नेपाल तेक्वान्दो सङ्घ खेलकुद परिषदमा दर्ता भएको मेनपावर कम्पनी हो

नेपाल तेक्वान्दो सङ्घ खेलकुद परिषदमा दर्ता भएको मेनपावर कम्पनी हो


यतिबेला तेक्वान्दोको चर्चा उत्कर्षमा छ । कोही निर्वाचित भएर पदासीन भएका छन् भने कोही असन्तुष्टि जाहेर गरेर थला परेका छन् । यस्तोमा एउटा समूह नेपाल तेक्वान्दो सङ्घलाई चुनौती दिँदै समकक्षी राष्ट्रिय तेक्वान्दो सङ्घमा प्रवेश गरेका छन् । तेक्वान्दो सङ्घको निर्वाचनकै दिन सयौँको सङ्ख्यामा खेलाडी, पदाधिकारी र प्रशिक्षकले तेक्वान्दो सङ्घलाई बाई–बाई गरेपछि उनीहरूलाई स्वागत गर्दै अबिर–माला पहिऱ्याएको राष्ट्रिय तेक्वान्दो सङ्घ चर्चामा आएको छ । यसलाई सङ्घले आफ्नो विजय र सफलताको अनुभूति गरिरहेको अवस्थामा अखिल नेपाल खेलकुद महासङ्घका अध्यक्ष तथा राष्ट्रिय तेक्वान्दो सङ्घका अध्यक्ष शिव कोइराला ‘ज्वाला’सँग घटना र विचारका लागि श्रीविक्रम भण्डारीले गरेको विशेष कुराकानी :

० वर्तमान अवस्थामा नेपालमा दुईवटा तेक्वान्दो सङ्घ अस्तित्वमा देखिएका छन्, दुईवटा सङ्घ जन्मिनुको कारण के होला, यसलाई कसरी विश्लेषण गर्नुहुन्छ ?
– वस्तुको विकाससँगै उसको आकारमा परिवर्तन हुन्छ । यो वस्तु विकासको अपरिहार्य विज्ञान हो । वस्तु विकासमा यदि केही अवरोध हुन्छ भने वस्तु यथास्थितिमा रहन सक्तैन । अतः स्वतः पतनको विकल्प छैन । त्यसैले विकास र पतनको दौडमा तेक्वान्दोको इतिहासलाई संरक्षण गर्दै राष्ट्रिय तेक्वान्दो सङ्घ विकासको गतिमा अगाडि बढ्दै छ । यथास्थितिमा रहेको तेक्वान्दो सङ्घ वस्तु विकासको वैज्ञानिकतालाई नबुझेका कारण अपरिहार्य पतनको दिशामा उन्मुख छ । यही नै राष्ट्रिय तेक्वान्दो सङ्घको उत्पत्तिको आवश्यकता हो ।

० एउटा वनमा दुईवटा सिंह, एउटा म्यानमा दुईवटा तरवार कसरी सम्भव हुन्छ, यो त प्राकृतिक नियमविपरीत भएन र ?
– सिंह त वनमा धेरै हुन्छन्, जसमध्ये एउटाले लिड गर्छ । तथापि एउटा म्यानमा दुईवटा तरबार अड्दैन, यो सत्य हो । हामीले यसलाई यसरी बुझ्नुपर्छ । तेक्वान्दो, करातेलगायतका एउटै प्रवृत्तिका थुप्रै सङ्घ जो छन् यिनीहरू एउटा तोपघरभित्रका दर्जनौँ मेसिनगन हुन् । जुन मेसिनगन चल्छ, त्यसलाई सिपाहीले प्रयोग गर्छ । जुन मेसिनगन ‘स्वचालित’ छ, त्यसलाई म्युजियममा राख्नुको अर्को विकल्प हुन सक्तैन । नेपाल तेक्वान्दो सङ्घ यसको इतिहास म्युजियममा सजाउनेबाहेक फरक देख्न सक्तैन ।

० तेक्वान्दोजस्तो सफल र लोकप्रिय खेलमा दुईवटा सङ्घ जन्मिनु दुर्भाग्य हो कि समयको आवश्यकता ?
– समयले दुईवटा सङ्घको आवश्यकता २०औँ वर्षअघिदेखि माग गरेको थियो । थुप्रै खेलाडीले माग पूरा गर्ने जमर्को पनि गरे । अहिले आएर राष्ट्रिय तेक्वान्दो सङ्घ उहाँहरू सबैको चाहनालाई पूरा गर्न सफल भएको छ । प्रतिस्पर्धाको यो युगमा दुईवटै सङ्घ स्वच्छ प्रतिस्पर्धामा अगाडि जान सके भने तेक्वान्दो–जगत् गुणात्मक हिसाबले अगाडि बढ्न सक्छ । अतः राष्ट्रिय तेक्वान्दो सङ्घको जन्म हुनु तेक्वान्दोका खेलाडीलाई बन्चित भएको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पहिचान दिने अवसर पूरा हुनेछ ।

० तेक्वान्दोको समग्र विकास र विस्तार गर्ने दुवै सङ्घको एउटै उद्देश्य र धारणा रहेको छ, यस्तो अवस्थामा मिलेर अगाडि बढ्ने सम्भावना कत्तिको देख्नुहुन्छ ?
– नमिल्ने प्रसङ्ग नै हुँदैन । मिलनका निमित्त सहअस्तित्वको आवश्यकता हुन्छ । यहाँ चलायमान शक्तिले स्थिर शक्तिलाई चलायमान गराउन अनिवार्य आवश्यकता हुन्छ । यही नै चालको नियम हो । हामी स्थिर शक्तिलाई चलायमानको दिशामा अगाडि बढाउन सक्छौँ भन्ने मान्यता राष्ट्रिय तेक्वान्दो सङ्घले राख्छ ।

० राष्ट्रिय खेलकुद परिषद्मा राष्ट्रिय तेक्वान्दो सङ्घको दर्ता हुनु तेक्वान्दोको निकास हो कि विवाद ? तपाईंको विचारमा यो ठीक हो कि बेठीक ?
– २०औँ वर्षअघिदेखि यो तेक्वान्दो विकासका लागि अनिवार्य आवश्यकता थियो । त्यही आवश्यकता राष्ट्रिय तेक्वान्दो सङ्घले पूरा गरेको हो । यसले दमन, उत्पीडनमा रहेका खेलाडीलाई प्रतिस्पर्धामा उत्रिने अवसर दिएको छ । सारतः राष्ट्रिय तेक्वान्दो सङ्घ जन्मिनु नै खेलकुदमा गणतन्त्रको अनुभूतिको सुरुवात हुनु हो । समयसापेक्षतामा नेपाल तेक्वान्दो सङ्घले आफूलाई रूपान्तरण गर्न सकेन भने डाइनासोर हुनुको विकल्प छैन ।

० विगत चार दशकदेखि तेक्वान्दो सङ्घमा तानाशाही चल्नुमा कसको कमजोरी देख्नुहुन्छ, खेलकुद सङ्घमा आजीवन रजाइँ गर्नुकोे पछाडिको रहस्य के होला जस्तो लाग्छ ?
– अरूलाई दोष लगाउनेभन्दा त्यसलाई प्रोटेक्ट प्रदान गर्ने दोषी हुन्छ । यसर्थ यो कमजोरी आमखेलाडीको पोल्टामा जाने देखिन्छ । यदि आमखेलाडी सचेत हुन्थे भने चार दशकमा संरचना र नेतृत्वमा परिवर्तन नहुने स्थिति आउने थिएन । नेपाल तेक्वान्दो सङ्घ अहिले पनि निश्चित मालिक र मेनपावरको रूपबाट फरक देखिन सकेको छैन । जसले मालिकलाई कन्भिन्स वा खरिद गर्न सक्छ, उसको मात्र यात्रातय हुन सक्छ । त्यसैले अधिकार खोस्नेहरूलाई दोष लगाउनुभन्दा पनि अधिकार खोसिँदा निर्जीव जीवन जिउनेहरूलाई दोष लगाउन उपयुक्त ठान्दछु ।

० नेपाल तेक्वान्दो सङ्घ बाउको बिर्ताभन्दा पनि स्वास्नीको पेवाजस्तो भएको खेलकुदमा चर्चा–परिचर्चा छ, यो कथनलाई तपाईंको ज्ञानचक्षुले चाहिँ के भन्छ नि ?
– मेरो ज्ञानमा राजसंस्थाबाहेक ४०औँ वर्ष एउटै व्यक्तिले राज गरेको अरू प्रमाण छैन । यो सङ्घ राखेपमा दर्ता भएदेखि उसको निर्देशनमुताबिक चलेको देखिँदैन । त्यसैले कसी लगाउने संस्था राखेप ४० वर्षसम्म पेवा बाँडफाँडमा सम्मिलित भएको तीतो सत्य उप्काइरहनु त्यति जायज हुँदैन । किनकि हामी सबै खेल सङ्घहरू यसै संस्थाको अधीनमा खेल क्षेत्रको विकासको निम्ति तल्लीन छौँ र स्वर्णीम भविष्य पनि देखेका छौँ । कतिपय विषयमा राखेपले आफ्ना नीति–नियमहरूमा परिवर्तन ल्याउनु जरुरी छ । एकजना व्यक्ति एउटै पदमा कति समय राज गर्न पाउने हो ?

० नेपाल तेक्वान्दो सङ्घका महासचिव दीजराज गुरुङविरुद्ध राष्ट्रिय खेलकुद परिषद्मा उजुरी दर्ता गर्नुपूर्व तेक्वान्दोका मुख्य प्रशिक्षक ध्रुवबहादुर गुरुङ हालै राष्ट्रिय तेक्वान्दो सङ्घमा लामो लस्करसहित प्रवेश गर्नुभएको छ, यसको अर्थ के हुन सक्छ ?
– उहाँ तेक्वान्दोको विकास चाहनुहुन्छ । तेक्वान्दोमा भविष्य छ भन्दै हजारौँ नागरिकलाई उहाँले तेक्वान्दो खेलाडी बनाउनुभएको छ । ती खेलाडीको भविष्य सुनिश्चित गराउन मुख्य जिम्मेवारी ठान्दै यसको एउटा मात्र विकल्पमा राष्ट्रिय तेक्वान्दो सङ्घ उहाँले देख्नुभयो । फेरि पनि उहाँको यो बुझाइप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु । साथै आमखेलाडीले उहाँको यो बाटो पहिल्याउनेछन् भन्ने मेरो ठम्याइ छ ।

० नेपाल तेक्वान्दो सङ्घलाई चुनौती दिन अर्थात् सबक सिकाउन प्रशिक्षक ध्रुव गुरुङलाई राष्ट्रिय तेक्वान्दो सङ्घमा भित्र्याउनुभएको त होइन, यो कार्यले त तेक्वान्दोलाई अझ विवादमा पार्छ, होइन र ?
– उहाँको एकता नेपाल तेक्वान्दो सङ्घसँगको रिस, राग र द्वेषमा भएको छैन । त्यस संस्थामा पनि मुख्य प्रशिक्षकको भूमिका निर्वाह गरिसक्नुभएका ध्रुव गुरुङ यस सङ्घमा प्रवेश गर्नुले विषय छर्लङ्ग हुन्छ । नेपालको तेक्वान्दो–जगत् राष्ट्रिय तेक्वान्दो सङ्घसँग अछुतो रहन सक्तैन ।

० दुवै सङ्घमा तेक्वान्दोमा लामो समयदेखि रगतपसिना बगाएका र सुकाएका खेलाडी, प्रशिक्षक र पदाधिकारी छन्, यस्तो अवस्थामा तेक्वान्दो विवादमा पर्नुलाई राम्रो सङ्केत मानिएको छैन, यो पानीबाराबरको स्थितिको निकास के होला ?
– तेक्वान्दोमा विवाद छँदै छैन । परिषद्को ऐनअनुरूप दुवै सङ्घ आ–आफ्नो अस्तित्वमा छन् । र, उनीहरू दुवै अन्तर्राष्ट्रिय मातृसंस्था कुकिवानका सदस्य हुन् । यो प्रतिस्पर्धाले खेलाडीले महँगो खेलजीवन सुलभ र सस्तो बनाउन सफल भएको राष्ट्रिय तेक्वान्दो सङ्घले महसुस गरेको छ ।

० कुनै पनि सङ्घमा व्यक्तिगत र राजनीतिक हस्तक्षेप हुनुहुँदैन, यसमा तपाईं आफूलाई कहाँ पाउनुहुन्छ, खेलकुदमा दूधले नुहाएको त कोही देखिँदैन नि ?
– हाम्रो देशको विरासत राजनीतिले खेलकुदलाई प्रयोग गर्ने छ । हामी सचेत हुन सक्यौँ भने राजनीतिलाई खेलकुदले हस्तक्षेप र प्रयोग गर्न सकिन्छ । यसर्थ हरेक खेलाडीमा राजनीतिक चेतना आवश्यक हुन्छ । त्यसले मात्रै ऊ अन्यायमा पर्नबाट जोगिन सक्छ ।

० यस्तो अवस्थामा तेक्वान्दोलाई विवादरहित र स्वच्छ खेल संस्था बनाउन के कुराको अवलम्बन गर्नुपर्ला जस्तो लाग्छ ?
– आजको मितिसम्म हाम्रो राज्यले खेलकुदबाट राज्यको पहिचान दिलाउन सक्छ भन्ने कुरा सोच्न पनि सकेको छैन । त्यसैले मातहतमा रहेको खेलकुद परिषद् पनि आफ्नो एजेन्डामा सफल नहुनु नौलो कुरा भएन । तथापि राखेपले प्रयत्न गर्नुपर्छ, हरेक विवादित सङ्घहरू सम्मिलित रहने गरी तेक्वान्दो, कराते या अन्य सङ्घहरूमा महासङ्घ निर्माण गर्नुपर्छ । यसबाट स्वतः देखिने समस्या समाधान हुनेछन् र प्रतिस्पर्धामा हुन आउने विवादले चेतना र खेलकुदको अझै विकास गर्ने बुझ्छु ।

० अहिले तेक्वान्दोमा विकृति, विसङ्गति र अनुशासनहीनता मौलाएको अवस्था छ, यसको समाधान गर्न सम्बन्धित निकायले कस्तो कदम उठाउनुपर्ला ?
– हरेक क्षेत्रीय गेमहरूमा जिल्ला छनोटबिना नै प्रतियोगिता हुने चलन छ । हरेक राष्ट्रिय गेममा क्षेत्रीय प्रतियोगिताबिना नै राष्ट्रिय गेम गर्ने चलन छ । हरेक अन्तर्राष्ट्रिय प्रतियोगितामा राष्ट्रिय प्रतियोगिताबिना नै मेनपावरका मालिक ढाडमा डाम लगाएर पठाउने चलन छ । त्यसैले त आमखेलाडीले नेपाल तेक्वान्दो सङ्घलाई खेलकुद परिषद्मा दर्ता भएको मेनपावर भन्ने गर्छन् । यही प्रक्रिया जारी रहने हो भने राखेपले आफ्नो सदस्यताबाट हटाएर त्यसलाई वैदेशिक रोजगार विभागमा दर्ता गराउने बाटो देखाइदिनुपर्छ । असत्यको पराजय र सत्यको विजय अनिवार्य छ ।