प्राधिकरण केन्द्रीय कार्यालय रत्नपार्कमा बन्यो ‘चार्जिङ स्टेसन’

प्राधिकरण केन्द्रीय कार्यालय रत्नपार्कमा बन्यो ‘चार्जिङ स्टेसन’


विद्युतीय सवारी साधनको ब्याट्री चार्ज गर्नका लागि नेपाल विद्युत प्राधिकरणले‘चार्जिङ स्टेसन’ जडान गरेको छ । प्राधिकरणले केन्द्रीय कार्यालय रत्नपार्कमा टिओडी मिटर राखेर ४० किलोवाट क्षमताको उच्च गतिको चार्जिङ स्टेसन जडान गरेको हो ।

चार्जिङ स्टेसनमा जोडेको २ घन्टामा विद्युतिय सवारी साधन पूर्णरूपमा चार्ज हुने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । ‘शुन्य चार्ज भएको गाडी २ घन्टामा चार्ज भइसक्छ,’ उनले भने, ‘केही प्रतिशत जार्च भएका गाडी चार्ज हुन ३० देखि ४५ मिनेटको समय लाग्छ ।’

घिसिङका अनुसार सवारी साधनले ब्याट्री चार्ज गर्दा आउने बिलका आधारमा ग्राहकले शुल्क तिर्नुपर्ने छ । अहिले केन्द्रीय कार्यालयमा नमूना स्टेसनकारूपमा जडान गरिएको चार्जिङ स्टेसनलाई देशभर विस्तार गर्ने प्राधिकरणको योजना छ । विद्युतिय सवारी साधन निर्माण तथा विक्री गर्ने विश्वका विभिन्न कम्पनीसँग सहकार्य गरेर चार्जिङ स्टेसन राख्नेबारे छलफल भइरहेको पनि घिसिङले बताए ।

विद्युतिय सवारी साधन चार्ज गर्नमात्र नभई विद्युतको माग र आपूर्ति व्यवस्थापन गर्न सबस्टेसन नजिक ५ देखि १० मेगावाटसम्ममा चार्जिङ स्टेसन राख्ने योजना रहेको उनले बताए ।

प्राधिकरण अन्तर्गतको आयोजना व्यवस्थापन निर्देशनालयले काठमाडौं उपत्यकासहित देशभर चार्जिङ स्टेसन निर्माण गर्ने प्रक्रिया अघि बढाउँदैछ ।

हाल निर्माणाधीन माथिल्लो तामाकोसी, चिलिमे तथा निजी क्षेत्रका आयोजनाबाट उत्पादन सुरु भएपछि रातको समयमा खेर जाने विद्युतबाट बढी क्षमताका ब्याट्री चार्ज गरेर महत्वपूर्ण स्थानमा अत्याधिक माग भएको समयमा आपूर्ति व्यवस्था मिलाउन चार्जिङ स्टेसन राख्ने प्राधिकरणको योजना छ ।