जनताले अस्वीकार गर्नैपर्ने तीन उम्मेदवार

जनताले अस्वीकार गर्नैपर्ने तीन उम्मेदवार


– देवप्रकाश त्रिपाठी

देशले अस्वीकार गर्नुपर्ने राजनीतिकर्मीहरू अनगिन्ती छन् र, ‘उम्मेदवार’ बनेर गाउँ–टोल चहार्दै छन् । यतिबेला घरगाउँमा देखापर्ने सबको वाणी मधुर, सबैका बदन झुकेका र सबका हात ‘जम्ला’ देख्न पाउँदा पनि ‘आफू’ भएको र आफ्नो कुनै भाउ भएको महसुस गर्दै होलान् । कतै सगरमाथाको र राजाको फोटोअङ्कित कागज त कतै राँगोभैँसी र खसीबोकाको ज्यान पस्केर आफ्नो जीवन बनाउने नाप लिँदै हिँडेका उनीहरूमध्ये कसलाई मत दिने हो, जनता अन्योलमा परेका होलान् । हुन त नेपालमा नेताहरूको ज्यादती निरङ्कुश ढङ्गले बढेको तथ्यप्रति दृष्टिगोचर गर्दा यो देशमा जनता नामको कुनै मानव–प्राणी समुदाय अस्तित्वमा रहेको अनुभूति गराउँदैन र, मत बनाएर दान गर्नेहरूभन्दा नोट लिएर भोट दिनेहरूको सङ्ख्या अधिक भएकोले ठ्याक्कै मतदाता भनेर सबैलाई सम्बोधन गर्न पनि नमिल्ने हो । तथापि कैयन सचेत तथा इमानदार मानिसहरूको कदर गर्दै समग्रमा जनता र मतदाताको रूपमा सम्बोधन गर्नु उपयुक्त ठानिएको छ ।

सचेत र समृद्ध मुलुकमा उम्मेदवारको समग्र व्यक्तित्वलाई जति महत्व दिइन्छ, त्यसभन्दा बढी उसले उठाएका मुद्दाहरूलाई प्राथमिकता दिने गरिन्छ । तर, हाम्रा अधिकांश मतदाताहरूको ध्यान मुद्दामा भन्दा मुद्रामा जाने गरेको पाइएको छ । राजनीतिकर्मीहरूलाई मतदाता र आफू दुवैको हैसियत थाहा छ, त्यसैले मुद्दाका नाममा एक थान ‘महाभारत आकारको घोषणापत्र’ जारी गरिदिने र बाँकी काम राँगोभैँसी र खसीबोकाको सहारामा सम्पन्न गर्ने योजना बनाइन्छ । दूरगामी महत्वको राष्ट्रिय स्तरका मुद्दाहरूको छिनोफानो गर्न जनमतसङ्ग्रहलाई माध्यम बनाउन अनकनाउनुले पनि नेताहरूलाई आफ्नो हैसियत र जनताको चरित्रबारे राम्रै ज्ञान भएको दर्शाउँछ ।

तथ्य जे–जस्तो भए पनि नेपालीका सामुन्ने ऐतिहासिक महत्वको संसदीय निर्वाचन आइसकेको छ, कुनै असामान्य र अप्रत्यासित घटना नभएको अवस्थामा अब चुनाव सारिने या रोकिने कुराको कल्पना गरिएको छैन, त्यसैले यस निर्वाचनमा गलत प्रवृत्तिलाई निरुत्साहित गर्न मतदाताहरूले अदम्य साहस देखाउन आवश्यक ठानिएको छ । सभ्य र समृद्ध मुलुकमा सामान्यतया कुनै पक्षविशेषको स्थायी ‘पकेट भोट’ बनेर कुनै जातीय या क्षेत्रीय समुदाय बस्ने गर्दैन । तर, नेपाल र नेपालजस्ता मुलुकहरूमा खास–खास क्षेत्रलाई खास व्यक्ति या दलविशेषको ‘पकेट’का रूपमा हेर्ने गरिन्छ । निश्चित क्षेत्रका मतदाता वर्षौंदेखि कुनै एउटा पक्षलाई उच्च स्थान दिलाउने भ¥याङ बन्न पाएकोमा लज्जाबोध या हीनताबोध नभई गौरवानुभूति गर्ने गर्दछन् । यस्तै संस्कारका कारण काङ्ग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी डा. आरजु राणा देउवाका लागि सर्वाधिक सुरक्षित निर्वाचन क्षेत्र पहिचान गर्न सहज भएको हो ।

यसपटकको निर्वाचनमा कम्युनिस्ट गठबन्धनले ‘स्थिर सरकार र विकास’का लागि आफूहरूले विजय हुनुपर्नेमा मुख्य जोड दिएको छ । उनीहरूले समाजवाद स्थापनाका निम्ति आफूहरूलाई स्पष्ट बहुमतभन्दा माथिको ‘पोजिसन’ आवश्यक भएको पनि बेसङ्कोच बताइरहेका छन् । यहीँनेर के स्मरण गर्नु उपयुक्त हुन्छ भने संसारभरिका तानाशाहरूको जो गैरप्रजातान्त्रिक ढङ्गले शासन चलाउन चाहन्छन्, तिनले दिने समान नारा भनेकै स्थिरता र विकासको हो । छिमेकी मित्रराष्ट्र चीनका नेताहरूको त मुखमै ‘स्थिरता र विकास’ झुन्ड्याएका छन् ।

यता नेपाली काङ्ग्रेसले चाहिँ यो निर्वाचनलाई लोकतन्त्र र अधिनायकवादबीचको जनमतसङ्ग्रहका रूपमा बुझेको र व्याख्या गरेको छ । कम्युनिस्ट पार्टीले विजय हासिल गरेको अवस्थामा परिणामलाई स्वीकार गर्नै नमिल्ने अवधारणा अर्थात् निष्कर्षमा काङ्ग्रेस पुगेको छ । आफूलाई प्रजातन्त्रको पक्षधर दाबी गर्ने काङ्ग्रेस पार्टीले आफैँले गराएको चुनावी परिणामलाई समेत अस्वीकार गर्नुपर्ने गरी विषय प्रस्तुत गर्नुलाई स्वाभाविक मान्न सकिँदैन । यदि यो निर्वाचन अधिनायकवाद र प्रजातन्त्रबीचको लडाइँ हो भने कम्युनिस्ट पार्टीले बहुमत ल्याएको अवस्थामा के काङ्ग्रेस पार्टीले त्यसलाई अस्वीकार गर्छ ? कि अधिनायकवादी शासनसत्ता स्थापित भएको भन्दै हर्षबढाइँ गर्छ कि त्यसविरुद्ध अर्थहीन सडक–सङ्घर्षमा उत्रन्छ ? काङ्ग्रेसले भनेजस्तै यो चुनाव अधिनायकवादसँगको लडाइँ हो भने त्यस्तो चुनाव अहिले नै खारेज गरेर लडाइँको अन्त्य गराउनुपर्ने होइन ! किन युद्ध रचेर जोखिम उठाउनुप¥यो ?

अर्कोतिर काङ्ग्रेस वृत्तबाट साम्यवाद र प्रजातान्त्रिक समाजवादबीचको प्रतिस्पर्धात्मक लडाइँका रूपमा यसको व्याख्या–विश्लेषण हुने गरेको पनि पाइन्छ । साम्यवाद कुनै एक या धेरै मुलुकमा स्थापना गर्न सकिने अवस्था–व्यवस्था होइन, यो संसारबाटै राज्यहरूको उन्मूलन गर्ने अवधारणा हो । त्यसैले चीन, भियतनामलगायतका कुनै पनि कम्युनिस्ट मुलुकले साम्यवाद स्थापनाको एजेण्डा अघि सारेका छैनन् । नेपालका कम्युनिस्टहरूले अघि सारेको पनि ‘समाजवाद’ मात्र हो, जुन एकदलिय अधिनायकवादी चरित्रको हुन्छ र ‘स्थायित्व र विकास’को नाममा विभिन्न उपायले टिकिरहन खोज्दछ । काङ्ग्रेसले अतिरञ्जना गरेर ‘साम्यवाद’को हाउगुजी खडा गर्न खोज्नु अपरिपक्वता या व्यर्थ प्रयास मात्र हो ।

निर्वाचनको मैदानमा केही राष्ट्रलाई अति आवश्यक पात्र र प्रवृत्ति प्रकट भएका छन् । जसलाई प्रतिनिधिसभासम्म पु¥याउँदा देशले राहत र गौरव महसुस गर्न सक्छ । तर, मैदानमा सकारात्मकभन्दा नकारात्मक पात्र र प्रवृत्तिहरूको उपस्थिति बलियो देखिँदै छ । अपराध कर्ममा निरन्तर संलग्नहरू, गुण्डा नाइके, तस्कर, भ्रष्टाचारी, देशद्रोही, समाज र सद्भावभाँडा, उपद्र्याहा, इमानदारीविहीन, अवसरवादी, आत्मकेन्द्रित र राजनीतिलाई व्यापार ठान्ने छुल्याहाहरू चुनावी मैदानमा यत्रतत्र सर्वत्र भेटिन्छन् । यस्ता पात्र र प्रवृत्तिलाई चुनावी मैदानमा पराजित गर्ने हो भने देशको भविष्य रक्षाका लागि जनताले समेत योगदान पुऱ्याएको ठान्न सकिन्छ । त्यस निम्ति नकारात्मक संसारका तीन प्रमुख पात्र बनेका प्रवृत्तिलाई मात्र अस्वीकार गरेर देखाउन सके भने देशका लागि जनता धन्य हुनेछन्, त्यस्तो प्रवृत्तिका प्रतीकात्मक पात्र हुन्– प्रचण्ड, सुवास नेम्वाङ र डा. आरजु राणा देउवा ।


नेपालको शान्त, सौम्य र अटल इतिहासलाई भताभुङ्ग बनाउने, समाज र सद्भाव भाँड्ने, निजी महत्वाकाङ्क्षा पूरा गर्न हजारौँ निर्दोष नागरिकको गर्धन रेट्न नहिचकिचाउने, देशभित्र बाह्य हस्तक्षेप र हस्तक्षेपकारी भूमिकालाई व्यवस्थित गरिदिने, राष्ट्रिय सार्वभौमिकता र राष्ट्रिय एकता तथा राष्ट्रियतालाई तहसनहस तुल्याउने, आफ्नो तुच्छ स्वार्थका निम्ति देशलाई दाउमा राख्ने, क्रान्तिका नाममा व्यापक लुट तथा भ्रष्टाचार गर्ने र नेपाली राजनीतिलाई हदैसम्म कुरूप, विकृति र अविश्वसनीय तुल्याउनेजस्ता दूषित कार्यको एकलौटी हकदार प्रचण्ड जनताको मत लिएर अर्को पाँच वर्ष हुँडारे रजाइँ गर्ने ढोका खोल्न चितवन पुगेका छन् । त्यहाँ उम्मेदवार बनेर गइसकेपछि यिनले हिंसात्मक युद्धकालमा आफूहरूबाट जघन्य अपराध भएको भन्दै बाँदरमुढे घटनाका लागि माफी मागेका छन् ।

यी प्रचण्ड खुला राजनीतिमा आएको बाह्र वर्ष नाघिसकेको छ, उम्मेदवार बनेर सोही क्षेत्रका जनताको मत लिन जानुअघि ‘बाँदरमुढे’ घटनालाई यिनी ‘बहादुरी’ ठान्थे र एकै ठाउँमा दर्जनौँ नागरिकको जीवनलीला समाप्त गर्न सकेकोमा गौरव महसुस गर्दथे । अहिले मत लिनका लागि यिनै व्यक्ति बाँदरमुढे घटनाप्रति दुःख प्रकट गर्ने नाटक प्रस्तुत गर्दै छन् । प्रचण्डले राजनीतिक आवरणमा अपराध र अपराधकर्मबाहेक थप केही गरेका छन् भने त्यो अपराध मात्र हो । प्रचण्ड–अपराधको वर्णन हजार जिब्रा भएका शेषनागले पनि गर्न सक्ने किसिमको छैन । यिनको अपराध जनता र देश दुवैका विरुद्ध लक्षित भएको हुँदा देशले यिनलाई एक खलपात्रका रूपमा पहिचान गरी दण्ड दिनु वाञ्छनीय हुनेछ । दण्ड प्रक्रियाको प्रारम्भ चितवनबाट हुन सक्यो भने चितवनवासी मतदाता स्तुत्य र धन्य हुनेछन् ।

यस्तै अर्का अत्यन्त शालीन, सौम्य र भद्र महसुस हुने, तर अक्षम्य अपराधमा सामेल प्रवृत्तिको नाम हो सुवास नेम्वाङ । सभामुखको हैसियतमा रहँदा बहुसङ्ख्यक जनताको भावना–चाहनाविपरीत, अदृश्य शक्तिको प्रलोभनमा फसेर, विश्वमा राष्ट्रिय पहिचानको एक मुख्य साधनको रूपमा रहेको ‘हिन्दूराष्ट्र’ मेट्ने र इसाईकरणलाई उच्च महत्व दिने जुन छलछामपूर्ण षड्यन्त्र गरे, त्यसका निम्ति यी सुवास नेम्वाङ मुख्य दोषी मानिन्छन्, यिनका ३१ गुण राम्रा रहेछन् भने पनि यही एउटा अपराध अक्षम्य र दण्डनीय बन्न पुगेको छ । इलामका जनतामा अलिकति पनि राष्ट्रियता भाव र प्रेम छ भने सुवास नेम्वाङ त्यहाँबाट यसपटक अस्वीकृत हुनुपर्छ–अस्वीकृत गरिनेछ ।

जनताले अस्वीकार गर्नैपर्ने अर्को प्रवृत्तिका रूपमा आरजु राणा देउवालाई लिनुपर्ने अवस्था छ । काङ्ग्रेसका तात्कालिक लोकप्रिय नेता शेरबहादुर देउवासँग २३ वर्षअघि स्वास्नीको नाता गाँसेकी आरजुलाई अचेल महारानी पनि भन्ने गरिन्छ । नेपाली काङ्ग्रेस र नेपालको प्रजातान्त्रिक आन्दोलनसँग कहिल्यै कुनै साइनो र सरोकार नभएको बरु वैरभावपूर्ण दृष्टिकोण भएको आरजु राणा शेरबहादुर देउवासँग विवाह गरेकै कारण काङ्ग्रेसको र देशको अधिपति हुन खोजिबक्सँदै छ । व्यक्तिगत रूपमा उहाँको योग्यता तथा क्षमतामाथि प्रश्न उठाइरहन आवश्यक छैन र निर्वाचनमा उम्मेदवार बन्न पाउने उहाँको नैसर्गिक अधिकारलाई चुनौती दिन पनि मिल्दैन । हामीले लेखमार्फत आह्वान गरेकै आधारमा ‘महारानीले चुनाव लड्ने कष्ट गरिबक्सेको क्षेत्र’ कैलालीका जनताले उहाँलाई मतदान नगर्ने र पराजित गरिदिने स्थिति पनि होइन । तथापि नेपाली राजनीतिलाई शुद्धीकरणको दिशामा लैजाने र नकारात्मक प्रवृत्तिलाई निरुत्साहित गर्ने हो भने आरजु राणालाई कैलालीका जनताले आफ्नो औकात महसुस गराइदिन आवश्यक देखिन्छ । शेरबहादुर देउवा विगत २७ वर्षदेखि कुनै न कुनै रूपले शक्ति र सत्तामा छन् । २२ वर्षभित्र चारपटक त देउवा प्रधानमन्त्री नै बनिसकेका छन् ।

यसरी देउवा पटक–पटक शक्तिशाली जिम्मेवारीमा रहँदा आरजु महारानीको नाम कुशल गृहिणी, सहयोगी या समाजसेवीका रूपमा सार्वजनिक भएन । पति देउवाको सार्वजनिक काममा हस्तक्षेप गर्ने, आफ्नो पक्षपोषण गर्ने र पाइला–पाइलामा नगद सङ्ग्रह गर्ने शैली र चरित्रका कारण उहाँलाई कुनै बेलाकी बद्नाम महारानी ऐश्वर्यसँग तुलना गरेर हेर्न थालिएको हो । मान, पद, प्रतिष्ठा र उचित जिम्मेवारी पाउन बडामहारानी ऐश्वर्यलाई रिझाउन आवश्यक भएजस्तै देउवा वास्तविक नेता भए पनि उनको शासनकालमा कुनै पनि स्तरको अवसर प्राप्त गर्न आरजु महारानीलाई प्रसन्न तुल्याइन आवश्यक छ, तर ‘भेटी’बाहेक अरू कुनै पनि कुराले महारानी प्रसन्न होइबक्सन्न भन्ने आमगुनासो छ । यदि आरजुमा अवाञ्छित महत्वाकाङ्क्षा र सत्ताको अहङ्कार थिएन भने उनले अझै केही वर्ष धैर्यधारण गर्न सक्नुपथ्र्यो । नेपाली काङ्ग्रेसमा प्रजातन्त्रका लागि लामो लडाइँ लडेका हजारौँ कार्यकर्ता अवसरबाट वञ्चित छन्, तथापि तिनले धैर्यधारण गरिरहेकै छन् । तर, आफ्नो लोग्ने शक्तिशाली भएको मौका छोपेर आरजु महारानीबाट कुनै पनि अवसर नछोड्ने जुन व्यवहार प्रस्तुत भएको छ यसले उहाँको दीर्घ आरोग्य दर्शाउँदैन । उहाँले ‘पुरुषहरू भ्रष्ट हुन सक्छन्, तर एउटी महिला कहिल्यै भ्रष्ट हुन सक्दिनन्’ भन्ने केही वर्षअघिसम्मको मान्यतालाई पनि पूरै भङ्ग गराइबक्सेको छ । महिलाहरू सधैँ इमानदार हुन्छन् भन्ने अवधारणामा आरजु महारानीले पूराका पूरा परिवर्तन ल्याइबक्सेको छ । महिलाले अवसर पाए भने ‘बहुत खुब’ गर्न सक्छन् भन्नेहरूको मुखै थुनिने गरी महारानीबाट ‘पौरख’ देखाइबक्सेको छ ।

परजीवी राजनीतिलाई निरुत्साहित गर्न, पति, पिता या पारिवारिक सदस्यको शक्तिका आडमा सबैलाई उछिन्ने गरी ‘पेनाल्टी’ हान्ने बेलामा मात्र अघि सारिने प्रवृत्तिलाई हतोत्साही गर्न, राजनीतिलाई स्वाभाविक र मर्यादित बनाइराख्न, ऐंजेरु प्रवृत्तिलाई राजनीतिबाट क्लिन गर्न, भ्रष्टाचारलाई निरुत्साहित गर्न, कृत्रिम ढङ्गले नेता बन्ने प्रवृत्तिलाई विस्थापित गर्न र राजनीतिलाई केवल व्यापार ठान्नेहरूलाई भोलिको राजनीतिमा निषेध गर्न आरजु राणालाई कैलालीका जनताले अस्वीकार गर्नु उपयुक्त हुनेछ । आरजु महारानीलाई आफ्नो औकातमा बस्न कैलालीवासी जनताले सहयोग पु¥याए भने देशका निम्ति कैलालीवासीहरूले पुऱ्याएको सबैभन्दा ठूलो योगदान यही हुनेछ ।