नयाँ पुस्ता कहिले आउने ?

नयाँ पुस्ता कहिले आउने ?


■ बबिता बस्नेत

धेरै वर्षदेखि राजनीतिमा संलग्न नेताहरूको चुनावी दौडधुप तीव्र छ । त्यस्ता नेताहरू जसलाई दौडधुप गर्न अब उमेर र स्वास्थ्यले खासै साथ दिइरहेको छैन, जसलाई जिन्दगीमा अब आरामको आवश्यकता छ, जसले विगतमा कुरा त धेरै गरे, तर कुराअनुसारको काम गरेनन् । मुलुकमा शान्तिको कुरा गर्नेहरू एक–अर्कामा भने कहिल्यै मिलेनन्, अशान्त मनबीच शान्तिका वार्ता, छलफल र कुराकानी असहज लाग्थे । भनाइ र गराइबीचको दूरी लामो बन्नेक्रममै उनीहरू निर्वाचनमा होमिएका छन् । विभिन्न दलमा भएका युवा जसले मुलुकमा परिवर्तन ल्याउन सक्थे, नयाँ भिजनका साथ अगाडि बढ्न सक्थे, जो चुनाव लड्न चाहन्थे, जनतामाझ जान चाहन्थे, तीमध्ये धेरैले टिकट पाएनन् ।

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेबाहेक ठूला दलका अध्यक्षहरू सबै नै चुनावी मैदानमा छन् । चुनावी मैदानमा भएका नेताहरूभन्दा ‘अब म चुनाव लड्दिनँ’ भनेर युवा पुस्तालाई अगाडि बढाउने बिजुक्छेप्रति सर्वसाधारणको सम्मान बढेको छ । संयोग नै मान्नुपर्ला, बिजुक्छेले अब नयाँ पुस्ता आउनुपर्छ भनेर उम्मेदवारी नदिने घोषणा गरेपछि भक्तपुरमा दमननाथ ढुङ्गानाको उम्मेदवारी पऱ्यो । उहाँ लामो समयदेखि सक्रिय राजनीतिक जीवनबाट थकाइ मारिरहनुभएको थियो । राजनीतिबाट मानिसलाई कहिल्यै पनि मुक्त हुन मन लाग्दैन रहेछ भन्ने कुराको उदाहरणका रूपमा दमननाथ ढुङ्गानाको उम्मेदवारीलाई लिन सकिन्छ । अचम्म ! धनराज गुरुङहरू थन्क्याइए, दमननाथ ढुङ्गानाहरूलाई अघि बढाइयो ।

अहिले राजनीतिमा जुन माहोल देखिएको छ त्यो हेर्दा नयाँ पुस्ताका हातमा आउनका लागि राजनीतिले लामै समय पर्खिनुपर्नेछ । जिन्दगीको अन्तिम समयसम्म राजनीतिमा रमाइरहने चाहनाले नेताहरूलाई न त मुलुक बनाउनमा प्रेरित गऱ्यो न त जिन्दगी नै आनन्दसँग बाँच्न पाए । जिन्दगी आनन्दसँग बाँच्नु भनेको कहिलेकाहीँ सजिलोसँग ओछ्यान लाएर निर्धक्कसँग निदाउनु पनि हो । यसले सत्ता लेला कि उसले लेला, ऊ अघि बढ्ला कि त्यो अघि बढ्ला, उसले खाइसक्ला कि त्यसले खाइसक्ला, यताबाट लिऊँ कि उताबाट लिऊँ, आफू र आफ्नालाई कताबाट उकासुँ, अरूलाई कसरी पछारुँ भन्दाभन्दै मुलुकले विकसित हुने मौका पाएन । यसबीचमा धेरै नेताहरू विकसित भए, को–कति भए जगजाहेर नै छ । राजनीतिक रूपमा मात्र होइन, व्यक्तिगत जीवनमा पनि उहाँहरूले सुरक्षित महसुस गर्न सक्नुभएको छैन । असुरक्षित महसुस गर्दागर्दै जिन्दगीको अन्तिम अवस्थामा पुग्नु कुनै पनि अर्थमा सफल जीवन होइन । मान्छे हुनुको अर्थमा मृत्यु निश्चित छ, सबैतिरबाट सुरक्षित महसुस गरेर, युवा पुस्तालाई ‘हामीले सक्ने गऱ्यौं, अब तिमीहरूको पालो’ भनी राजनीति हस्तान्तरण गरेर सन्तोषपूर्वक यो संसार छोड्ने नेताहरूको नाम लिन पाइएलाजस्तो देखिँदैन ।

पाँच वर्षअगाडिको कुरा हो, पूर्वराजा ज्ञानेन्द्र सपरिवार केही समय धनगढीको रुबस होटेलमा बस्नुभएको थियो । उहाँ राजधानी फर्किएपछि एमाओवादी नेता प्रचण्ड सोही होटेलमा बस्न पुग्नुभो । संयोगले प्रचण्ड फर्कनुभएकै दिन यो पङ्क्तिकार उक्त होटेलमा पुगेकी थिएँ । त्यहाँ कार्यरत एकजना भाइलाई तपाईंहरूकोमा त पूरै भीभीआईपीहरू बसे है भन्दा उनले बढो उत्साहित भएर हो नि, राजा र प्रचण्ड दुवैलाई मैले नै खानेकुराहरू ‘सर्भ’ गरेँ भनेँ । राजा र नेता प्रचण्डकाबीच तुलना हुने या गर्ने कुरा थिएन । तैपनि कुराकानी गर्दै जाँदा उनले भने, ‘राजालाई सधैँ रिल्याक्स मुडमा र प्रचण्ड त्रसित मुद्रामा देखियो । मैले खाना लिएर जाँदा राजाले सधैँ थ्याङ्कयू, हाउ आर यु ? भनेर सोध्नुभो । प्रचण्डले जहिले पनि ढोकाबाहिर कोही छ कि भनेर झ्याल–ढोकातिर हेर्नुभो । कोही आउने हो कि, केही गर्ने हो कि भनेर प्रचण्ड सधैं डराइरहेझैँ देखेँ ।’ यताबाट कोही आउला कि कसैले केही गर्ला कि भनेर त्रसित जिन्दगी कुनै पनि अवस्थामा सफल जीवन होइन । त्यस्तो राजनीति सफल राजनीति पनि होइन । प्रचण्ड मात्रै होइन धेरै नेताहरू आफू माथि केही भइहाल्ला कि भन्ने त्रासमा छन् । त्रास मानी–मानी राज्य सञ्चालन गर्नेबाट शान्तिपूर्ण परिणाम खोज्नु नागरिकको ठूलो भूल हो ।

युवा नेताको उपाधि कायमै रहेका बेला ७६ वर्षको उमेरमा नेपाली काङ्ग्रेसका नेता तथा पूर्वप्रधानमन्त्री सुशील कोइरालाको निधन भयो । अन्तिमका केही वर्ष उहाँ अस्वस्थ हुनुहुन्थ्यो । तर, जीर्ण हुँदै गएको उहाँको शरीरलाई आराम गर्न दिइएन । उहाँले पनि शायद चाहनुभएन । जबर्जस्ती सभापति, प्रधानमन्त्रीजस्ता पदहरूमा उठाइयो । उहाँ सधैँ थकित देखिनुहुन्थ्यो । दुःखलाग्दो कुरा के छ भने केही समय आनन्दसँग बाँच्नै नपाई उहाँले यो संसार छोडेर जानुभो । जिन्दगी प्राप्त गर्नु आफैँमा ठूलो कुरा हो, यसलाई शान्तिपूर्ण बनाउनु र शान्तिपूर्वक बाँच्नु जीवन सफल जीवनको सूचक हो ।

राजनीति गर्दैमा शान्ति नपाइने या प्राप्त नहुने होइन । मुलुकलाई सम्पन्न बनाएर, मुलुकमा दूरगामी शान्ति छाउने प्रकारको विकास गरेर आनन्दसँग अवकाश लिने मानिसहरूको सूची यो दुनियाँमा लामो छ । तर, हामीकहाँ भने बाँचुञ्जेल राजनीति गर्ने र सकेसम्म आफू शक्तिमा हुँदै देहत्याग गर्ने इच्छा नेताहरूमा देखिन्छ । त्यसो त, शान्तिपूर्ण राजनीति गर्न खोजेका महात्मा गान्धीले के पाए त ? उनले अरूबाट मारिनुपऱ्यो भन्ने तर्क गर्न सकिएला । तर, उनले कोरिदिएको शान्तिको खाकाले अहिलेसम्म उनको मुलुकलाई अघि बढाइरहेको छ ।

नयाँ पुस्ता आउँदैमा मुलुक कायापलट हुने होइन । पुरानाहरू आउनै नहुने पनि होइन, तर सधैँ एकैनासका नेताहरूले शासन गर्दा मुलुकको अवस्था के छ भनेर अब जनताले सोच्नु र किन यस्तो भयो भनेर बुझ्नु आवश्यक छ । उहाँहरूको सक्रिय राजनीतिले भन्दा पाको अनुभवको मार्गदर्शनले युवाहरूलाई आफ्नो भिजन परिमार्जित गर्न मद्दत पुग्नेछ । पुरानो पुस्ताको कामै छैन या उहाँहरूको अनुभव लिनुहुन्न भन्नु भूल हुनेछ । सही सुझाबहरू प्राप्त गर्ने अवस्था भएमा लिँदै युवापुस्ताले मुलकको राजनीतिलाई अगाडी बढाउनुपथ्र्यो ।

तर, जुन रूपमा अहिले निर्वाचनमा टिकटको बाँडफाँड भयो र उम्मेदवारहरू तय गरियो यसलाई हेर्दा अहिलेका युवा पुस्तासम्म राजनीति पुग्दा युवाहरू वृद्धवृद्धा भइसकेका हुनेछन् भन्न सकिन्छ । नयाँ जोस–जाँगर मर्दै गएर उत्तराद्र्धतिर पुगेपछिको अवसरले उत्तरदायित्व निर्वाह गर्न कठिन अवस्थामा पुगिसकेको हुनेछ । प्रकृतिले सधैँ एकनासको बनाइरहँदैन र त्यो नबनाउनका लागि अनेक चरणहरू, वसन्त र शिशिरहरू छुट्याइदिएको कहिले के गर्ने सोचेर अघि बढ्दा आफूलाई पनि राम्रो देशलाई पनि राम्रो ।