केकीले भनिन्- ‘मलाई लभ गर्ने धेरै छन् !’

केकीले भनिन्- ‘मलाई लभ गर्ने धेरै छन् !’


नाम जति युनिक या फरक खालको छ, त्यत्ति नै फरक शैलीको काम र सिनेमा वृत्तमा उपस्थिति जनाउन हरदम लालायित देखिन्छिन् उनी । उनी अर्थात् अभिनेत्री केकी अधिकारी ।

केकीको परिवारले के सोचेर उनको नाम फरक खालको राखे, उनी स्वयम्लाई पनि थाहा छैन । तर अरूको अनुपातमा फरक नामअनुसार नै आफ्नो क्षेत्र र पेशाप्रति उनमा रहेको कौशलता र कलाले वाहवाही नै कमाइरहेको छ । दुई ‘क’ अर्थात कला र कौशलतामा जमेकी छिन् यतिबेला केकी । उनको रगतमा नै अभिनय थियो । नाट्यकर्मी बद्री अधिकारीकी सुपुत्री केकीले अभिनय र कलाकारिताको माहोल परिवारबाटै पाइन् । त्यही जग बलियो भएका कारण आज उनि राम्रोसँग उभिन सकेकी छिन् र उनको अभिनयको घर कसैले हल्लाउन सकेको छैन । ‘धनलाई महत्व नदिई कलाकारितामै जीवनपर्यन्त लाग्ने सोचका साथ अगाडि बढेको छु । नेपालमा कलाकारिता गरेर कसले नै कमाएको छ र मैले कमाउनु ? कलाकारिता प्यासन हो, यही प्यासनले नै तानेको हो’– केकी भन्छिन् ।

पछिल्लो पटक केकीलाई चर्चामा ल्यायो चलचित्र ऐश्वर्यले । यो चलचित्रमा उनले निभाएको चन्चले र बिन्दास युवतीको सहज अभिनयको सबैले खुलेर तारिफ गरे । ‘यो भूमिका त अरू कसैले पनि निभाउन सक्दैनथ्यो !’ उनको बारेमा यस्तो कुरा पनि आयो । ‘म नै सर्वोत्कृष्ट भनेर मैले दाबी गर्न मिल्दैन । कोशिश गरेको हुँ र मेरो कामलाई दर्शकहरूले मनपराइदिनु भयो’, उनले भनिन् ।

कलाकारितालाई निरन्तरता दिने क्रममा केकी अब आफ्नो परिचयलाई अलि फराकिलो पार्दैछिन् । अभिनयमा मात्र सीमित उनको उपस्थितिमा अर्को परिचय थपिएको छ निर्माता । आफ्नै लगानीमा केकीले बनाउन लागेको चलचित्र कोहलपुर एक्सप्रेसको अहिले छायाङ्कन भैरहेको छ । कसरी आयो त चलचित्र बनाउने सोच ? जबाफमा उनले भनिन्– सपना थियो मेरो चलचित्र निर्माण । त्यो सपना पुरा भयो ।’ उनी प्रसन्न छिन् । त्यसो त अन्य विधामा चलचित्र क्षेत्रका बारेमा लगानीको हिसाबले सकारात्मक सन्देश प्रवाह गर्नका लागि पनि कलाकारहरूले चलचित्र निर्माणामा हात हाल्नुपर्ने धारणा उनको छ । ‘हामीले नै यो क्षेत्र लगानीको पक्षबाट सुरक्षित छ भनेर भन्न सकेनौँ भने अरू कसले भन्छ ? यो हाम्रो जिम्मेवारी पनि हो ।’ घतलाग्दो पाराले भनिन् उनले ।

प्रायः फरक भूमिका र फरक कामका कारण चर्चामा आउन रूचाउने केकीलाई फेरि अर्को चलचित्र रज्जा रानीमा पनि फरकै रूपमा देख्न पाइने भएको छ । ‘त्यसकारणले पनि मैले यो चलचित्रमा काम गरेको हुँ । यसमा ढांटेको छैन मैले, सिनेमा रिलिज भएपछि थाहा हुन्छ ।’ उनले भनिन् ।

धेरै अभिनेत्रीहरू सिनेमा क्षेत्रमा आए, गए । धेरैको माया र सम्बन्धका कुराहरू पनि आए, तर केकी मात्र यस्ती कलाकार हुन् जसको नाम यो चक्करमा देखिंदैन । धेरैले केकीलाई सोध्ने पनि गर्छन्– ‘तपाईंको कसैसँग लभ परेको छैन ? अरूहरूको त समाचार पढ्न पाइन्छ तर तपाईंको पाइँदैन !’ यसबारेमा केकीले भन्ने गरेकी छिन– ‘मलाई लभ गर्ने धेरै दर्शकहरू हुनुहुन्छ । त्यसैले कुनै एकजनालाई मात्र माया गरेर म मेरा तमाम दर्शकहरूको चित्त दुखाउन चाहन्नँ ।’

– राजन घिमिरे