निकुञ्ज हुँदै माडी जोड्ने सडक विस्तारको काम शुरु

निकुञ्ज हुँदै माडी जोड्ने सडक विस्तारको काम शुरु


वन तथा भूसंरक्षणमन्त्री विक्रम पाण्डेले चितवन राष्ट्रिय निकुञ्ज हुँदै माडी जोड्ने सडक विस्तारको काम शुरु गरिएको बताउनुभएको छ ।

यहाँ आज पत्रकारसँग कुरा गर्दै मन्त्री पाण्डेले निकुञ्जभित्र पर्ने सडक छेउमा रहेका रुख काट्ने काम शुरु गरिएको बताउँदै भन्नुभयो, “सडकमा आवागमन गर्न असहज बनेका रुखमा टाँचा लगाइएको छ । ती रुखहरु काट्ने काम शुरु भएको हो ।” भरतपुरबाट माडी जाने क्रममा चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा आठ किमी सडक पर्छ ।

यससँगै माडीवासीका लागि निकुञ्ज यात्रा गर्दा लाग्ने शुल्क नलिने वातावरण तय गर्नका लागि अन्तिम गृहकार्य भइरहेको बताइएको छ । उहाँले भन्नुभयो, “जिल्ला सदरमुकामबाट घर जानका लागि पनि कर तिर्नुपर्ने बाध्यता माडीवासीमा छ । यसको अन्त्य चाँडै हुन्छ ।”

अहिले माडीवासीले भरतपुरबाट माडी जानका लागि मोटरसाइकल, बयलगाडा र टाँगाको रु १० कर तिर्दै आएका छन् भने बस, कार, जीप, ट्र्याक्टर, लरीलगायत पाँच टनसम्मका सवारी साधनले रु ५० शुल्क तिर्ने गरेका छन् ।

फरक प्रसंगमा मन्त्री पाण्डेले आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा आफू चितवन क्षेत्र नं ३ बाट उम्मेदवार हुने बताउनुभयो । यसअघि विजयी भएको क्षेत्र भएकाले पनि आफू सोही क्षेत्रलाई प्राथमिकतामा राख्दै आएको उहाँको भनाइ थियो । यसअघि उहाँ चितवन क्षेत्र नं ५ बाट विजयी हुनुभएको थियो । सो क्षेत्र अहिले क्षेत्र नं ३ मा पर्छ ।

वाम गठबन्धनबाट सोही क्षेत्रबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले उम्मेदवारी घोषणा गरिसक्नुभएको छ । सोही क्षेत्रमा दाहालकै प्रतिस्पर्धामा लोकतान्त्रिक गठबन्धनबाट पाण्डे उम्मेदवार हुन लाग्नुभएको हो ।