यसो गरे कसो होला ?

यसो गरे कसो होला ?


मानव शरीरका अङ्गहरुलाई स्वचालित र परचालितका रुपमा वर्गीकरण गर्ने हो भने परचालित अङ्गहरुको चाललाई मस्तिष्क मण्डलबाट निर्देशन भएको पाइन्छ । के मस्तिष्कलाई निर्देशन हुँदैन होला ? निर्देशन हुने भए कसले गर्दो होला ? भन्ने सन्दर्भले ठोस रुपमा वस्तुगत उत्तर नपाए पनि भावनात्मक हिसाबले चित्तबुझाइ ‘सम्बन्धित म’ ले गरेको हुनुपर्छ भन्ने अनुभूति गरियो । फेरि समग्र शरीर नियाल्दा मेरो कपाल, मेरो मुटु, मेरो दौरा, मेरो घर… भनिन्छ तर ‘म’ भन्ने भेटिंदैन । वास्तवमा ‘तिमी’ नभै ‘तिम्रो’ हुँदैन भने ‘म’ नभै ‘मेरो’ पनि नहुनै पर्ने हो । यस हिसाबमा कसैले हेर्न, देख्न, छुन नसकिने तर अनुभव गर्न सकिने व्यहोरा ‘म’ हुनुपर्दछ र सामान्यार्थमा यसैलाई ‘आत्मा’ भनिन्छ भन्ने व्यहोराले मन थुम्थुम्यायो ।

यस मानेमा आत्मा-आत्माको मिलनबिन्दु परमात्मा/देवीदेवता/भगवान/ईश्वर मान्न सकिन्छ । अनि यिनीहरुको बसाइ/विश्राम मन्दिर, मस्जिद, गिर्जाघर, चैत्य आदिमा हुने विस्वास मानेर सबै आत्माहरु आफ्नो पायकको परिभाषा बमोजिमका मन्दिर, मस्जिद, चैत्यादिमा गई आफ्नो आत्माको मिलनबिन्दु – परमात्माको दर्शन गरी आफ्नो पिरको विनिमय सुख शान्तिसँग गरेको महसुस गर्दछन् ।

यो व्यहोरा हिन्दू धर्मावलम्बीहरुको हकमा मिलाउँदा ठाउँ-ठाउँमा मन्दिरहरुको निर्माण गरी देवी-देवताहरुको वासस्थानका रुपमा परिभाषा गरिएको छ । यसपटकको दशैं-तिहारको बिदामा बाग्लुङकालिका देवी, गलेश्वर बाबा (म्याग्दी), विन्ध्यवासिनी माई (पोखरा)को दर्शन गर्ने अवसर मिल्यो ।

देवीको दर्शनस्थलमा पशुपंक्षीको बली चढ्ने साविकको प्रचलनमा हाल सुधार हुँदै आएको रहेछ । मन्दिरमा जटासहितको नरिवल चढाएर बलीबाट पाइने आशिष पाउन सकिने व्यवस्थाप्रति श्रध्दालु भक्तजन विश्वस्त हुँदा यो सम्भव हुन गएको महसुस भयो । आत्मिक शान्तिका लागि गरिने देवी दर्शनमा पशुबलि चढाउनुपर्ने व्यहोराले शाकाहारीहरुको मन कुँढिने गरेकोमा उल्लिखित प्रथाले ठूलो राहत पुर्‍याएको पाइयो भने मन्दिर परिसरको सफाइमा पनि ठूलो योगदान पुगेको रहेछ ।

बाग्लुङकी देवीको दर्शन गरी बाहिरिंदा गेटसँगै, शायद मन्दिर व्यवस्थापन समितिकै पहलमा निर्माण भएका स्टलहरुमा फूल-प्रसाद याने पूजा सामग्रीहरुको बिक्री केन्द्रहरुमा नयनेश्पर्स हुन पुग्यो । त्यहाँ हरेक स्टलमा जटासहितको नरिवलहरुको चाङ लगाइएको देखिन्थ्यो । पूजा सामग्रीमा समावेश नरिवल, अबिर, केशरीदेखि धागोका माला र प्रसादसम्म अस्थानीय उत्पादन लाग्दथे । सङ्ख्याको हिसाबले प्लाष्टिकका टोकरी, फूल, चामल, जौ, तील, बटारे र सिन्के धूप गरी बढी हिस्सा स्थानीय उत्पादन देखिन्थे र पनि मूल्यका हिसाबले जम्माजम्मी रु. १८०-२०० पर्ने पूजा सामग्रीमा जटासहितको नरिवलको मात्रै ८०-१०० रुपैया पर्दथ्यो । स्थानीय सामानमा गणना भएको प्लाष्टिक टोकरीहरु बिक्रीका लागि थिएनन् फिर्ता गर्नु पर्दथ्यो भने शेष सामग्रीको मोल मुस्किलले ५० रुपैया पर्दथ्यो । यसरी हेर्दा भक्तजनहरुको खर्चको अधिक लाभ अस्थानीय उत्पादनको हिस्सामा परेको देखिन्थ्यो ।

त्यहाँ मन्दिरभित्र धूप बाल्ने, अक्षताले पूजा, टिका प्रसाद ग्रहण गर्ने जस्ता सनातनी व्यहोरामा बन्देज लगाइएको थियो । हुन त अचेल अधिकाँश मन्दिरहरुमा धूप बाल्ने, नरिवल फोर्ने जस्ता कार्य मन्दिर परिसरमा तोकिएको स्थानमा मात्र गर्ने गरेको पाइन्छ । त्यहाँ पनि अबिर मिसाइएको चामलको अक्षता (?) को टिको लगाउन मूल मन्दिरको पश्चिमोत्तर छेउमा ठाउँ तोकिएको रहेछ । टिका लगाइदिने व्यक्तिहरु मन्दिर व्यवस्थापन समितिले नै खटाएको रहेछ । कतिपय मन्दिरको बाहिरपट्टि तथाकथित पण्डित लाग्नेहरुले यो कार्य गर्ने गरेको पाइन्छ । तर त्यहाँ मिलाइएको उल्लिखित बन्दोवस्तले मन्दिर वरिपरि सफाइ कायम गर्न ठूलो योगदान पुगेको देखिन्थ्यो ।

टिकाको मेसोमा एकपटक अक्षताको सन्दर्भ नियालौं । अक्षताको अर्थ कतै घाउचोट नलागेको, क्षत नभएको, सग्लो भन्ने हो । अक्षतको बहुवचनका रुपमा अक्षता लिंदा पनि मिल्ने देखिन्छ । र पनि अक्षताको माने चामलको सग्ला गेडा भनेर नेपाली बृहत् शब्दकोशमा अर्थ्याइएकोछ । हामीकहाँ तिर बडादशैंमा टिका बनाउँदा धान खोल्स्याएर केही गेडा भए पनि सग्ला तयार पारेर अरु खँड्यौलिएका वा कनिकिएका चामल मिसाएर अक्षता बनाउने गरिन्थ्यो, जुन समग्रतामा अक्षता रहेनछन् । यसरी हेर्दा वास्तवमा अक्षता भन्नु जौ र तिल रहेछ । किनभने, तिललाई क्षत गर्‍यो भने निफन्दा त्यसको अस्तित्व उडेर बाहिरिन्छ, यसमानेमा जतिपनि तिल छन्, ती सबै अक्षता/सग्ला मात्रै हुनेभए । त्यस्तै जौलाई पनि क्षत गर्न अर्थात् टुक्रा पार्न भिजाएर विशेष प्रयत्न गर्नुपर्दछ, योमानेमा भण्डारमा थन्क्याइएका जौ पनि सबै अक्षता/सग्ला नै हुनेभए । त्यसैले हरेक कार्यहरुमा जौतिलानीका अक्षतालाई अनिवार्यै गरिएको हुन्छ ।

बरु चन्दन, अबिर, केशरीलाई पनि ‘अक्षत’कै हिसाबमा लिन सकिन्छ । किनभने चन्दन, अबिर, केशरीलाई सग्लो र टुक्रिएको भनेर जनाइरहनु पर्दैन । करिब एक दशक पहिले मैले नीरूलाई पत्र नामक प्रबन्ध सङ्ग्रह प्रकाशन गर्दा त्यसमा परिचयका दुई शब्द लेखिदिन आग्रह गरेबमोजिम त्यसैमा समेटिएको ‘एक सिताको पनि मूल्य हुन्छ’ भन्ने शीर्षकको सिताको आत्मकथा पढेर साहित्यकार शारदा शर्माका पिता, श्रद्धेय साहित्यकार महेश्वर शर्माज्यूले बडादशैंको टिकासमेत सालको दुनामा अबिर, केशरी रयालेर बनाई ‘आयु द्रोनसुते…’ को आशिष दिनुभएको थियो, जुन व्यहोरा यहाँ स्मरणीय हुन आउँछ । त्यसबेला पनि यो सन्दर्भले संक्षिप्त चर्चा पाएको थियो । यसर्थ पूजा सामग्रीमा पनि चामल नराख्नुपर्ने र टिकामा पनि सम्भव भए श्रीखण्डको चन्दन नभए अबिर, केशरी मात्र रयालेर लगाइदिने व्यवस्था मिलाउँदा उपयुक्तै हुने देखी यो सुझाव गर्ने चेष्टा गरिएको छ ।

तिहारमा भाइटिकाको दिन ओखर फोर्ने र बिमिरो पूज्ने चलन सर्वत्र प्रचलनमा छ । त्यसो भए ती जटासहितका नरिवलको सट्टामा ज्यामिर, बिमिरो, निबुवा, भोगटेको प्रयोग गर्दा के नै फरक पर्ला र जस्तो लाग्यो । बरु त्यसो गर्न पाए झन् राम्रो हुने जस्तो लाग्यो । आखिर नरिवलको प्रयोग पनि यातायातको सुविधा भएपछि, पशुबलि प्रथामा न्यूनीकरण गरेपछि गरिएको धर्मसभा (?) को परिभाषाले स्वीकारेर न हो । त्यसो भए मन्दिर व्यवस्थापन समिति (?) हरुले यस प्रस्ताव उपर छलफल चलाई प्रयोगमा ल्याउन सके अनुकूल हावापानीका कारण प्रख्यातिएका स्याङ्जा, पोखरा, बाग्लुङ्का सुन्तलावर्गका फलफूलको उत्पादनमा बृद्धि गर्न उत्पादकहरु बाध्य हुने थिए र फलफूल खेतीको खाँटी व्यावसायीकरण हुने थियो । साविकमा यसैपनि निबुवाका ‘सदाफल’ लाग्दथे, वर्तमानमा झन् नयाँ प्रविधिको विकास भैसकेको अवस्था छ । यस मानेमा बेमौसमी हिसाबले पनि फलाउन सकिएला भने शीतगृहमा सुरक्षित राखेर भएपनि भक्तजनको आवश्यकता पूर्ति गर्न सकिने देखी यो राय पेश गरिएको हो ।

त्यस्तै प्रसादका रुपमा उपलब्ध चिनीफूला (?) पनि अस्थानीय उत्पादन हो । यसले स्वास्थ्यका हिसाबमा शरीरलाई फाइदा पनि गर्दैन । त्यसैले प्रसादका रुपमा शुष्क फलहरु जस्तै कटुस, ओखर, काँक्रा-फर्सीका बियाहरुलाई प्रशोधन गरी प्रयोगमा ल्याउँदा पनि राम्रै हुनुपर्ने अड्कलिन्छ । यसका लागि धार्मिक व्याख्याताहरुको व्याख्या र व्यवस्थापनका जिम्मेवार व्यक्तिहरुको कार्यान्वयन आवश्यक हुन्छ । आखिर पशुबलिलाई घटाएर जटासहितको नरिवललाई प्रयोगमा ल्याउँदा पनि कुनै देवी देवता आएर स्वीकृति दिएका त हैनन् नै !

उल्लिखित व्यहोरा बाग्लुङकी कालिका, पोखराकी विन्ध्यवासिनी, गोरखाकी मनकामना, नवलपरासीकी मौलाकालिका लगायतका देवी देवताहरुका मन्दिरमा शुरु हवोस् भन्ने सदाशयले अनुकूलतामा यो पङ्तिकारले प्रस्ताव गरिआएको हुँ । यसपटक पनि बाग्लुङ् कालिका व्यवस्थापन समिति र विन्ध्यवासिनी व्यवस्थापन समितिका अध्यक्षज्यूहरु लगायत सरोकारी जनहरुमा पनि गरेकोछु । ‘अन्यथा पूजन गर्दा यस्तो बिघ्न निम्तिने छ’ भन्ने व्यहोरा प्रष्ट नहुँदासम्मको हककमा पशुबलि घटाएर नरिवलको प्रयोग गरेजस्तै उल्लिखित बमोजिम टिकामा चन्दन, अबिर, केशरीस प्रसादमा काँक्रो, फर्सी, कटुस, ओखर अनि नरिवलको सट्टा ज्यामिर, बिमिरो, निबुवा, भोगटेलाई प्रयोगमा ल्याउने व्यवस्था मिलाएमा स्थानीय उत्पादनको उपयोग बढ्न गई संक्षिप्त भएपनि व्यावसायिक उत्पादन शुरु हुने र कुनैपनि निहुँमा भित्रिएको आय स्थानीय स्तरमै थिग्रन गई धार्मिक पर्यटनको हिस्सा अर्थतन्त्रमा बढोत्तरी हुनेथियो । यसका लागि सरोकारी व्यक्तिहरुबाट सामयिक तत्परताको अपेक्षा गरिनै पर्दछ ।

… सके सपारौं, नसके नबिगारौं…!!