लक्ष्मी जयन्ती र साहित्य समाजको अधिवेशन सम्पन्न

लक्ष्मी जयन्ती र साहित्य समाजको अधिवेशन सम्पन्न


डिल्ली राम अम्माई (बेल्जियम)

अन्तर्राष्ट्रिय साहित्य समाज बेल्जियम च्याप्टरले महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०८औँ जन्मजयन्ती संस्थागत अधिवेशनसहित कवितावाचन गरी मनाएको छ । समाजका उपाध्यक्ष राजकुमार पुडासैनीको सभापतित्व र महासचिव परमानन्द सापकोटाको सञ्चालनमा भएको कार्यक्रमको प्रमुख आतिथ्यता कवि, लेखक र लोकगायक नरबहादुर विसीले गरेका थिए ।

वि.सं. १९६६ साल कात्तिक कृष्णऔँसीका दिन काठमाडौं डिल्लीबजारमा जन्मिएका महाकवि देवकोटाका महाकाव्य, खण्डकाबव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, फुटकर कविता प्रकाशित छन् । बाल्यकालदेखि नै कलम चलाउन सुरु गरेका देवकोटाले नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गरेका थिए ।

देवकोटाको मुनामदन खण्डकाव्य नेपाली भाषामा प्रकाशित सबैभन्दा बढि बिक्री हुने र लोकप्रिय पुस्तक हो । शाकुन्तल र सुलोचना महाकाव्य, कुञ्जिनी खण्डकाव्य देवकोटाका केही उत्कृष्ट कृति हुन् ।

२०१६ सालमा शिक्षामन्त्री हुँदा त्रिभुवन विश्वविद्यालय र नेपाल प्रतिष्ठानको स्थापना सहित नेपालभर नेपाली भाषालाई अनिवार्य विषयका रुपमा लागु गराउन देवकोटाले महत्वपूर्ण योगदान गरेका थिए ।

महाकविका यिनै यागदानहरु बारे विशेष चर्चा गर्दै उहालाई भावपूर्ण श्रद्धाञ्जली दिइयो । अन्तर्राष्ट्रिय साहित्य समाजका भूतपूर्व अध्यक्षहरु क्रमशः विमल गिरी र दीपेन्द्र केसीलगायत उपस्थित अधिकांशले आफ्ना कवितावाचन गरेर महाकविलाई सम्झिए ।

त्यसपछि प्रत्येक दुई वर्षको लक्ष्मी जयन्तीको अवसर पारेर गरिने अधिवेशन शुरु भयो । अधिवेशनले राजकुमार पुडासैनीको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिती चयन गर्यो, जसमा दुर्इ उपाध्यक्ष क्रमशः परमानन्द सापकोटा र मोहन खत्री, महासचिव सौरभ कारञ्जित, सचिव जमुना गैरे, कोषाध्यक्ष डिल्लीराम अम्माई सदस्यहरु नन्दू घले, माधव सापकोटा, विष्णु सापकोटा निर्वाचित भएका छन् ।