के यो समाजवादीहरूको पाप हो ?

के यो समाजवादीहरूको पाप हो ?


– शोभाकर पराजुली

समाजवादीहरू र साम्यवादीहरूमा रहेको एउटा भिन्नता भनेको राजनीतिक भिन्नता हो । मानिसलाई विवेकशील बनाउने कि पशुजस्तो भन्ने कुराको त्यसले नै निर्णय गर्दछ । साम्यवादीहरू हामी राम्रो गर्दछौँ, अरु शोषक–सामन्त हुन् भन्दछन् र अरुले आफूलेभन्दा राम्रो नगर्ने हुँदा अरु विचारलाई निषेध गर्नु पर्दछ भन्ने वकालत गर्छन् । अर्काेतर्फ समाजवादीहरू चाहिँ आफूले राम्रो गर्ने तर आफूभन्दा राम्रो गर्छु भन्ने कुनै अरू छ भने त्यो मौका दिइनुपर्छ, जनताको निर्णयको आधारमा राम्रो गर्छु भन्नेले काम गर्न पाउनु पर्दछ भन्ने मान्यता राख्दछन् । कम्युनिष्टहरू ‘राम्रो गर्दछौँ’ भन्छन् तर राम्रो नगरेमा पनि आफू हट्न चाहँदैनन् । अर्थात्, उनीहरूलाई हटाउन पाइँदैन । अर्कोतर्फ समाजवादीहरू ‘राम्रो गर्दछौंँ’ भन्दछन् । सँगसँगै, यदि नराम्रो गरेको अवस्थामा हामीलाई जनताले मतको माध्यमद्धारा हटाएर राम्रो गर्नेलाई ल्याउन पाउनु पर्दछ भनी खुलस्त भन्दछन् । यसर्थ, समाजवादीहरू प्रष्ट छन् । समाजवादीको विचारमा जनताप्रति आस्था छ । कम्युनिष्टहरू चर्का नारा लगाएर, जनतालाई झुक्याएर सत्तामा जान चाहन्छन् र सत्तामा गएपछि नराम्रो काम गरेमा पनि सत्ताबाट हट्न चाँहदैनन् भन्ने देखिन्छ । यत्ति मात्र हामीले बुझेर प्रष्ट हुन सकेमा पनि हामी सम्भावित पीडाबाट बच्न सक्दछौंँ ।

समाजवादीहरू भन्दछन् कि– जनताले विवेकशील भएर राजनीतिक निर्णय गर्नु पर्दछ । उनीहरूले स्वतन्त्र रुपमा निर्णय गरेपछि पनि चुनावमा पठाएकाहरूले गल्ती गरे भने तिनलाई फेरि मतको माध्यमबाट नै फाल्न पाउनु पर्दछ । साथीहरूले यो प्रष्ट भन्न सक्नु पर्दछ कि– जनताले नराम्रोलाई भन्दा राम्रोलाई छान्ने संभावना बढी हुन्छ । जनतालाई ठग्न पनि नराम्रोलाई बढी गाह्रो हुन्छ । ठगे पनि पुन चुनाव हुँदा जनता सचेत भएर उसलाई हटाउन सक्दछन् ।

समाजवादीहरू कहिल्यै पनि जनताको सेवक भन्दा बढी हुन सक्दैनन् । गल्ती गरेमा पनि दलको सदस्यता खुला हुने हुँदा गरीब र जनताको हित गर्नेहरूले समाजवादी दलको सदस्य बनाएर भ्रष्टलाई हटाएर इमान्दारहरूको जमातको रुपमा यसलाई विकसित गर्न सकिन्छ । तर कम्युनिष्ट व्यवस्थामा एकदलीय व्यवस्था हुने हुँदा नेताको विरोध गर्नुभन्दा ठूलो अपराध केही पनि हुँदैन । उनीहरूलाई हटाउनु भनेको असम्भव नै हुन्छ ।

समाजवादीहरू र साम्यवादीहरूमा भएको यो भिन्नताले समाजवादीहरूले जनतालाई मालिक मान्ने र साम्यवादीहरूले जनतालाई आफ्नो विचारलाई स्वतन्त्र रुपमा प्रस्तुत गर्न नपाउने दास मान्दछन् भन्ने प्रष्ट नै देखिन्छ ।

कम्युनिष्टहरूमा पार्टीको नाममा केन्द्रीय समितिको, केन्द्रीय समितिको नाममा पोलिटब्यूरोको, पोलिब्यूरोको नाममा महासचिव वा अध्यक्षको अधिनायकत्व लाद्ने परम्परा रहेको छ । यसप्रकार कम्युनिष्ट व्यवस्था जनताको व्यवस्था त हुँदैहोइन बरु कम्युनिष्टहरूमध्ये पनि देशको सबैभन्दा ठूलो पदमा रहेको नेताको इच्छानुसार चल्ने स्वेच्छाचारी व्यवस्था हो । नेपालजस्ता देशमा कम्युनिष्टहरूले देखाएको लोकतान्त्रिक चरित्र जनता ठग्ने ढांँग मात्र हो भन्ने तथ्य विश्वमा कम्युनिष्ट व्यवस्था स्थापना भएको देशमा कम्युनिष्टहरूले देखाएका व्यवहारबाट प्रष्ट हुन्छ ।

लेनिन र माओ दुवैले भनेका छन् कि मानिसबाट गल्ती हुन्छन्, गल्ती त काम नगर्नेहरूबाट मात्र हुँदैनन् । सुन्दा यो सत्य र मिठो पनि सुनिन्छ । तर, यदि काम गर्नेहरूबाट गल्ती हुन्छ भनी स्वीकार गरिसकेपछि गल्ती गरेमा सुधार गर्ने र त्यसको सजाय पनि पाउने परिपाटी हुन आवश्यक छ, जुन लोकतन्त्रमा मात्र सम्भव हुन्छ । यसकारणले लोकतन्त्रले मात्र गल्ती गर्नेलाई सजिलैसंग हटाउने र सच्याउने अवसर दिन्छ ।

त्यसकारण सिद्धान्त ठीक भएपछि दलले पनि ठीक काम गर्ने संभावना बढी हुन्छ । दल भनेको मानिसहरूको समूह हो । मानिसले गल्ती गरेमा लोकतन्त्रमा तिनलाई हटाउन सकिन्छ । उनीहरूको ठाउँमा आफूहरू गएर उनीहरूले गरेका गल्ती सुधार्न सकिन्छ । त्यसो पनि हुन नसके लोकतन्त्रको माध्यमबाट समाजवाद ल्याउने अर्को दललाई साथ दिन सकिन्छ वा दल बनाउन पनि सकिन्छ ।

कम्युनिष्टहरू हामी पनि लोकतन्त्रवादी हौँ भन्दछन्, अझ सर्वहारा र पीडितहरूको लोकतन्त्र चाहने हौँ भन्दछन् । कम्युनिष्टहरूको लोकतन्त्र वास्तवमा लोकतन्त्र होइन । उनीहरू सर्वहाराको अधिनायकवाद भन्दछन् । त्यो लोकतन्त्र हुनै सक्दैन । अधिनायकवाद लोकतन्त्र होइन । उनीहरू गरीबको लोकतन्त्र भन्दछन् । राष्ट्रवादीहरूको लोकतन्त्र भन्दछन् । यो सबै झुठो नारा हो । लोकतन्त्रका विश्वव्यापी मान्यताहरू छन् । त्यसमा विशेषतः जनतालाई विभिन्न विचारहरूमध्ये राम्रो लागेकोलाई स्वतन्त्र रुपमा छान्ने अधिकार हुन्छ । कम्युनिष्ट व्यवस्थामा त्यो छान्ने अधिकार नै हुँदैन । उनीहरू गरीबको लोकतन्त्र तथा सर्वहाराको लोकतन्त्र भन्दछन् । तर कुन सर्वहाराको हित गर्ने भन्ने छान्ने कसले ? उनीहरूका अनुसार उनीहरूले नै छान्ने हो भने आफूलाई राम्रो त हत्यारा र चोरले पनि भन्दछ । जनताले छान्न पाउने हो भने उनीहरूलाई स्वतन्त्र रुपमा छान्ने अधिकार हुनु पर्दछ ।

लक्ष्य राम्रो हुनु सबैभन्दा महत्वपूर्ण हो । लक्ष्य पूरा गर्न सिद्धान्त राम्रो हुनु पर्दछ । सिद्धान्त राम्रो भएर मात्र पनि हुँदैन । माध्यम नराम्रो भएको अवस्थामा हामी ग्लोबमा कमिला घुमेको जस्तो गरेर एकै ठाउँमा घुमिरहेका हुन सक्दछौंं । उत्तर कोरिया र क्युवा अहिले त्यही अवस्थामा छन् । अझ त्यो भनेको प्रतिगमन पनि हा,े किनभने हिडिरहँदा श्रम खर्च हुन्छ, फाइदा हुँदैन । विकासमा लाग्ने श्रम बेकारमा खर्च भएको हुन्छ ।

बहुदलीय व्यवस्था मान्ने भएपछि एकदलीय कम्युनिष्ट व्यवस्थामा जस्तो दलले गल्ती गरेमा पनि जनतालाई ठूलो घाटा हुँदैन किनभने जनताले त्यो दललाई अस्वीकार गर्न सक्दछन् । दलको सिद्धान्त ठीक भएमा दलमा इमान्दारहरू प्रवेश गरेर गल्ती गर्नेहरूलाइ हटाउन सक्दछन् । गलत कार्यलाई सजिलैसंग सुधार्न सक्नु महत्वपूर्ण हो । गल्तीलाई सुधार्न पाउने भएपछि गल्ती पनि जानेर गर्ने कार्य हुँदैन र त्यति मात्र होइन, राम्रो र गरीबको हित गर्दछांैंं भन्नेले गरेन भने त्यसलाई उनीहरूले समय समयमा मत दिएर हटाउन पाउनु पर्दछ । त्यसको लागि लोकतन्त्र चाहिन्छ । बहुदलीय व्यवस्था चाहिन्छ । यस अर्थमा बहुदलीय व्यवस्था जनताको व्यवस्था र गरीब जनताको व्यवस्था हो, जहाँ परिणाम राम्रो हुन्छ, नराम्रो भएमा पनि सजिलै सुधार्न सकिन्छ ।