यस्तो थियो ‘एनआरएनए विश्व सम्मेलन’को चुरो

यस्तो थियो ‘एनआरएनए विश्व सम्मेलन’को चुरो


– डिल्लीराम अम्माई (बेल्जियम)

केही दिनअघिको कुरा हो, अमेरिकाबाट एनआरएनएका एकजना पुराना अभियन्ताले म्यासेन्जरमा कल गरे र प्रसङ्गवश सोधे, ‘मित्र, यसपटक जमुना दिदीले जित्ने अनुमान गरेर मैले फेसबुकबाट उनकै प्रचार गरेँ, केही महिनादेखि नै अदृश्य र अघोषित रुपमा भित्री तयारी पनि गरेका थियौँ । तर, दुःखको कुरा… हाम्रो टिमबाट जानकी दिदीबाहेक कोहि पनि आएन । यस्तो कसरी भयो होला ? छोरा बिरामी भएको र दोकान छोड्न नमिल्दा म सम्मेलनमा जान सकिनँ । तपाईंको विश्लेषण सुनाउनुहोस् न… प्लिज !’

‘…तपाईंले घटना र विचारमा हालै प्रकाशित मेरो लेख हेर्नुभएको भए प्रष्ट हुन्थ्यो । यसपटक विश्व सम्मेलनको माहोल अर्कै थियो मित्र ! शेष दाइका पुराना प्रचारकहरू अहिले उनीसँग थिएनन् । उनको सल्लाहकारको घेरामा विश्लेषणविहीनहरूको जमात मात्र थियो । कारण दाइको योगदानलाई भुस बनाउन गरिएको प्रयत्नबारे दुबैलाई अनुमान नभएको पनि हुन सक्छ । त्यस्तै, यो पटक संस्थापक र पूर्वअध्यक्षहरूले एनआरएनएलाई जहानियाँ क्लब हुनबाट बचाउन हस्तक्षेप गरेकै हुन् । मेरो विचारमा त्यो जायज हस्तक्षेप थियो । नस्लीय गन्ध र जहानियाँको आरोप लागेको त्यो समीकरणको मुटुमा प्रहार गर्न जे–जस्तो भूमिका अग्रजहरूले खेल्नुपर्थ्यो… खेले । अब रह्यो निवर्तमान संस्थापकको अवस्था, रुचि र रहर ! त्यसको विपरित यथार्थबारे कुरो सुन्नुस है त ?… ’ उनले बोल्ने अनुमति दिए, पङ्क्तिकार अभिव्यक्त भइरह्यो… ।

१३ अक्टोबरमा जमुना घलेले काठमाडौंको होटल र्याडिसनबाट उम्मेदवारी घोषणा गर्दा धेरै अबोध या अबुझ एनआरएनहरू आश्चर्य मानिरहे । प्रवासबाट गएका एनआरएनहरू रमिता हेर्न थाले । कसैले प्रलयको संकेत मानेर आफ्नो बचाउको लागि मदिराको जोहो गर्न थाले भने केही चाहिँ चुनावी रणनीति फेर्न कुना–कुनामा मिटिङ बस्न थाले । त्यहाँ त्यो दिन ‘अमिलो रमिता’ भयो, नबुझ्नेको लागि अमिलो … मतलब– असामान्य । यो केवल नबुझ्नेका लागि रमिता थियो । बुझ्नेले यो हुने अनुमान जमुना घलेको आइसीसीमा मनोनित हुँदा नै बुझिसकेका थिए । अनि ‘भिजन २०–२०’ अमेरिकाको सानो छिद्रबाट छिराइँदा नै बुझिसकेका थिए । ति अप्रत्यासित परिघटनाहरू बकाइदा योजनाअनुसार भैरहेका थिए । यो कुनै अप्रत्यासित रुपमा देखिएको नभएर सुनियोजित योजनाअनुसार ने गरिएको दुःस्साहस थियो, बुझ्नु भो ?’

त्यसको ह्याप्पी इण्डिङ भनेको पूर्ण रुपमा तयारि गरी अन्तिम अवस्थामा जमुना घलेको उम्मेदवारी घोषणा गर्ने र भवन भट्ट, कुमार पन्तलाई आपसमा भिडाएर आर्य मत विभाजन गराउने अनि अनार्य मत एक ढिक्का बनाउँदै प्रतिष्पर्धीहरूलाई अल्मल्याउने रणनीतिअनुसार भएको थियो । त्यसपछि जमुना घलेको जितलाई सुनिश्चित गरि अधिवेशनको ह्याप्पी इण्डिङ हुन सक्ने उनीहरूको आँकलन थियो ।

तर त्यो आशंका जीवा लामिछाने, डा. उपेन्द्र महतो र हेमराज शर्मा लगायतका अग्रजहरूलाई थाहा थियो । त्यसैले यी सबै दृष्य–अदृष्य खेलहरू उनीहरूले अरु कसैलाई नबताइकन हेरि रहे । हेरेका मात्र नभई अस्वाभाविक जस्ता देखिने सबै दृष्यहरूलाई स्वभाविक रुपमा कसरी हल गर्ने भनी योजना बनाउन थाले । उनीहरूका लागि यो अपेक्षित थियो । अघिल्ला दृष्यले आगामी दिशाको संकेततपÞर्m उनीहरूले सजकतापूर्वक समाधानका अन्य योजनाबारे निचोड निकाले । उनीहरूद्वारा ‘कोर ग्रुप’को सल्लाहमा संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोमार्फत मतदानको दिन बिहानै घले दम्पतिलाई भेटेर लाप्राक, एनआरएन भवन लगायत घलेले सुरु गरेका परियोजनालाई बिग्रन नदिने ग्यारेन्टी गर्दै भट्टको नेतृत्वमा स्वीकार गरेर अगाडि बढ्न आग्रह गरियो । तर, त्यो आग्रहलाई घले दम्पतिले सिधैं अस्वीकार गरिदिएपछि भट्ट समूहले जमुनाको समूहसँग निर्वाचनबाटै बदला लिने रणनीति बनाउनु परेको कुरा तथ्य हो । कुरो बुझ्नु भो नि मित्र ?

त्यसो त घले ग्रुपका युरोपबाट पुर्वसल्लाहकार र आइसीसी समेत सातजना, अमेरिकाबाट पाँचजना, एसिया प्यासिफिक लगायत सबै क्षेत्रबाट गरेर उन्नाइस जनाको भूमिगत ‘जमुना जिताउ मिसन’ नै खडा गरिएको थियो । त्यो तयारी अहिले नभएर जमुना घलेको आइसीसी नियुक्तिसँगै अघोषित रुपमा शुरु गरिएको थियो । जसमा जनजातिहरूको बाहुल्यता भए पनि केही अन्यको पनि सहभागिता थियो ।

पछिल्लो अवस्थामा गरिएको ‘कार्यकर्ताको दवाब’ स्वरुप उम्मेदवारी घोषणा कार्यक्रम योजनाको नै एउटा भाग थियो । त्योबारे जीवा लामिछाने, डा. उपेन्द्र महतो र हेमराज शर्मा बाहेक अरुलाई थाहा नभएकोले उताको योजनाले कोल्टे फेरे सर्वसहमतिको रुपमा भट्ट र पन्तमध्ये एउटालाई लिएर जाने र प्रतिष्पर्धा गर्नुपरे अर्को पटक कुमार पन्तलाई अध्यक्षमा लैजाने गरेर भट्टलाई प्रतिष्पर्धामा लैजाने सहमति भयो । त्यो डिजाइन पनि युरोपको क्षेत्रीय सम्मेलन अगाडि नै बनेको बताइन्छ ।

अध्यक्षका दुई उम्मेदवार पन्त र भट्टलाई मिलाउनको लागि कुमार पन्तले जर्मनको फ्र्याङफोर्ट सम्मेलनमा गर्न लागेको उम्मेदवारी घोषणा रोक्न लगाइयो । त्यो भूमिकाको लागि यो परिस्थिति बुझेका लामिछानेले डा. उपेन्द्र महतोलाई प्रमुख सुत्रको रुपमा प्रयोग गर्दै भवन भट्टसँग अलग्गै वार्ता गरे । उनीहरूको स्पष्ट सन्देश थियो, ‘दुई उपाध्यक्षबीच सहमति नबनेमा दुवै पराजित हुने अवस्था आउँदैछ, त्यसैले यो अवस्थामा सहमति बाहेक अन्य कुनै विकल्प छैन ।’

यही सन्देश उनीहरूले अध्यक्षका अर्का प्रत्यासी पन्तलाई पनि सुनाए । अन्ततः उनीहरूको प्रयासले सार्थकता पायो । दुई पक्षबीच सहमति बन्यो । पन्त उपाध्यक्षमा निरन्तरता दिन तयार देखिए, भट्ट अध्यक्षका प्रत्यासी हुने भए । त्यो अवस्थामा रुख चढ्न खोज्नेले संस्थापक र अग्रजहरूको विश्वास गुमाए ।

यसको लागि भट्टको क्याम्प फेर्न सक्ने खतरा मुख्य रुपमा थियो । उनले अन्तिम अवस्थासम्म पनि घलेको रणनीति बुझ्न नसकेका मात्र हैनन् जमुनाले अध्यक्षमा उम्मेदवारी दिन्नन् भन्नेमै विश्वस्त देखिन्थे । त्यो कुरा उनले जमुनाले गरेको उममेदवारी घोषणाको अवस्थामा मात्र बुझे, जुन कुरा संस्थापक टोलीले धेरै महिना अगाडि बुझिसकेको थियो ।

यो प्रतिष्पर्धाले महतो, जिवा र हेमराजबीचको सामान्य तिक्तता एकतामा बदल्न सफल रह्यो भने एनआरएनएभित्रको ‘नश्लीय’ र ‘राजकीय’ परम्परामा जान सक्ने आशंकालाई चकनाचुर पारिदिएको छ ।

तर अब एनआरएनएभित्र शेष घलेको दोश्रो कायकालबाट मौलाउँदै गरेको भोट किन्ने, नश्लीय र अमंगल कोटरीको वरिपरि एनआरएन देख्ने, आर्थिक सबलताबीच मात्र संस्थाको नेतृत्व हस्तान्तरण गर्ने र आर्थिक हैकम चलाउने प्रचलन रोक्न आवश्यक भैसकेको छ । त्यसको लागि एनसीसीहरूको पहल निर्णायक हुनेमा कसैको दुईमत हुदैन । कि कसो हो मित्र ?
अन्त्यमा पङ्क्तिकारले थप्यो– यो अधिवेशनले संसारभरिका अभियन्ताहरूलाई एउटा पाठ अवश्य पढाएको छ, त्यो के भने नेतृत्व लिन मात्र जानेर अभियन्ताको प्रतिष्ठा उँचो हुँदैन, त्यसको लागि संगठन हस्तान्तरण गर्दा पनि ढङ्ग पुर्याउनु आवश्यक छ । चारवर्षे कार्यकालमा घलेले उठाएको प्रतिष्ठाको अधिकांश अंश पद हस्तान्तरणमा ढंग नपुगेर आर्यघाट पुग्यो । त्यसको असरले योपटक र पछिसम्मका उहाँहरूका धेरै सम्भावनालाई दशकौँ पछाडि धकेलिदिएको अनुमान गर्न सकिन्छ ।

फोन गर्ने मेरा अमेरिकन अभियन्ताले ‘कुरो बुझेंँ, फेरि कुरो गरौँला’ भन्दै बिदा मागे । उनले कुरा बुझेकै भए त राम्रै भयो, के पो गरे कुन्नी ?!