‘पाकिस्तान–नेपाल सुखदुःखका साथी’

‘पाकिस्तान–नेपाल सुखदुःखका साथी’


नेपालका लागि पाकिस्तानका राजदूत मजहर जावेदले पाकिस्तान र नेपालीबीचको सम्बन्ध अत्यन्त सुमधुर रहेको चर्चा गर्दै दुवै देश सुखदुःखका साथी भएको बताएका छन् ।

नेपाल विश्व सम्बन्ध परिषद्ले आज ललितपुरमा आयोजना गरेको ‘नेपाल–पाकिस्तान सम्बन्ध’ विषयक प्रवचनमा उनले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का संस्थापक मुलुक पाकिस्तान र नेपालले कठिन अवस्थामा पनि सहकार्य गर्दै आएका बताए ।

सरकारीस्तरमा मात्र नभई जनस्तरमा समेत पाकिस्तान र नेपालबीच सुदृढ सम्बन्ध रहेको बताउँदै उनले पाकिस्तानमा प्राकृतिक विपत्ति परेका बेला नेपालले मानवीय सहायता उपलब्ध गराएको र पाकिस्तानले पनि नेपाललाई दैवी प्रकोपका समयमा नैतिक एवं भौतिक सहयोग एवं समर्थन गर्दै आएको स्मरण गरे ।

नेपालको निर्वाचन तथा पाकिस्तानको आन्तरिक विषयका कारण पाकिस्तान–नेपाल परामर्श संयन्त्र र आर्थिक सहयोगसम्बन्धी दुईपक्षीय बैठक हुन नसकेका भन्दै राजदूत जावेदले ती बैठक शीघ्र हुनेमा आफू आशावादी रहेको बताए ।

राससका अनुसार सार्क शिखर सम्मेलन आयोजना गर्न पाकिस्तान तयार रहेको बताउँदै उनले क्षेत्रीय विकासका मुद्दालाई राजनीतिक मामिलाले ओझेलमा पार्न नहुनेमा उहाँले जोड दिए ।