धेरैले गर्छन् वाह्…! तर कतिपयले किन गर्छन् अनमोलको डाह !?

धेरैले गर्छन् वाह्…! तर कतिपयले किन गर्छन् अनमोलको डाह !?


– राजन घिमिरे

नेपाली समाजमा प्रचलित छ- कान नहुनेको नाम कर्णबहादुर, हात नहुनेको नाम हस्तबहादुर या जो गरिब छ उसको नाम धनबहादुर !

उपरोक्त तुक्का कहाँ, कतिका जीवनमा मेल खायो-खाएन भन्ने सवाल आफ्नै ठाउँमा छ, तर नामअनुसारको काम, प्रशंसा, वाहवाही, उपस्थिति र गरिमा युवापुस्ताका चर्चित नायक अनमोल के.सी.को जीवनमा भने चरितार्थ भएरै छाड्यो । नामजस्तै अनमोल नै भएको छ नेपाली चलचित्र क्षेत्रमा अनमोलको आगमन… ।

आज अनमोल खेल्न तयार मात्र हुनुपर्छ, उनलाई एउटा सिनेमा खेलेवापत ५० लाख रूपैयाँ तिर्न तयार छन् निर्माताहरू । तर पैसा आयो भन्दैमा दायाँबायाँ विचार नगरी फिल्म स्वीकार गर्ने हतारो कहिल्यै देखाएनन् उनले । अर्थात्, दाममा भन्दा काम र नाममै ध्यान दिएका छन् अनमोलले । उनी भन्छन्, ‘लामो यात्रा तय गर्नु छ, सस्तो चर्चा र दामको पछाडि लाग्दिनँ। सोच, सपना र उद्देश्य ठूलो छ, गर्नु धेरै छ ।’

अनमोल यस्ता नायक हुन् जसको रगतमै कलाकारिता बगेको छ । उनको बाल्यकाल नै चलचित्रमय परिवारमा गुज्रियो। फिल्मनिर्माता हजुरबुबा मदनमोहन केसीदेखि महानायक बाबु भुवन केसी र आफ्नो समयकी चर्चित नायिका आमा सुष्मिता नै अनमोलको लागि कलाकारिता क्षेत्रमा पदार्पण गरी जम्नको लागि लक्की सावित भयो । राजाको छोरा सोझै राजकुमार भनेझैँ भयो अनमोलको कला जीवन पनि।

वास्तवमा अनमोल यस्ता नायक हुन् जसको प्रवेशले नेपाली चलचित्र क्षेत्रप्रति युवा पुस्ताको क्रेज बढ्यो र नेपाली सिनेमा हेर्न युवापुस्ताका दर्शक हलतर्फ तानिए । कुनै समय मल्टीप्लेक्स हलमा नेपाली सिनेमाको पोस्टर देखिँदा महत्वपूर्ण समाचार बन्दथ्यो । तर अनमोलको प्रवेशले के सिंगल के मल्टीप्लेक्स, सबै तह र तप्काका हलमा नेपाली चलचित्र लाग्न थाले । यसरी युवा तप्कालाई नेपाली सिनेमाप्रति चासो बढाउन अनमोल नै कारण बने भन्दा अतिरञ्जना नठहरिएला । वास्तवमा उनकै प्रवेशपछि नेपाली चलचित्रमा अभिनय गर्न शिक्षित युवा वर्गको प्रवेश बढ्न थालेको हो ।

आफू जान्ने बनेर कसैको कुरा नकाट्ने, सार्वजनिक समारोहतिर त्यति नजाने, अरूको नकारात्मक कुरा गर्न नरूचाउने, आफ्नै काम र पेशाप्रति मात्र मतलब राख्ने स्वभावका यिनै घ्यु कलाकारको पनि यतिबेला डाह गर्ने र कुरा काट्नेहरूको जमात बढ्न थालेको देखिनुचाहिँ दुःखद आश्चर्यको विषय बनेको छ । तर अनमोलको यस विषयमा पनि खासै गुनासो छैन, भन्छन्-‘मलाई आज गाली गर्ने र कुरा काट्नेहरूले भोलि मलाई नै माया गर्नेछन्, म विश्वस्त छु ।’


स्वदेश होस या विदेश जहाँ रहनुभएका नेपालीले पनि सामाजिक सञ्जालमा अत्याधिक खोजिने नायकमा पर्छन् अनमोल । हुन त उनको उमेर रमाइलो गर्ने, साथीभाइसँग घुम्ने अनि डिस्कोतिर जाने हो तर यस्तो क्रियाकलापमा उनि कहिले पनि देखिएनन् । शूटिंग भयो भने सुटिङमा जान्छन् अन्यथा घरै बसेर पुस्तक अध्ययन गर्छन् उनी । अनमोल सिनेमा हेर्न पनि रूचाउँछन् । कसैले विश्वका कुनै पनि सिनेमाको बारेमा कुरा गर्दा अनमोल अनभिज्ञता जनाउँदैनन् ।

तर, आफूलाई अनमोलको प्रतिष्पर्धी भनाएर ठूलो हुन खोज्नेहरु साँझ पर्नासाथ सडक, चोक र डिस्कोमा चुरोट तानिरहेको अवस्थामा भेटिन्छन् । सफल व्यक्तिको डाह गर्ने, कुरा काट्ने कर्ममा तिनका समय बितिरहेको हुन्छ । कुनै बेला मिडियाहरूमा आफ्नो बारेमा गलत अफवाह आए पनि अनमोलले कहिल्यै आवेगमा आएर प्रतिक्रिया जनाएनन् । यो उनमा रहेको विशिष्ट गुण हो, र यही अनमोल गुणले पनि सफलताको सिँढी चढ्न सघाएको छ उनलाई ।

अनमोललाई यतिबेला भारतीय नायक अमिर खानसँग जोडेर चर्चा गर्न पनि थालिएको छ, यस अर्थमा कि वर्षमा एउटा सिनेमा खेल्ने तर हिट नै खेल्ने अमिर खान शैली अपनाएका छन् अनमोलले पनि । फिल्म समिक्षकहरू यस्तै भन्ने गर्छन् ।

अनमोलले चाहेमा के बन्न सक्दैनथे ? डाक्टर, इन्जिनियर, पाइलट या अन्य कुनै । तर उनले कलाकारिता नै रोजे । उनले चाहेको सबै ऐश एेश्वर्य पाउँथे तर आफ्नै पिताको क्षेत्रमा आए । कलाकारितामा नआएर आलिशान जीवन जीउन सक्ने क्षमता उनको छ, तर उनले कलाकारिता रोजेर नेपाली सिनेमामा नयाँ बजारको खोजी गरे । नेपाली सिनेमा भन्ने बित्तिक्कै नाक खुम्चाउने युवापुस्ताको ठूलो जमातलाई नेपाली सिनेमाप्रति उनले आकर्षित गरे ।

यी अभिनेता अनमोल यतिबेला साँच्चै नेपाली सिनेमा वृत्तमा नामजस्तै अनमोल भएर स्थापित भएका छन् । यो उचाईमा पुग्दा पनि उनको व्यवहारमा कुनै घमण्ड छैन, उत्तिकै सरल, सरस, शिष्ट छन् उनी । यसै भनिएको होइन नि, ‘मूलको पानी र कुल घरानको सन्तान… !’