचण्डलाई काठमाडौँका मतदाताले अस्वीकार गरे पनि सिरहा–५ का मतदाताले जनप्रतिनिधि चुने ।

योपटक प्रचण्ड पुरानो निर्वा्चित क्षेत्र सिरहा पनि छोडेर जन्मथलो चितवन पुगेका हुन् ।

एमालेको सहयोगमा उम्मेदवार बनेका प्रचण्डलाई लोकतान्त्रिक गठबन्धनको चुनौती कमजोर नहुँदा ‘डेन्जर जोन’का रूपमा हेरिएको छ ।

शान्तिपूर्ण राजनीतिमा रूपान्तरण भएपछि पहिलोपटक गोरखा–२ का मतदाताले डा बाबुराम भट्टराईलाई दुई तिहाइ मत दिएका थिए ।

गोर्खाली जनताको मतमा भट्टराई अर्थमन्त्री हुँदै प्रधानमन्त्री बने । दोस्रो संविधानसभा निर्वाचनमा उनले दुई क्षेत्र रोजे । रूपन्देही–४ का मतदाताले पराजित गर्दा उनी गोरखाबाट पुनः बहुमत मतका साथ विजयी भए ।

संविधान जारीपछि भट्टराईले राजनीतिक दिशा परिवर्तन गर्दैै संसद्बाट पनि बाहिर आएपछि नयाँ दल गठन गरे । अहिले उनी नयाँ शक्ति पार्टीका नामबाट पुनः गोर्खाली जनताको घरदैलोमा छन् ।

भट्टराईको प्रतिस्पर्धीमा उनकै मूल पार्टीका नेता नारायणकाजी श्रेष्ठ छन् ।

भट्टराईका लागि श्रेष्ठ कडा चुनौती हुन् ।

एमालेको सहयोगमा उम्मेदवार बनेका श्रेष्ठ पछिल्लो अङ्क गणितमा केही अघि छन् । भट्टराईलाई काँग्रेसको बलियो साथ छ ।

पहिलो चरणमा निर्वाचन हुने ३७ क्षेत्रमध्ये अत्यन्तै रोचक निर्वाचन क्षेत्रका रूपमा गोरखा–२ लाई हेरिएको छ । (गोरखापत्र दैनिक)