हेमन्तको हेराइबाट साउथ सुडान बुझ्न खोज्दा…

हेमन्तको हेराइबाट साउथ सुडान बुझ्न खोज्दा…


  • जयप्रकाश त्रिपाठी

सूचना प्रविधिका क्षेत्रमा हासिल भएको प्रगति र यातायातका साधन (स्थल, जल एवम् हवाई)मा भएको विकासले आजको विश्व निकै साँघुरिन पुगेको छ । विश्वको एक छेउको मानिस अर्को छेउ या एक कुनाबाट दूरतम् दूरीमा रहेको अर्को कुनै गन्तव्य सहजै र सीमित दिनमै छिचोलिरहेको हुन्छ । यस आधारमा आज विश्वका कुनै पनि मुलुकका नागरिक घुमघाम गर्ने, रोजगारी, पेसा या व्यवसाय गर्ने या अन्य उद्देश्यले जहाँकहीँ पुगिरहेका हुन्छन् । यसमा अब नेपाली पनि अपवाद रहेनन् ।

हामी नेपालवासीका लागि अफ्रिकी महादेशमा अवस्थित दक्षिण सुडान कुनै पनि दृष्टिले सुगम्य स्थल हुन सक्दैन । भौगोलिक अवस्थिति, हावापानी, रहनसहन या जीवनशैली, मान्छेका आकारप्रकार, सोच, संस्कार–रीतिरिवाज, पेसा–व्यवसायलगायत कुनै पनि कोणबाट सामन्जस्यता नभेटिने उक्त मुलुकमा समेत रोजगारीका लागि नेपाली पुगेका भेटिनु उदेकपूर्ण सन्दर्भ हो । यस्तै ‘आश्चर्य’का रूपमा साउथ सुडानको दुर्गम इलाकामा भेटिए रूपन्देहीका युवा हेमन्त पौडेल ।

बिरानो ठाउँमा आफ्नो देशका मानिस रैथानेसरह बनेर बसेको भेटिँदा रोमाञ्चकता उत्पन्न हुनु अस्वाभाविक भएन । द्वन्द्वग्रस्त देश, जहाँ सशस्त्र हतियारधारीहरूको बोलवाला चलिरहेको छ, राज्य निरीह छ, सुरक्षा निकाय तथा सरकारी संयन्त्रहरू निकम्मा छन्, आपसमै द्वेष र द्वन्द्व चर्किएको छ, सामान्य विषयमै झैझगडा गर्न र झडपमा मान्छे मर्न बेर नलाग्ने, मान्छे मर्नु कुकुर–बिराला मर्नुसरह ठान्ने परिवेश छ, गरिखाने सोचको पूरै अभाव छ, गरिबी छ, भोकमरी छ, सक्नेले लुटेको छ, चुटेको छ, यस्तै–यस्तै विसङ्गतिबीच भासिँदै, मासिँदै या नासिँदै जीवनचर्या चलिरहेको अजीवको माहोल छ । त्यसमाथि विदेशी आगन्तुकप्रति सेवा–सुविधा र सम्मानको भाव पटक्कै नराख्ने नागरिकहरूको बोलवाला हुनु, स्थानीयसँग भेटघाट, कुराकानी तथा तस्बिर लिनेजस्ता सामान्य व्यवहार गर्न पनि वञ्चित रहनुपर्ने भनी सचेत गराइएकाले यात्राको आनन्दभन्दा मनमा कताकता भयले घर गरेको अवस्थामा ‘… आत्तिनुपर्दैन, हामी यहीँ काम गरेर बाँचिरहेका छौँ’ भन्दै विशुद्ध नेपाली बोली सुन्न पाउँदा मन बेग्लै किसिमले फुरुङ्ग हुँदोरहेछ । यस्तै अनुभूति गरियो दक्षिण सुडानको रुम्बेकस्थित हिल भ्यू नामक होटेलमा सेफका रूपमा कार्यरत हेमन्तलाई भेट्दा ।

रूपन्देहीका स्थायी बासिन्दा हेमन्त चार वर्षदेखि साउथ सुडानमा छन् । रोजगारीको सिलसिलामा सुरुमा उनी म्यानपावर सप्लाई गर्ने कुनै कम्पनीका एजेन्टमार्फत केन्या पुगेका रहेछन् । विश्वकै कान्छो मुलुक साउथ सुडानमा यूएन मिसनको बढ्दो उपस्थितिलाई मध्यनजर गर्दै हेमन्त कार्यरत होटेलले नयाँ होटेल सञ्चालनमा ल्याउने भएछ । दक्षिण सुडानको रुम्बेकमा संयुक्त राष्ट्रसङ्घको पिस मिसन फोर्सको ठूलो उपस्थिति छ । नेपाली सेनालगायत अन्य देशका सेना त्यहाँ शान्ति स्थापना गर्ने काममा लागिपरेका छन् । यूएन सैनिक, स्वयम्सेवक, अन्तर्राष्ट्रिय पर्यवेक्षक तथा अनुगमनकर्ता आदिलाई लक्षित गरी खोलिएको होटेलमा सुरुदेखि नै हेमन्तसमेत खटिएका रहेछन् ।


(दक्षिण सुडानको रुम्बेकस्थित एक होटलमा सेफका रुपमा कार्यरत हेमन्तसँग कुराकानी गर्दै पंक्तिकार)

अत्यन्त मिजासिला, हँसिला हेमन्त पनि नेपाली टोली आएको थाहा पाएपछि स्वजन भेटघाटको न्यास्रो मेट्न आतुर रहेछन् । हरेक नेपाली प्रतिनिधि टोली त्यहाँ पुग्दा भेटेर कुराकानी गर्ने, त्यहाँको द्वन्द्व र द्वन्द्वोत्तर परिवेशबारे आफूले जानेको कुरा बुझाइदिने कामलाई आफ्नो ‘ड्युटी’ नै बनाएका रहेछन् उनले । हामीलाई पनि होटेल परिसरमा स्वागत गरे, आरामबिरामको जानकारी लिँदै चिसोतातोको औपचारिकता निर्वाह गरे ।

हेमन्तबाहेक अर्का एक नेपाली मूलका भारतीय पनि त्यहाँ कार्यरत रहेछन् । रेग्मी थरका ती व्यक्ति कहिले कसरी भारतीय नागरिक बने भन्ने जिज्ञासा जगाउनेतिर लागिएन, बरु इण्डियन टोनको नेपाली भाषामा उनले बोलेको सुनेरै मुग्ध भइयो । ती अलिक व्यस्त पनि रहेछन्, हेमन्तले नै हामीलाई केही समय दिने भए ।

भारतीय मूलका केन्यालीद्वारा सञ्चालित उक्त होटेलमा सेफको रूपमा कार्यरत हेमन्त एक लाख तलब खाँदा रहेछन् । द्वन्द्वका कारण असुरक्षित र अन्य हिसाबले पनि सुट नगर्ने त्यति टाढाको मुलुक पुगेर पनि एक लाख मासिक कमाइले चित्त बुझेको छ त भन्ने जिज्ञासामा हेमन्तले हाँसेर जवाफ दिए, ‘जब घर नै छाडेपछि कहाँ टाढा कहाँ नजिक ? जहाँसम्म लाख कमाइले पुग्ने–नपुग्ने सवाल हो, सुरुमा केही हजारकै अभावले परदेश लाग्नुपर्ने अवस्था सिर्जना भयो भने यो लाख त कता हो कता भइहाल्यो नि !’

जहाँ गरे पनि आफ्नो काम लगन र इमानका साथ गर्नुपर्छ भन्ने सोचका रहेछन् उनी । ‘राजनीतिक अस्थिरताग्रस्त नेपाल र बेरोजगार नेपालीका नालीबेली उतार्नुभन्दा सुडान र सुडानीबारे केही बुझ्दा नै राम्रो होला कि ?’– हेमन्तको प्रश्न अत्यन्त सामयिक थियो । हामी साउथ सुडान र त्यहाँका मानिसका खानपान, चालचलनबारे मूलभूत रूपमा बुझ्न आतुर भयौँ ।

‘म पनि होटेलमै व्यस्त हुने हुनाले धेरै बुझ्न त पाएको छैन…’, हेमन्तले भने, ‘यी सुडानी हाम्रा लागि अनौठा छन् । यिनीहरू दुई–चार दिनमा एक छाक मात्र खाएर पनि टिक्छन् । सामान्यतया साँझ एकछाक खान्छन्, यही खाना खाने भन्ने निश्चित पनि हुन्न, जङ्गलका कन्दमूल, पात–जडीबुटी उसिनेर खान्छन् । तरुल उसिनेर खाने, तरुलकै रोटी बनाएर खाने चलन पनि छ । हाम्रा देवताले चार दिनमा एकपटक मात्र खान्थे, हामी पनि त्यसरी नै बाँच्छौँ, एक दिनमा एक छाक खानु पनि बढी हो भन्ने धारणा सुडानीहरूमा रहेको पाइन्छ ।’

हेमन्तका शब्दमा मानिसको भन्दा गाईगोरुको महत्व छ आमसुडानी समाजमा । बिहेबारीका लागि गाईवस्तु अनिवार्य आवश्यक पर्छ । कोसँग कति गाईगोरु छ त्यसका आधारमा को कति धनी भन्ने मापन हुन्छ यहाँ । गाई नै ठूलो सम्पत्ति हो । कम्तीमा पनि पच्चीस–तीसवटा गाई केटीपक्षलाई नदिई केटाले केटी भित्र्याउन पाउँदैन । शिक्षित, अग्ला र राम्रा केटीका लागि सय–डेढ सय गाई बुझाउनुपर्छ । एकजनाले आठ–दशवटा श्रीमती बिहे गर्नु यहाँ सामान्य कुरा हो । हालका राष्ट्रपतिकै असीभन्दा बढी पत्नी रहेको सुन्छु । भनेजति गाई दिएर ल्याएको भन्दै सबै काममा श्रीमतीलाई जोताउने, आफूहरू त्यसै बरालिएर, झगडा गरेर दिन बिताउँछन् सुडानी पुरुषहरू ।

अझ अनौठा प्रचलन सुनाउँदै उनी अगाडि भन्छन्, ‘बिहे गर्दा तीन–चार दिनसम्म नाचगान चल्छ । आठ–दशवटा सन्तान जन्माउँछन् । बाउ मरेपछि कान्छीआमालाई छोराले श्रीमती बनाउने चलन पनि छ । यसरी आमालाई पत्नी बनाएपछि जन्मेको सन्तानको नागरिकता बाउकै नामबाट बन्दोरहेछ ।’

खेतीपाती गर्ने संस्कार नै छैन साउथ सुडानीमा । खेती गरे पनि अर्काले लुटेर खाइदिन्छ, किन गर्ने ? भन्ने अवधारणा छ यहाँ । यूएनको उपस्थिति सुडानको सरकारलाई मात्र मन नपरेको नभई आमसुडानीसमेत रुचाउँदैनन् । तर, आफूहरूलाई खुवाउने–पाल्ने काम यूएनको हो भन्ने नयाँ धारणा यहाँ विकास भएकाले काम गरेर आर्जन गर्ने सोच झन्–झन् मर्न थालेको छ । गरीखाने चेतनाको विकास नै नभएको परिवेशमा यूएनप्रति निर्भर हुनु अत्यन्त खतर्नाक कुरा हो । अत्यन्त मलिलो जमिन छ, समथर भूभाग छ, तर यस्तो सजिलो जमिनको उपयोग गर्न सकेका छैनन् सुडानीले । तेलको भण्डार छ, आफ्नै रिफाइनरी छैन । पेट्रोलको सरकारी मूल्य अत्यन्त सस्तो छ, तर उपलब्धता असहज छ । तेल बाँड्ने दिन ग्यास स्टेसनमा ठूलो भिड हुन्छ । एक लिटर पेट्रोल लिएर ब्ल्याकमा बेच्न दिनभरि समय खर्च गर्ने सुडानी सहरबजारमा पर्याप्त देखिन्छन् । साउथ सुडानमा सयभन्दा बढीको नोट नै छैन । सामान किन्न जाँदा नोटका बिटा भरिएको झोला नै बोक्नुपर्ने हुन्छ । खानाको अभाव, फोहोर पानी, रोगादीले गर्दा मानिस धेरै वर्ष बाँच्दैनन् ।…

साउथ सुडान र सुडानीबारेका यस्ता अनेक अनौठा किस्सा सुनाएर सारमा हेमन्तले भने, ‘हामी नेपाली विकसित देशको तुलनामा निकै पछि परेका छौँ भन्छौँ, यो हो पनि । तर, हामीभन्दा पनि साउथ सुडानीहरू निकै गए–गुज्रेका छन्, यही हालतमा त हाम्रो स्तरमा आइपुग्न यिनलाई दशकौँ लाग्न सक्छ ।’…

(साउथ सुडानबाट फर्केर)

सुडानबारे यो पनि पढौँ-

जातीय द्वन्द्वले थलिएको देश
https://www.ghatanarabichar.com/68072

रुम्बेकमा रमाउँदै गुजरातका कल्याण
https://www.ghatanarabichar.com/69150