सिड्नीको सुसी बारलाई अवार्ड

सिड्नीको सुसी बारलाई अवार्ड


सिड्नीमा रहेका नेपाली व्यवसायी राज खनालले सञ्चालन गरेको रेष्टुरेन्टलाई त्यहाँको स्थानीय काउन्सिलले बिजनेस एक्सीलेन्स एवार्ड प्रदान गरेको छ । सिड्नीको किङ्सफोर्डमा रहेको निजी सुसी बारलाई सन् २०१७ को लागि ‘आउटस्ट्यान्डिङ रेष्टुरेन्ट अफ द ईयर’ एवार्ड प्रदान गरिएको हो ।

हरेक दुई वर्षमा प्रदान गरिने यो एवार्डसँगै उक्त व्यवसायले रेन्डविक सिटी काउन्सिलमा सञ्चालितमध्ये आउटस्ट्यान्डिङ विजनेस अफ द ईयर २०१७ उपाधि पनि पाएको छ । यसअघि सन् २०१३ र सन् २०१५ मा पनि निजी सुसी बारले आउटस्ट्यान्डिङ रेष्टुरेन्ट अफ द ईयर उपाधि जितेको थियो ।

यस क्षेत्रमा सञ्चालित विभिन्न २७ व्यवसायहरुलाई पछि पार्दै नेपालीले सञ्चालन गरेको जपानी रेष्टुेन्ट निजी सुसी बार उपाधि जित्न सफल भएको हो । गत बुधबार रेन्डविक रेसकोर्समा आयोजना गरिएको एक विशेष कार्यक्रममा रेन्डविक सिटी काउन्सिलकी मेयर लिन्डसे सौरीले एवार्ड हन्तान्तरण गरिन् ।

विगत आठ वर्षदेखि चलिरहेको यो रेष्टुरेन्टका सञ्चालक राज खनालले प्रतिक्रिया दिँदै भने, ‘मलाई एकदमै खुशी लाग्यो । हाम्रो विजनेसलाई अष्ट्रेलियाको सरकारी निकायको तर्फबाट नै सर्वोत्कृष्ट भएको मूल्यांकन गर्नु पक्कै पनि खुशीको कुरा हो । एउटा नेपाली हुनुको नाताले मलाई गर्व पनि लागेको छ । साथै, जिम्मेवारी पनि बढेको महसूस गरेको छु ।’

सुसी प्रसिद्ध जापानी खाना हो । पाँच वर्षको जापानी रेष्टुरेन्टमा काम गरेको अनुभवका आधारमा खोलिएको उनको यो दोश्रो जपानी रेष्टुरेन्ट हो । रेन्डविक क्षेत्रमा नै बसोबास गरिरहेका खनालले आफ्नै नजिकै रेष्टुरेन्ट खोल्ने सोच बनाएर आठ वर्षअघि निजी सुसी बार सञ्चालमा ल्याएका थिए । उनी भन्छन्, जापानी खाना यो क्षेत्रमा पनि प्रसिद्ध नै थियो । यसैकारण मैले त्यतिबेला किङ्सफोर्ड नै छानेको थिएँ । नेपालको रुपन्देही जिल्लामा घर भई हाल अष्ट्रेलियामा बसोबास गर्दै आएका खनाल रुपन्देही सामाजिक सञ्चालन अष्ट्रेलियाका अध्यक्ष समेत हुन् ।

– राजन घिमिरे