बिहेअघि नै गर्भवती बनेका यी हिरोइन

बिहेअघि नै गर्भवती बनेका यी हिरोइन


फिल्मी दुनियाँमा अफेयर, ब्रेकअप, एक्स्ट्रा मेरिटल अफेयरसम्बन्धी हल्ला चल्नु, समाचार बन्नु सामान्य मानिन्छ । तर, कुनै हिरोइन विवाहअघि नै गर्भवती हुन्छिन् भने त्यसलाई चाहिँ फिल्मी–संसारभित्र पनि अलिक फरक कोणबाट हेर्ने गरिन्छ । गर्भनिरोधका लागि अनेक साधनको आविष्कार भएको आजको युगमा पनि कतिपय वलिउड नायिकाहरू विवाहअघि नै प्रेग्नेन्ट भएर चर्चामा आएका थिए ।

पहिले नै गर्भ बोकेर पछि बिहेको फैसला गर्ने चर्चित हिरोइनमा पर्छिन् आफ्नो समयकी अत्यन्त लोकप्रिय अभिनेत्री श्रीदेवी । हालै निर्माण भएको ‘माम’ नामक सिनेमामा समेत एक्टिङमार्फत वाहवाही लुटेकी श्रीदेवी समकालीन सहयात्रीमध्ये अत्यन्त बोल्ड एवम् फेमस अभिनेत्री हुन् । तर, जतिसुकै बोल्ड व्यक्तित्व भए पनि बिहेअघि नै गर्भवती बनेपछि बाध्य भएर श्रीदेवीले आफू निर्माता बोनी कपुरको बच्चाकी आमा बन्न लागेको तथ्य मिडियासामु सार्वजनिक गरेकी थिइन् । श्रीदेवीले यसरी आफ्नो पोजिसन सार्वजनिक गरिदिएपछि विवाहित बोनी कपुरले आफ्नी पत्नी मोनासँग सम्बन्धविच्छेद गरी सन् १९९६ मा श्रीदेवीसँग विवाह गरेका थिए । बिहेको केही महिनामै श्रीदेवीले छोरी जान्ह्वीलाई जन्म दिएकी थिइन् ।

यस्तै प्रकारको कथा छ अर्की वलिउड अभिनेत्री कोंकणा सेनको पनि । फिल्म ‘आजा नचले’मा सँगै काम गरेका एक्टर रणवीर शोरेसँगको आकर्षण कतिबेला शारीरिक सम्बन्धसम्म पुग्यो भन्ने कोंकणालाई हेक्कै भएनछ । प्रेग्नेन्ट भएको निकै समयपछि हतार–हतार यो जोडीले बिहेको घोषणा गरेको थियो ।

यसैगरी ‘परदेश’जस्तो सुपर हिट फिल्म दिएकी महिमा चौधरीलाई हिन्दी सिनेमाका दर्शकले पक्कै भुलेका छैनन् । आफूलाई सिनेदुनियाँमा प्रवेश दिलाउने चर्चित निर्माता–निर्देशक सुभाष घईसँग महिमाको सम्बन्ध त्यसबेला पत्रपत्रिकाका लागि निकै रसदार मसला बन्ने गर्दथ्यो । घईसँगको सम्बन्धबारे अचाक्ली अफवाह चलेको सहन नसकी महिमाले एकाएक बाबी मुखर्जी आफ्नो ब्वाइफ्रेन्ड भएको र उसैसँग बिहे गर्न लागेको घोषणा गरिन् । तर, यसरी सार्वजनिक अभिव्यक्ति दिएको केही सातामै महिमा सन्तानकी आमा बन्न पुगेकी थिइन् ।

यस्तै अर्की पात्र नीना गुप्ताको कहानीचाहिँ अलिक दुःखदायी छ । सन् ८० को दशकमा भारतीय टेलिभिजनमा अत्यन्त छाएकी अभिनेत्री हुन् नीना । यिनको स्वभाव पनि अत्यन्त बोल्ड प्रकृतिको थियो । तर, त्यसबेला क्रिकेट प्रतियोगितामा सहभागी हुन भारत आएका वेस्टइन्डिजका क्रिकेटर विवियन रिचर्डसँग भेट भएको दोस्रो दिनमै अत्यन्त गहिरो प्रेम बस्न पुगेछ उनको । विवाहित विवियन पनि नीनाको प्रेममा डुबेर केही समय भारतमै बसे । तर, आफूले नीनासँग बिहे गर्न नसक्ने उद्घोष गर्दै उनी आफ्नो मुलुक फर्केपछि नीनाले निकै बदनामी झेल्नुप¥यो । अन्ततः उनी बिहेबिनाकी आमा बन्न विवश भइन् । हालसम्म पनि अविवाहित रहेकी उनले आफ्नी छोरी मसावालाई सारा बदनामी झेलेर एक्लै हुर्काइन् ।

यसैगरी, श्रुती हसनकी आमा सारिका पनि आफ्नो जमानाकी चर्चित नायिका हुन् । उनको ग्ल्यामर्स छविको दिवाना थिए समकालीन सिनेप्रेमी युवाहरू । यी सुन्दरी हिरोइनसँग बहुचर्चित अभिनेता कमल हसनसमेत नपग्लिरहन सकेनन् । सारिका र कमल हसनको सम्बन्धको चर्चा चुलिनुअघि नै सारिका गर्भवती बन्न पुगिन् । १९८६ मा सारिकले छोरी श्रुतीलाई जन्म दिइन्, तर त्यसको दुई वर्षपछि मात्रै कमलसँग उनको बिहे भयो । बिहेपछि अर्की एक छोरी अक्षरालाई जन्म दिए पनि सन् २००४ मा आएर सारिका र कमल हसनबीच सम्बन्धविच्छेद भयो ।

बिहेअघि नै प्रेग्नेन्ट भई हतार–हतार विवाहको घोषणा गरेकी अर्की चर्चित नायिका हुन् अमृता अरोरा । मलाइका अरोराकी बहिनी अमृताले शकिल लदाक नामक भारतीय बिजनेसम्यानसँग विवाह गरेको केही सातामै सन्तान पैदा भएको थियो । यसैगरी कुनै बेलाकी मिस इन्डिया रहेकी र फिल्ममा समेत भाग्य अजमाउने कोसिस गरेकी सेलिना जेट्ली पनि बिहेबिनाकी आमा हुन पुगेकी थिइन् । सन् २०१२ मा जुम्ल्याहा छोरा जन्माएर चर्चामा आएकी सेलिनाले दुबईमा होटेल व्यवसाय गर्ने ब्वाइफ्रेन्ड पिटर हगसँग पछि मात्रै बिहे गरेकी थिइन् ।