गुरुङ फिल्म ‘मैंरिमो’ शुक्रबारदेखि पोखरामा प्रदर्शन सुरु

गुरुङ फिल्म ‘मैंरिमो’ शुक्रबारदेखि पोखरामा प्रदर्शन सुरु


गुरुङ भाषा र संस्कार संस्कृतिमा आधारित गुरुङ फिल्म मैंरिमो (सम्झिरहेछु/मिस यु) शुक्रबारदेखि पोखरामा प्रदर्शन सुरु भएको छ ।

उक्त फिल्म नेपाली कथानक फिल्मजस्तै रेगुलर (नियमित) प्रदर्शनको सुरुवात गरिएको हो ।

नेपाली बक्स अफिसमा शुक्रबारदेखि रोमीयो प्रदर्शन सुरु भएको छ । फाटेको जुत्ता, मेला, झ्यानाकुटी पनि प्रदर्शन भइरहेको छ ।

यो भीडमा मैंरिमोले आफ्नो राम्रो प्रदर्शन सुरुवात गरेको फिल्मका निर्देशक भोजबहादुर गुरुङले बताए । पोखराको बाराही हलमा शुक्रबार बिहान ८ बजे, ११ बजे र दिउँसो २ बजे गरी ३ शोको राम्रो सुरुवात भएको उनले दावी गरे ।

शनिबार बिहान ८ बजे, ११ बजे, दिउँसो २ बजे र साँझ ५ बजे ४ शो भएको छ । ‘नेपाली राम्रा फिल्ममाझ हामीले भाषाभाषीका फिल्मलाई नियमित प्रदर्शन थालेका छौं’ उनले भने, ‘नेपाली फिल्म समेत एकसाता नटिकिरहेको अवस्थामा हामीले भाषाभाषीलाई नियमितको सुरुवात गरेका छौं, यो चुनौतिपूर्ण छ ।’

शनिबार बिहान ८ बजे, ११ बजे र दिउँसो २ बजे प्रदर्शनपछि हरेकबारे बिहान ११ र दिउँसो २ बजेको समयतालिका मिलाएको उनले बताए । यसअघि पनि केही गुरुङ फिल्मको नियमित प्रदर्शन गरिएपनि १-२ दिनमै हलबाट उत्रनुपर्ने बाध्यता थियो । त्यसपछि निर्माताले हल रिलिज गर्न छोडेका थिए । भीआईपी र च्यारिटी शोमा सीमित गुरुङ फिल्मलाई हलसम्म पु¥याउन ठूलै चुनौती भएपनि चुनौति मोलेरै नियमित प्रदर्शन थालिएको निर्देशक गुरुङले बताए । ‘अब हामी च्यारिटी शो-भीआइपी शोमा मात्रै कति रहने भन्ने हो’ उनले भने, ‘दुई दशकदेखि गरि“दै आएको भीआइपी र च्यारिटी शो विस्तारै छोड्दै दर्शकलाई हलसम्मै डो¥याउनु पर्छ ।’

भोजबहादुरले यसअघि सैं न्होँर्बे मु्रस्यो (हृदयकी रानी), ङै ङ्हो (मेरो भाग्य), आक्रोदो (नरुनु) निर्देशन गरिसकेका छन् । गुरुङ फिल्मको निर्देशनबाट खारिएका भोजबहादुरले पछिल्लो समय निर्देशन गरेको फिल्म ‘मैंरिमो’ लाई दर्शकले औधी रुचाएको दावी गरे । उक्त फिल्ममा ‘ए ङोल्स्यो…ए ङोल्स्यो…’ बोलका गीत गुरुङ फिल्म क्षेत्रमा निकै चर्चित बनेको छ । उक्त गीतले पनि ‘मैंरिमो’ ले सफलता हासिल गर्ने उनले दावी गरे ।

कार्यकारी निर्माता बालकाशी गुरुङका अनुसार गाउँका सामुदायिक विद्यालयमा विद्यार्थी संख्या बढाउन गरिएको प्रयासलाई फिल्मले मुख्य विषय बनाएको छ । ‘युवा वैदेशिक रोजगारीमा जाँदा र गाउँका महिला, बालबालिकाको शिक्षादीक्षाको लागि सहर पस्दा ग्रामीण बस्ती पतालिँदै गएका छन् । जसले गर्दा गाउँको समुदायिक विद्यालयमा विद्यार्थी घटेका छन्’ उनले भने, ‘यथार्थ घटनालाई हामीले फिल्मीक्षेत्रबाट उठाएका छौं ।’

मुनाल फिल्मसको ब्यानरमा निर्मित ‘मैंरिमो’ ७० प्रतिशत गुरुङ भाषामा छ । छायांकन लमजुङको क्व्होलासोंथर गाउँपालिका २, मालिङको सैलुङ गाउँमा भएको हो । गमन घले, प्रेम गुरुङ, सपना गुरुङ, सेसुवा गुरुङ (सोनु), गजेन्द्र गुरुङ, कूलबहादुर गुरुङ, इन्द्रसुबा गुरुङ, अमीर गुरुङ, कमल गुरुङ, बालकाशी गुरुङ, रोशन गुरुङ लगायतको फिल्ममा अभिनय छ ।

गुरुङ कवि केयरसिंह गुरुङको कथा, रोशन गुरुङको पटकथा र संवाद रहेको फिल्मको छायांकन तथा सम्पादन खिमबहादुर गुरुङले गरेका हुन् । तेजेन्द्र गुरुङको संगीतमा गोविन गुरुङ, मनोज गुरुङ, तारा श्रीषमगर, पवित्र गुरुङ र सरुन गुरुङले स्वर दिएका छन् । आश गुरुङ, अमिर गुरुङ र प्रेम गुरुङले गीत लेखेका छन् । फिल्मका निर्माता प्रेम गुरुङ र सपना गुरुङ हुन् ।