‘प्याराडाइज पेपर्स’को खुलासा : कर छल्न महारानी एलिजावेथको गोप्य लगानी !

‘प्याराडाइज पेपर्स’को खुलासा : कर छल्न महारानी एलिजावेथको गोप्य लगानी !


बेलायतकी महारानी एलिजाबेथलगायत संसारका धनाढ्य तथा शक्तिशाली नेताले कर छल्न गोप्य रूपमा लगानी गरेको खुलासा भएको छ ।

बीबीसी प्यानोरामालगायत संसारका करिब एक सय सञ्चारमाध्यमको समूहले सार्वजनिक गरेको ‘प्याराडाइज पेपर्स’ले उक्त खुलासा भएको हो ।

हालै सार्वजनिक गरिएको तथ्यांकमा यसको आम्दानीबाट महारानीले ५० करोड पाउन्ड बराबरको निजी सम्पत्ति व्यवस्थापन गर्दै आएको र १ करोड ३० लाख अमेरिकी डलर बराबरको निजी रकम बाह्य कम्पनीमा लगानी गरेको खुलासा भएको छ ।

प्याराडाइज पेपर्सले १ करोड ३४ लाख गोप्य वित्तीय विवरण छानबिन गरेको हो । जसमा कर छल्ने प्रयोजनले गरिएको बाह्य लगानीसँग सम्बन्धित छन् ।

प्याराडाइज पेपर्सका अनुसार उक्त रकम केमन द्विप तथा बर्मुडाको एउटा कोषमा लगानी भएको पाइएको छ । राजपरिवारबाटै यसरी बाह्य कम्पनी वा कोषमा लगानी गर्नुले नैतिक प्रश्न भने खडा गरेको छ ।

महारानीको निजी सम्पत्तिबाट ‘रिटेलर’ कम्पनी ब्राइटहाउसमा पनि लगानी भएको तथ्यांकले देखाएको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका विश्वासपात्र वाणिज्य सचिव विल्बर रसको नाम पनि यसमा मुछिएको छ ।

बीबीसीका अनुसार उनले एक सिपिङ कम्पनीमा कर छली गरी लगानी गरेका छन् । जसले रुसी ऊर्जा कम्पनीलाई तेल र ग्यास आपूर्ति गरेर वर्षकै दसौं लाख डलर कमाउँछ ।

उक्त सिपिङ कम्पनीमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका ज्वाईं तथा अन्य दुई जना व्यक्ति सेयरधनी पनि छन् ।

ठूला राजनीतिक नेता, बहुराष्ट्रिय कम्पनी, सेलिब्रिटी तथा धनीहरूले आफ्नो वास्तविक सम्पत्ति लुकाएर कर छल्न यस्तै देशमा लगानी गरेको पाइएको छ ।

खोज पत्रकारहरूको अन्तर्राष्ट्रिय महासंघ(आइसीआईजे) मा आबद्ध सञ्चारमाध्यमहरूले संयुक्त रूपमा ती गोप्य विवरण हात पारेर अनुसन्धान बढाएका हुन् ।

एक वर्षअघि आइसीआइजेकै सक्रियतामा पनामा पेपर्स सार्वजनिक भएको थियो । त्यसमा नाम मुछिएपछि पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफसहित केही देशका सरकार प्रमुखले राजीनामा दिएका थिए ।

सार्वजनिक विवरण प्याराडाइज पेपर्सको सानो हिस्सा मात्र भएको बीबीसीले जनाएको छ ।

उक्त विवरणमा भेटिएका तथ्य यो साताभरि क्रमशः सार्वजनिक गरिनेछ । यसबाट संसारका सयौं प्रतिष्ठित व्यक्ति तथा कम्पनीले कर छल्न कसरी बाह्य मुलुकमा लगानी गरेका छन् भनी खुलासा हुनेछ । (एजेन्सी)