किन चाहियो प्रशान्तलाई ऐश्वर्य ?

किन चाहियो प्रशान्तलाई ऐश्वर्य ?


राजन घिमिरे

सिनेमाको कुरा गर्दा जहिले पनि हिरो-हिरोईनको नाम अगाडि आउँछ। चर्चा, आलोचना र वाहवाही पनि उनिहरूकै बढी हुन्छ । यो अलिक पुरानो समयको कुरा ।

तर अहिले नेपाली सिनेमाको धारले नयाँ मोड लिएको छ । हिरो हिरोइनको दाँजोमा एकजना खलपात्रकै उपस्थिति र चर्चा दह्रो भएको छ नेपाली सिने वृत्तमा । पंक्तिकारले पनि चलचित्र पत्रकारिता गरेको झण्डै दुई दशक भयो । हिरो ,हिरोइन र अन्य पात्रको बारेमा पनि धेरै लेखियो । तर ,पहिलोपटक एकजना खलपात्रको बारेमा दिल खोलेर लेख्न पाइएको छ ।

यी रोवपूर्ण व्यक्तित्व भएका पात्र हुन् प्रशान्त ताम्राकार । सिनेमामा काम गरिएला र यत्तिका चर्चा पाइएला भन्ने नले सोचेकै थिएनन् । तर जीवनमा कहिलेकाहीं नसोचेको कुरा पनि हात लाग्दो रहेछ भन्छन् प्रशान्त । सिनेमामा अभिनय र यो विधासंग उनको नाता त्यति पुरानो नभए तापनि नेपाली मोडलिङ र कोरियोग्राफी विधामा भने उनी पायोनियर नै हुन् भन्दा हुन्छ । मोडलिङमा निकै सम्मान, इज्जत र वाहवाही छ उनको । यही पारा, चाला र अवस्था हेर्ने हो भने सिनेमा क्षेत्र पनि उनको लागि फलदायी हुने देखिन्छ । तर आगामी चलचित्र खेल्दा भने प्रशान्तले ब्यानर, मेकर र विषयवस्तु छनौटमा चुक्नु हुँदैन।

कात्तिक ९ विहिबारबाट प्रदर्शनमा आउन लागेको चलचित्र एेश्वर्यभित्र के कति खुराक, मसला र सन्देश छ ? त्यो त चलचित्र हेरेपछि नै थाहा होला, तर अहिले जसले जति भने पनि यो चलचित्रले जति चर्चा हात पारेको छ त्यसको सबै कारण प्रशान्त नै हुन भन्दा अतिरञ्जना ठहरिने छैन । ऐश्वर्यमा प्रशान्तले बोलेको सम्वाद भाइरल भएको छ यतिबेला- ‘मलाई ऐश्वर्य चाहिएको छ… बिजनेशले टाउको दुखाउँछ तर प्रेमले मुटु दुखाउँछ.. ।’

हुन त चलचित्रका नायक र नायिका रमेश उप्रेती र नायिका दिपीका हुन्, तर दर्शकहरू माझ प्रशान्तको उपस्थिति गरम बन्न पुग्छ । त्यसो त निर्देशक दिवाकर भट्टराई र निर्माण पक्षले प्रशान्तको भूमिका र क्रेजमाथि हस्तक्षेप गरेका छैनन् । प्रचारप्रसारमा पनि प्रशान्तको दबदबालाई पनि राम्रैसंग जम्न दिएका छन् । उनिहरूको यो ब्यबसायिक सोचको तारिफ गर्नैपर्छ । यहाँ हिरोले चलचित्र बनायो भने अन्य पात्रलाई गौण बनाउने थुप्रै विशिष्ठ फिल्मकर्मी भनौदाहरूको जमात पनि नभएका होइनन् ।

नेपाली चलचित्र बजारमा खलपात्रको भूमिकाले यत्रो चर्चा पाएको यो निकै लामो समयपछि हो । एक समय चलचित्र चिनोबाट खलनायकको चर्चा पनि नायकको भन्दा कम हुँदैन भन्ने उदाहरण पेस गरेका थिए सुनिल थापाले । अहिले तीस बर्षपछि आएर त्यस्तै क्रेजलाई प्रशान्तको उपस्थितिले दोहोर्याएको छ । अग्लो शरीर, बोल्ड आबाज र स्टाईलिस लुक नै प्रशान्तलाई जमाउने प्रमुख कडी साबित भएको छ ।

‘साम दाम दण्ड भेद जे गरेर पनि मलाई त्यो ऐश्वर्य चाहिएको छ… ।’ प्रशान्तले कुराकानीको क्रममा यो सम्बाद बोलेपछि मैले फेरि सोधेँ, ‘तपाईलाई किन चाहियो ऐश्वर्य ?’ ‘सबै कुरा अहिले नै नभनौँ होला, यो थाहा पाउन त चलचित्र ऐश्वर्य नै हेर्न पर्छ ।’ यति भन्दै फेरि उनी चलचित्रकै सम्दवा सुनाएर बिदा भए- ‘यो संसार जित्नेहरूकै हो । चाहे जसरी होस जित्नेहरूकै नाम हुन्छ…।’