‘छ्यासमिस’मा मिसिएपछि

‘छ्यासमिस’मा मिसिएपछि


– लुमडी आचार्य

भनिन्छ, ‘समय परिवर्तनशील छ ।’ यही परिवर्तन वा समयचक्रको घुमाइका क्रममा आममान्छेले अनेकौँ परिस्थितिजन्य नियतिहरू भोग्नुपर्ने हुन्छ । यहाँ पनि वरिष्ठ साहित्यकार एवम् इतिहासविद् एसपी आशा (श्रीप्रसाद घिमिरे, सीतापाइला, काठमाडौं) ले चौहत्तरवर्षे जीवन जिइरहँदा मधुमेह, प्रेसरलगायत विविध रोगका उपचारका क्रममा पनि निष्क्रिय नभई सिर्जनालाई निरन्तरता दिन अल्छी नभएको स्तुत्य परिणाम हो यसै वर्ष लोकार्पित छब्बीसौँ कृति– छ्यासमिस ।
विगत ०२५ सालमै कविता विधाबाट साहित्यमा औपचारिक हिसाबले प्रवेश गर्नुभएका स्रस्टा आशाको पुस्तक लोकार्पणको श्रीणेशचाहिँ ‘अभाग’ २०२६ बाट हुन्छ । सिर्जनात्मक उद्यानमा थरीथरीका पुष्पहरू सजाउने क्रमलाई निरन्तरता दिँदै जानु हुन्छ । त्यसैको परिणाम हो २०७४ मा प्रकाशित– छ्यासमिस । यसमा आफू पनि जिज्ञासु पाठकका नाताले मिसिन पाएकोमा गर्वानुभूति हुन्छ ।

प्रस्तुत कृतिमा उहाँले बालापनदेखि युवा, प्रौढ हुँदै अचेलको भाषामा ज्येष्ठ नागरिकको सूचीमा गणना होइन्जेलसम्म भोगेका, भोग्दै गरेका विविध कालखण्डका स्मृतिहरूलगायत सामाजिक, सांस्कृतिक, धार्मिक, ऐतिहासिक तथा भौगोलिक परिवेशमा आधारित भजन, गीत, कविता, लघुकथाहरू यसमा समन्वित छन् । सङ्ख्यात्मक हिसाबले दुई दर्जनभन्दा बढी कृति पाठकसमक्ष पस्किसक्नुभएका सर्जक घिमिरेका पुस्तकहरूमध्ये ऐतिहासिक घरातलमा केन्द्रित ओजिला मानिन्छन्– द्रव्यशाह, पृथ्वीनारयण शाह, अरनिको । हामीले कसरी प्रजातन्त्र ल्यायौँ, लोकतन्त्रअघिको महाभारत, नेपालको पहिलो कोतपर्व र लमजुङे बाघ २०७१ । उहाँको व्यक्तित्व र कृतित्वलाई नै विस्तृत रूपमा समेटेर विभिन्न व्यक्तिहरूबाट प्रकाशित पुस्तक आठवटा भेटिन्छन् । यीमध्ये साहित्यकार श्यामबहादुर ‘भावुक’द्वारा सिर्जित लोकछन्दमय कवितासङ्ग्रह– ‘आशा इतिहासका तारा’मा डुबुल्किँदा पङ्क्तिकार पनि भावविभोर हुन्छु जब कि समग्र जीवनका विभिन्न पाटाहरूलाई भन्दा सिर्जनालाई नै मुख्य दायित्व ठान्दै यसैमा अनवरत लागिरहने स्रस्टा कमै हुन्छन् । एसपी आशा भने जस्तो नाम उस्तै काममा जुटिरहनुभएको छ । आमपाठकका लागि प्रेरणाको स्रोत हुनुहुन्छ उहाँ । जब कि ‘काम गर्नु फलको आशा नराख्नु’ भन्ने लोकोक्ति पनि यहाँ ठ्याक्कै सान्दर्भिक लाग्छ ।

हेरुँ–‘आशा इतिहासका तारा’मा भेटिने मर्मस्पर्शी काव्योद्गार–
चाकडी र चाप्लुसीमा आजसम्म धाइनँ
त्यसैकारण होला भन्छन् पुरस्कार पाइनँ
भन्ने गर्छन् त्यसको कुनै गुनासो छैन
पुरस्कारको आशा गरेर मसी पोख्या होइन ।

हो, मान्छेहरू पोख्नु, छिरोल्नुभन्दा होसियारी साथ बटुल्ने र उठाउने गर्दछ आफ्नै हितमा । यद्यपि एसपी आशाले भने फलको आशा नराखी भौतिक र बौद्धिक मसी छरिरहनुभएको छ निरन्तर । तैपनि उहाँको हैसियतअनुसारको मसीको मूल्यको परिणामस्वरूप कुनै ओजिलो पुरस्कार प्राप्त भएको हेक्का पङ्क्तिकारलाई छैन । यद्यपि साहित्यतर्फ निबन्ध, आख्यान, कविता, नाटक, नियात्रा, संस्मरणलगायत इतिहास, भूगोल, संस्कृति, विविध विधामा मसी पोखिरहेकाहरूमध्ये सङ्ख्याको हिसाबले अत्यन्त न्यून कृतिकारहरूमध्ये अत्यन्तै चर्चित गरिमामय पुरस्कारबाट पुरस्कृत भइसकेको अवस्था हो अहिले यसरी नियाल्दा त्यो सूचीमा एसपी आशाको नाम भने अझै समावेश हुन सकेको पाइँदैन । उहाँले आस नगरे पनि आमपाठकले अपेक्षा गरौँ त्यो दिन पनि आउला ! ।

‘छ्यासमिस’मा घुलमिल गर्दै जाँदा भेउ पाइन्छ– पद निजामतीतर्फको बहिदार भए पनि कार्यालयचाहिँ सेनातर्फको यती गुल्म ब्यारेक, बालाजु, काठमाडौं । यहीँबाट सरकारी जागिरको श्रीणेश भएछ आशाको बहिदार पदबाट । यसलाई निरन्तरता दिँदै जाँदा टोखा अस्पतालको खरिदार हुँदै सुब्बा । अब कार्यालय र पद दुवै निजामती क्षेत्रका ।

नेपालमा सर्वप्रथम क्षयरोगसम्बन्धी चिकित्सालय स्थापना हुन्छ राणकालमै टोखामा । ती दिनहरूमा बाले भनेको सुन्थेँ, ‘टोखा स्वास्थ्य निवास’ । त्यसैले अहिले टोखा अस्पताल र बहिदार, खरिदार पदहरूको प्रसङ्ग घुलमिल गर्दा अतीतको याद आउने नै भयो । जब कि भक्तपुर, खरिपाटी, स्वयम्भू हुँदै सुन्धारा परिसरको ब्यारेकमा सेनातर्फकै पुछारको पदमा सेवारत रहेकै हो ।

उरचिकित्सालय टोखामा खरिदार, नासु पदमा बहाल रहँदा ०२५ सालबाटै कवितालेखन शुभारम्भ आशाको । यता जङ्गीबाट निजामतीतर्फ प्रवेश गरेपछि ०२५ सालतिरै परिवार नियोजन तथा मातृशिशु कल्याण योजना कार्यालय सिंहदरबार तथा कालिमाटीमा छँदा एउटै कार्यालयको नाताले कवि हेम हमाल र हरिवंदी खड्काहरूको सङ्गतले साहित्यानुरागी हुन पुग्छु म पनि त्यस्तै आशाले दरबार आइस्कुलको छिँडीको संस्कृत पाठशालामा अध्ययन गर्दा विद्यालयकै तर्फबाट दिइने खाजा जुलेफी (अचेल जेरी) को चर्चाले अहिले पनि मुख रसाउँछ । जब कि ०१६ र ०१७ सालमा यही विद्यालयमा कक्षा ६ र ७ को विद्यार्थी आफू पनि । किन्तु काठमाडौंको उत्तरी काँठ, मुडसुबाट खालि खुट्टा पैदलै हिँडेर दरबार हाइस्कुल धाउने अङ्ग्रेजी शिक्षा आर्जनपट्टिको विद्यार्थी भएकाले जेरी खान कहाँ पाउनु !

पङ्क्तिकारजस्तै सरकारी निकायको पुछारकै पदबाट सरकारी जागिरमा प्रवेश गरेका एसपी आशा क्रमशः विश्वहिन्दू महासङ्घलगायत घिमिरे बन्धु समाज हुँदै विभिन्न ख्यातियुक्त संस्थामा पनि उहाँको पहिचान स्थापित भएको भेउ पाइन्छ । सिर्जनातर्फ चर्चित कृतिहरूमध्ये पृथ्वीनारयाण शाह ऐतिहासिक उपन्यास अङ्गे्रजी भाषामा समेत अनुदित भई राष्ट्रिय दैनिक समाचारपत्रमा पनि धाराबाहिक प्रकाशित हुनुले राष्ट्रकै गौरव पहिचान झल्केको अनुभूत हुने नै भयो । सर्जक आशाले फलको आस नगरे पनि आमपाठक एवम् शोधकर्ताहरू उहाँका विविध विषय र परिवेशबाट लाभान्वित हुने नै छन् । एमए तहको अध्ययन र परीक्षाको प्रयोजनको सन्दर्भमा आशाका कृतिहरूमा केन्द्रित भएर थेसिस तयार गर्नेहरूको सङ्ख्या दर्जनको हाराहारीमा पुग्नुले पनि उहाँको लगनशीलता र कृतित्वको गरिमाको उदाहरण छर्लङ्गिएकै छ । स्मृतिसम्बन्धी कृति जो–जसको भोगाइको कथा, व्यथा वा वैयक्तिक गन्थन भए पनि तिनबाट आफ्नो क्षमतानुसार लाभान्वित हुने नै छन् । एसपी आशाबाट पनि आमपाठकले आशा गरौँ, भविष्यमा पनि अरू सिर्जनात्मक रङ्गले सजिएका ‘छ्यासमिस’हरू लोकार्पित भइरहून् !