भिजाएको चनाको यति धेरै गुण

भिजाएको चनाको यति धेरै गुण


भिजाएको काजु–बदाम स्वास्थ्यका लागि लाभकारी हुन्छ भन्ने त धेरैले बुझेका छन्, तर भिजाएको चना भिजाएको बदामभन्दा पनि ज्यादा लाभकारी हुन्छ भन्नेचाहिँ कमैलाई मात्र जानकारी होला । थोरै आश्चर्य लागे पनि यो यथार्थ हो कि भिजाएको चनामा कार्बोहाइड्रेड, प्रोटिन, फाइबर, क्याल्सियम, आइरन तथा भिटामिन्स भरपूर मात्रामा हुन्छन् । तुलनात्मक रूपमा सस्तो मूल्यमा पाइने चनाल महँगो उपचार पर्ने ठूलाभन्दा ठूला रोगविरुद्ध लड्न सघाउँछ । साथै यसको सेवनले रगत पनि सफा हुन्छ, जसका कारण शारीरिक सुन्दरता बढ्छ र दिमाग पनि तेज हुन्छ । यदि मोटोपनबाट मुक्तिको चाहना राखिएको छ भने नास्तामा दिनहुँ भिजाएको चना संलग्न गरेमा तौल घटाउन मद्दत पुग्छ ।

यति मात्र नभई यदि तपाईं डाइबेटिजबाट पीडित हुनुहुन्छ भने आफ्नो आहारमा भिजाएको चना संलग्न गरिहाल्नुस्, निकै लाभ पुग्नेछ । २५ ग्र्राम कालो चना राति भिजाएर बिहान खालीपेटमा सेवन गर्ने गरेमा मधुमेहबाट मुक्ति मिल्दछ । यस्तै, रातभर पानीमा भिजेको चनालाई बिहान पानी फालेर त्यसमा अदुवा, जिरा र नुन मोलेर खाएमा कब्जियत तथा पेट दुख्ने समस्याबाट पनि मुक्ति मिल्दछ ।

रोगविरुद्ध लड्ने शक्ति (इम्युनिटी पावर) बढाउन पनि भिजाएको चनाले जादुगरी शैलीमा काम गर्छ । खासगरी कालो चनामा विभिन्न भिटामिनहरू, क्लोरोफिल, फस्फोरसलगायतका मिनरल्स भरपूर हुने हुनाले यसलाई रातभर भिजाएर प्रत्येक बिहान दुई मुठी आरामले चपाएर खाने गरेमा इम्युनिटी पावरमा भारी वृद्धि हुन्छ । भिजेको चनामा कागतीको रस, अदुवाका टुक्रा, थोरै नुन र कालो मरिच मिसाएर बिहानको नास्तामा प्रयोग गर्ने गरेमा शरीरमा शक्ति वृद्धि हुन्छ । पुरुषहरूका लागि पनि भिजाएको चना अत्यन्त लाभकारी हुन्छ । भिजाएको चना धेरैबेर चपाएर खाने गरेमा विर्य वृद्धि हुने स्वास्थ्यविद्हरूको दाबी छ ।