चाल्र्स डिकन्स, जो उपन्यास लेखनबाटै देवतातुल्य पुजिए

चाल्र्स डिकन्स, जो उपन्यास लेखनबाटै देवतातुल्य पुजिए


– हेमन्त खतिवडा

उन्नाइसौँ शताब्दीका सबभन्दा लोकप्रिय उपन्यासकार हुन् चाल्र्स डिकन्स । अंग्रेजी साहित्यमा उनको बेजोड उपस्थिति रहेको छ र उनले आफ्नो विलक्षणता देखाउँदै आइरहेका छन् ।

सेक्सपियरका नाटकहरू अंग्रेजी साहित्यमा अनमोल मानिन्छन्, त्यस्तै चाल्र्स डिकन्सका उपन्यासहरू मानिन्छन् । उनका उपन्यास अंग्रेजी भाषाका अनमोल मणि–माणिक्य हुन् ।

डिकन्सले अन्दाजी तीन हजार पात्रहरू सृष्टि गरे । धेरै पात्रहरू जस्तै साम वेलर, यूरिया हिप, डेभिड कपरफिल्ड मिकाबजर, पेक्सनिफ जनमानसमा अविस्मरणीय भएर रहेका छन् ।

क्रिस्मसको बेला थियो, एउटा सानो पुस्तक यही बेला प्रकाशित भयो । यो पुस्तकले ठूलो हल्लीखल्ली मच्चायो । धेरै मानिसहरूले संसारको सबभन्दा महान् पुस्तक भनेर यस पुस्टकको तारिफ गरे । यो पुस्तकको यति धेरै चर्चा भयो, धेरैले यसलाई स्वागत गरे ।

प्रथम संस्करणमा एक हजार प्रति छापिए । दुई हजारपछि नै पन्ध्र हजार थप छापिए । त्यसपछि त कति हो कति छापिए । लाखौँ प्रति छापियो, बिक्री भयो, फेरि छापियो । यो श्रृंखला निरन्तर चलिरह्यो । विश्वप्रसिद्ध यो पुस्तकको नाम हो– क्रिस्मस क्यारोल ।

डिकन्सको ख्यातिलाई अझ चरमचुलीमा पु¥याउने पुस्तकको नाम हो पिकविक पेपर्स । हास्यको मूल फुटको छ यसमा । अनि उनी भए सारा संसारका प्रिय व्यक्ति, अत्यन्त प्यारा अनि आँखैका नानी भए, दिलका ढुकढुकी भए । देशबासीका शान भए, गर्व भए । अनि मान्छेहरू छातिमा हात ठोकेर भन्न लागे–‘हामी चाल्र्स डिकन्सको देशका नागरिक हौँ ।’ यसरी आफ्नो देशवासीको शिर ठाडो पार्ने काम गरे चाल्र्स डिकन्सले ।

अंग्रेजी साहित्यमा सबभन्दा प्रजनशील र सबभन्दा प्रिय लेखक हुने डिकन्सको भाग्य थियो । तै पनि सुरु सुरुमा उनी लुकीलुकी कथाहरू लेख्थे अनि लुकी–लुकी ती कथाहरू प्रकाशकलाई पठाउँथे । जब उनको पहिलो कथा छापियो, उनी बर्बरी आँशु झार्दै लण्डनका सडक–सडकमा घुमिहिँडे । त्यसबेला बाइस वर्षका थिए । त्यो कथाका निम्ति एक पैसा पनि पाएनन् उनले । तर पछि प्रत्येक पत्रिकाबाट एक–एक शब्दका निम्ति तीन पाउण्ड पाए । कुनै लेखकले यति धेरै पैसा पाएका थिएनन् ।

चाल्र्स डिकन्सले चार वर्ष मात्र स्कुलमा अध्ययन गर्ने अवसर पाएका थिए । त्यहि पनि अंग्रेजी साहित्यमा आफ्नो आधिपत्य जमाए । पन्ध्रवटा उपन्यासहरू लेखे र उन्नाइसौं शताब्दीका सबभन्दा महान् र चर्चित उपन्यासकारका रुपमा विख्यात भए ।

चाल्र्स डिकन्सले सन् १८१२ को फरवरीमा संसारको उज्यालो देखे । उनको बाल्यकाल अति नै सुखद थियो तर दश वर्षको उमेर हुँदा उनको परिवारलाई विपत्तिहरूले घेर्न थाले । उनका बाबुले ऋण काढे र ऋणमा डुबे । ऋण तिर्न सकेनन् । अनि उनी जेल परे । खानेकुरा केही थिएन घरमा । सधैं बिहान घरको सामान लगेर बेच्थे, चाल्र्स डिकन्सले आफ्ना कितावहरू पनि बेच्नु प¥यो । उनी बार–बार भन्थे– ‘जब मैले मेरा किताबहरू बेचें, त्यसबेला मेरो मुटु चुँडिएला जस्तो हुन्थ्यो । अन्त्यमा केही सीप नलागेर उनी आमा ६ जना नानीहरूलाई लिएर जेलमा आफ्ना पतिसँग बस्न गइन् । पछि चाल्र्स डिकन्सले आफ्ना बाबुलाई मिकाबरको रुपमा डेभि कपर्फिल्डमा उतारे ।

१२ वर्षको उमेरमा डिकन्सले एउटा कारखानामा बोतलमा लेबल टाँस्ने काम पाए । कारखाना फोहोर थियो, डुङ्डङ्ती गनाउने, मुसैमुसाले भरिपूर्ण । उनले श्रमिकका दुःख देखे, उनीहरूका पीडा बुझे । बाल्यकालको यो भयानक गरिबी उनले पछिसम्म पनि बिर्सन सकेनन् । उनका उपन्यासहरूमा जेलको विम्ब र उत्पीडित बालकका चित्र घरिघरि आइरहन्छन् ।

उनका बाबु जेलबाट छुटे । चाल्र्स डिकन्स फेरि स्कुलमा भर्ना भए । डिकन्स पछि पत्रकार भए । यसबेला हो कि उनी मेरियाप्रति आशक्त भएको, अनि प्रेममा भुकुक्क भएको र मेरियाको दिल सुटुक्कै चोरेको ।

उनको सलक्क परेको नाक, चम्किला आँखा र चिटिक्क परेको ज्यान–जीउडाल देखेर डिकन्स लठ्ठ परे । मेरीका बाबु पैसावाल थिए र डिकन्स जस्ता गरिब पत्रकारलाई आफ्नी छोरी दिन चाहँदैनथे । मेरियाले पनि डिकन्सलाई टेरपुच्छर लाइनन् । तर उनले मेरीलाई जीवनभर बिर्सन सकेनन् । २२ वर्षपछि मेरियाले डिकन्सलाई चिठ्ठी लेखी ‘म तपाईलाई सधैं माया गरिरहेकै छु ।’

सन् १८३६ मा उनले केट होगार्थलाई बिहे गरे । अनि पन्ध्र वर्षभित्रमा दशवटा बच्चालाई जन्म दिइन् । डिकन्सकी साली मेरी होगार्थ पनि सँगै बस्थिन्, अत्यन्त सुन्दरी नारी थिइन् उनी । उनी डिकन्सलाई असाध्यै माया गर्थिन्, तर सत्र वर्षको उमेरमै उनको निधन भयो ।

अब डिकन्स शोक–विह्वल भए । डिकन्सले मेरीको औंलाबाट औंठी झिकेर आफ्नो औंलामा लगाए । अनि त्यो औंठी जीवनभर लगाइरहे ।

धेरै उपन्यासमा घरेलु सुखका दृश्यहरूको सजीवन चित्रण वर्णन गरेका छन् । तर उनको घरमा त्यो सुख थिन, उमंग थिएन अनि हर्ष थिएन ।

सम्पूर्ण संसार नै उनको चरणमा थियो तर उनको घरमा सुख थिएन । केट होगार्थसँग मन मिलेन । स्थिति असहनीय भयो । सन् १८५८ मा ती दुईको छुटानाम भयो । छयालीस वर्षको उमेरमा डिकन्सले एउटी उन्नाइस वर्षकी अभिनेत्री एलेन टरननसँग मायाप्रिति जोडे ।

डिकन्सका उपन्यासमा हास्य छ, विनोद छ, अनि कारुणिकता र मानवता पनि छ । यसैले त उनी आफ्नो जमानाका सबभन्दा लोकप्रिय जनप्रिय लेखक बने अनि एउटा राष्ट्रिय विभूति बने, जसलाई हरेक क्षेत्रका मानिसले पढे, प्रशंसा गरे, पूजा गरे ।

डिकन्सको भाषामा कविताको सुवास छ । मधुरता छ । अनि एउटा यस्तो सौन्दर्य छ जसले पाठकलाई लठ्ठाइरहन्छ, मोहित बनाइरहन्छ ।

डिकन्स आफ्नो समयका सबभन्दा प्रिय लेखक हुन् । सन् १८४२ मा उनी अमेरिका गए । मानिसहरूले उनलाई देवतालाई जस्तै ढोगे, उनलाई छुट खोजे अनि उनलाई हेरेकोहेर्यै गरे । उनले बोलेको सुन्नलाई मानिसहरू रातभरि सर्दीमा थरथर काम्दै लाममा उभिए । टिकट नपाउने उनका प्रशंसकहरूले त्यहाँ तहल्का मच्चाए, तिनीहरूले आगो बाले ।

डिकन्सले मान–सम्मान पाए, धन त कति हो कति कमाए । तर उनले जीवनमा आफ्नो बाल्यकालको त्यो भयानक गरिबी, जीवनको पीडा दर्द बिर्सन सकेनन् अनि उनको साहित्यमा ती पीडाहरू बारबार आइरहन्छन् । उनी गरिबहरूका पक्षधर भएर खडा भए अनि जीवनभर लागिरहे ।

अब उनी जीवनको अन्तिम दिलहरूमा आइपुगे, उनको ख्याति फैलियो, चमेलीको फूल झैं, अनि सयपत्री झैं उनी फैलिए । लोकप्रियताको मधुरस पिएर साहित्यको मधुशाखामा उनी हराए, अनि अमर भएर रहे ।

सारा संसारले उनलाई पूजा ग¥यो देवतालाई जस्तै ।

८ जुन १८७० मा उनी एडविन डुड लेख्दै थिए, लेख्दै थिए, लेख्दा लेख्दै सास फेर्न छोडे । अझै उनको हातमा कमल रहिरहेको थियो । हातमा कलम बोकेर उनी अबिदितको यात्रामा हिँडे, हातमा कलम लिएरै आँखा चिम्म गरे । त्यही बेला एक लेखकले भने– उनी लोकप्रियताले मरे, धेरै प्रसिद्धि र ख्यातिले मरे ।

तर म भन्छु उनी मरेका छैनन् । अंग्रेजी साहित्यको इतिहासमा अमर भएर रहेका छन्, अझ बाँचिरहेका छन् । अझै बाँचिरहेका छन् र संसारभरी सधैं चाल्र्स डिकन्स, प्यारा चाल्र्स डिकन्स भएर रहने छन् ।