जापान पुगेर भट्टले गरे देश उज्यालो बनाउने प्रण

जापान पुगेर भट्टले गरे देश उज्यालो बनाउने प्रण


गैरआवासीय नेपाली संघ (एनआरएनए)का नवनिर्वाचित अध्यक्ष भवन भट्टले उज्यालो नेपाल अभियानसँग सहकार्य गरेर हिँड्न जापानवासी नेपालीलाई आग्रह गरेका छन् ।

हिजो आइतबार भट्टको स्वागतमा एनआरएनए जापानका पदाधिकारीले आयोजना गरेको कार्यक्रममा उनले दुई वर्षभित्रमा उज्यालो नेपाल बनाउन सहकार्य आवश्यक भएको भन्दै यसमा सहभागी बन्न जापानवासी नेपालीलाई आग्रह गरेका हुन् ।

संघको अन्तर्राष्ट्रिय समन्वय परिषद् अध्यक्षमा निर्वाचित भएपछि पहिलोपटक आफ्नो कर्मभूमि जापान पुगेका भट्टले जापानको हानेदा अन्तर्राष्ट्रिय विमानस्थलमा आफ्नो धारणा राख्दै विदेशमा भएका हरेक नेपालीको सपनासँग जोडिएको उज्यालो नेपाल अभियान एनआरएनएको मात्र नभएको बताए । उनले देश उज्यालो बनाउन २०० मेगावाट विद्युत आवश्यक रहेकोले त्यो पूरा गरेरै छाड्ने प्रतिबद्धतासमेत जनाए ।

अध्यक्ष भट्टले देश बनाउन ‘नयाँ युगको सुरुआत सबैको एकसाथ’ भन्ने नारा रचेको उल्लेख गर्दै यो कार्यमा समग्र जापानवासी नेपालीको साथ सहयोग आवश्यक रहेको बताए । समग्र नेपालीले रोजेको समृद्ध देश निर्माणमा उज्यालो अभियानको नारालाई सफल पार्न विदेशमा भएका नेपालीको सहकार्य र नेपालमा भएका नेपालीबीच एकता भए असम्भव नरहेको पनि उनले स्पष्ट पारे ।