चीनबारे एघार नौला कुरा

चीनबारे एघार नौला कुरा


महाशक्तिको रूपमा उदाइरहेको मुलुक चीनको शासकीय कमान्ड पुनः सी जिनपिङकै हातमा रहेको सन्दर्भले चीन यतिबेला विशेष चर्चामा छ । छोटो समयमा तीव्र आर्थिक विकास गरेर चीनले विश्वमञ्चमा आफ्नो अलग प्रभाव जमाउन थाले पनि विशाल जनसङ्ख्या रहेको यस मुलुकबारे प्रकाशमा नआएका थुप्रै कुरा छन् । के रहेछन् त चीनबारे खास प्रकाशमा नआएका कुरा, जानौँ ।

० महाविकसित देश अमेरिकाले नौ वर्ष अवधिमा जति सिमेन्ट प्रयोग गऱ्यो, त्योभन्दा ज्यादा सिमेन्टको प्रयोग केवल तीन वर्षमै चीनले गरेको थियो । सन् २०११–२०१३ मा चीनले ६ हजार ६ सय १५ मिलियन टन सिमेन्ट निर्माण कार्यमा उपयोग गरेको थियो ।

० सबभन्दा पहिले आइसक्रिमको आविष्कार इसापूर्व २००० को आसपासतिर चीनमा भएको थियो । चीनले पहिलो आइसक्रिम दूध र चामल मिलाएर बनाएको थियो ।

० केचप पनि मूलतः चीनकै आविष्कार मानिन्छ । मसलेदार माछाको सस पनि यहीँकै उपज हो ।

० विशाल भूभाग भए पनि चीन एउटै ‘टाइम जोन’मा पर्ने देश हो ।

० बढ्दो वायु प्रदूषणका कारण चीनमा टिनको बट्टामा प्याक गरेर हावा (अक्सिजन) बिक्री गरिन्छ । ‘तिब्बतको असली हावा’जस्ता नाम दिएर विभिन्न ब्रान्डका हावा बेच्ने व्यापार त्यहाँ फस्टाइरहेको छ ।

० फुटबल खेलको श्रेय पनि चीनलाई दिइन्छ । फिफाको आठौँ अध्यक्ष सेप ब्लाटरले पनि फुटबलको सुरुवातका लागि चीनलाई श्रेय दिएका थिए । चीनमा दोस्रो–तेस्रो शताब्दीतिर फुटबल खेलको खोज भएको मानिन्छ ।

० आधिकारिक तवरले चीन नास्तिक देश हो, तर यहाँ इटलीमा भन्दा बढी इसाई धर्मावलम्बी छन् । इटलीमा ४.७ करोड मानिसले इसाई धर्म मान्छन् भने चीनमा यो धर्मका अनुयायी ५.४ करोड छन् । छिट्टै चीन संसारकै सबभन्दा धेरै इसाईवासी मुलुक बन्ने सम्भावनासमेत औँल्याइएको छ ।

० चिनियाँहरू कुकुरको मासु स्वाद मानेर खान्छन्, तर पछिल्लो समय कुकुर खानेभन्दा कुकुर र बिरालोजस्ता जनावरलाई घरमा पाल्ने ट्रेन्ड देखापरेको छ । सर्पको मासुचाहिँ अझै पनि चिनियाँको प्रिय व्यञ्जनमा पर्दछ ।

० एक दिनमा १७ लाख बंगुर खपत गर्ने चीनमा सुँगुर (बंगुर)को मासु सबभन्दा बढ्ता मन पराइन्छ ।

० पारम्परिक रूपले चिनियाँ महिला विवाहमा रातो रङको कपडा पहिरिन्छन् । रातो रङलाई चीनमा लक्की कलर मानिन्छ भने पश्चिमाहरूले विवाहमा प्रयोग गर्ने सेतो रङलाई त्यहाँ मृत्युको प्रतीक ठानिन्छ ।

० जनसङ्ख्याको आधारमा भन्नुपर्दा विश्वका हरेक पाँचौँ व्यक्ति चिनियाँ हुन्छन् ।