बेलायतमा पनि मनाइयो म्हः पूजा र नव नेपाल सम्वत्

बेलायतमा पनि मनाइयो म्हः पूजा र नव नेपाल सम्वत्


बेलायतमा रहँदै आएको नेपाली समूदायले यस वर्ष पनि म्हः पूजा तथा नेपाल सम्वत् ११३८ भब्यताका साथ मनाएका छन् । विगत ५–६ वर्षदेखि बेलायतस्थित पासा पुचः गुठीको समन्वयमा बेलायतका विभिन्न शहरमा यो सांस्कृतिक पर्व मनाइँदै आइएको छ ।

यो सांस्कृतिक पर्व मनाउँदा परम्परागत रूपमा समयबजीबाट सुरु गरिएको थियो । कार्यक्रममा नेवारी परम्परा अनुसार पूर्ण बिधिका साथ आत्मा पूजा अर्थात म्हः पूजा पनि गरियो । कार्यक्रममा सहभागी सबै विदेशमा पनि यसरी आफ्नो सांस्कृतिक पर्वलाई उत्साहका साथ मनाउन पाएकोमा खुशी देखिएका थिए ।

संस्थाको अल्डेर्शोट ब्रान्चका सचिब पशुराम बदगामीले आफु भन्दा पनि आफु पछिका पुस्ताहरुलाई आफ्नो मौलिक संस्कृति सिकाउन पाएकोमा हर्षित भएको बताए । सो कार्यक्रम गुठीका प्रेसिडेन्ट कुमार श्रेष्ठ सभापतित्वमा सम्पन्न भएको थियो भने बेलायत स्थित नेपाली राजदूताबासका प्रतिनिधि तृतीय सचिव भूपेन्द्र घिमिरेको पनि उपस्थिति रहेको थियो ।

कार्यक्रममा परम्परागत धिमे बाजासंगै मन्जुश्री नृत्य, लाखे नाच, भैरवनाच, महालक्ष्मी र भुच्चा नाच पनि देखाइएको थियो । कार्यक्रममा १७४ वटा मन्डपका साथ सामुहिक म्हः पूजा सम्पन्न गरिएको थियो । बेलायतमा रहेका करिब तीन सयको उपस्थिति रहेको सो कार्यक्रममा सांस्कृतिक उत्सव मनाउने सबै हर्षित र उत्साहित भएको पासा पुचः गुठी, बेलायतका ट्रेजरर निर्झरविमोहन श्रेष्ठले जनाएका छन् ।