डायस्पोराको इतिहासमा बेल्जियमका ‘सुपरम्यान’

डायस्पोराको इतिहासमा बेल्जियमका ‘सुपरम्यान’


– डिल्लीराम अम्माई

वि.सं. २०५९-६० तिर तत्कालिन जन प्रगतिशील मञ्च बेल्जियमका संसार हल्लाउने तीन अग्रज पात्रहरुबारे पत्रकार कृष्णज्वाला देवकोटाले एउटा फिचर लेखेका थिए । समयको हुरीले तीनजनालाई तीनतिर पुर्याएपछि भने उनीहरुबारे खासै खोजीनीति भएन र उनीहरु खासै चर्चामा रहेनन् । ती तीन ऐतिहासिक पात्र थिए- जनप्रगतिशील मञ्चका संस्थापकत्रय अर्थात पूर्व अध्यक्षद्वय कृष्ण खतिवडा, नवीन सापकोटा र पूर्व महासचिव रामबहादुर गुरुङ ।

अहिले भुलिँदै गएको उनीहरुले गरेको संघर्षको पाटोबारे केही उप्काउने मनशायले पंक्तिकार बेल्जियममा ब्यावसायमा रमेर बसेका कृष्ण खतिवडाको पसल पुगी तत्कालीन अवस्थामा भएको संघर्षको विषय र चाखलाग्दो परिवेशबारे केही तथ्य बाहिर ल्याउने प्रयत्न गरिएको छ ।


(जन प्रगतिशील मञ्च बेल्जियमका संस्थापकहरु क्रमशः रामबहादुर गुरुङ, कृष्ण खतिवडा र नवीन सापकोटा)

नेपाली कम्युनिष्ट आन्दोलनका संघर्षशील विद्यार्थी यी तीनमध्ये एकजना बेल्जियममा सफल ब्यवसाय गरेर बसेका छन् भने नवीन सापकोटा लन्डनमा बसाइँ सरेका छन् । अर्का एकजना रामबहादुर गुरुङ अवकासप्राप्त बुढ्यौली जीवन मातृभूमिमै बिताउने मनसायले बेल्जियमबाट नेपाल फर्किसकेका छन् ।

पंक्तिकार जब उनको पसलमा पुग्यो र बेल्जियममा उनीहरुले गरेको संघर्षबारे चासोसहित आधि घन्टाको समय माग्यो, खतिवडा आफ्ना कुराहरु राख्न हौसिए । ‘त्यो गौरवमय इतिहासको मैले एक्लै जिम्मा लिन मिल्दैन, त्यसमा हामी तीन जनाबाहेक कृष्ण तिवारी, दधि घिमिरे, चित्र सुवेदी, पवन सुवेदी, कृष्ण पौडेल, शिला केसी, सुरेन्द्र भुसाल, दुर्गा सुवेदी, प्रकाश दवाडी, युवराज गुरुङ, लोक दाहाललगायत धेरै साथीहरुको योगदान छ । हामीले त नेतृत्व गरेका मात्र हौँ । त्यो बेला बेल्जियम नेपाली सामाजलाई स्थापित गर्न र नेपालमा भैरहेको मानवअधिकार हननलार्इ अन्तर्राष्ट्रियकरण गर्न अति आवश्यक थियो, त्यो बेलाको संघर्षले बेल्जियममा नेपाली समाजलाई स्थापित र व्यवस्थित गराउन महत्वपुर्ण योगदान पुर्याएको छ ।’ उनले यसो भनिरहँदा उनको अनुहारको चमक हेर्नलायक देखिन्थ्यो ।


(२००२ मा जन प्रगतिशील मञ्च बेल्जियमको नेतृत्वमा भएको ऐतिहासिक हतियारविरोधि आन्दोलनको एक झलक, तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउपा हतियार खरिद सम्झौताको लागि बेल्जियम पुग्दा)

डायस्पोराको इतिहासमा यी तीन नेपाली यस्ता नाम हुन्, उनीहरुले नेतृत्व गरेको अभियानले बेल्जियमको सत्ता मात्रै नभएर युरोपभरि नै तहल्का मच्चाएको थियो । विश्वभरका प्रमुख मिडियाहरुले त्यसलाई ब्रेकिङ न्युजको रुपमा प्रसारण गरेका थिए ।

खतिवडाले बिन्दास मुडमा थपे, ‘त्यो बेलाको परिवेशको कुरा सुन्नुस है त ! त्यो बेला नेपालमा चलेको द्वन्द उत्कर्षमा थियो । सन् २००२ को अन्त्यतिरको कुरो हो । नेपालका प्रधानमन्त्री शेरबहादुर देउपा थिए । गते र महिना मैले ठ्याक्कै भन्न सकिनँ, तात्कालिक बेल्जियमका सत्तासिन ग्रीन पार्टीका एकजना सांसदले मलाइ सुचना दिए कि ‘५५०० स्वचालित हतियार द्वन्द्व दमन गर्न नेपाल लगिदै छ । देउपा स्वयम् सम्झौता गर्न आएका छन् । द्वन्द्व भएको देशमा हतियार बेच्न यहाको मानवअधिकारवादी कानुनले मिल्दैन । यसलाई रोक्न आन्दोलन गर्नुपर्छ ।’ उनले यति भनिसकेपछि मैले संगठनको तुरुन्त मिटिङ बोलाएँ र तुरुन्त एक्सनमा जाने निर्णय भयो ।’ उनी गम्भीर मुद्रामा बोलिरहे, ‘तत्कालिन ग्रीन पार्टी, समाजवादी पार्टी र वर्कर्स पार्टीका सांसद तथा नेताहरुको सहयोगमा, म स्वयम आदरणीय रामबहादुर दाइ र नवीनजीको नेतृत्वमा संसद चलिरहेको अवस्थामा संसद भवनभित्र पसी संसद कब्जा गरेर नारा घन्काइयो, सांसदहरुलाई पर्चा बाँडियो, विरोधपत्र बुझाइयो ।’


(नेपालमा बेल्जियमले पठाउन लागेका हतियारविरोधी आन्दोलन उत्कर्षमा शाही नेपाली दुतावास र बेल्जियम सांसदमा विरोध पत्र बुझाइँदै)

‘पर्चाले सांसद भवन रंगियो । सांसदहरुले त्यो मुद्दा संसदमा उठाए । हतियार नेपाल पठाउने निर्णयको विरुद्ध केहि दिन संसद अवरुद्ध भयो ।’ उनको आवाज बदलियो, एक गिलास पानि पिए । आफुले एल्बममा राखेका फोटाहरु घुरेर देखाउँदै पुनः चर्को स्वरमा बताउन थाले,’त्यो निर्णयको विरुद्ध बेल्जियमको उच्च अदालतमा तत्कालीन जन प्रगतिशील मञ्चको नेतृत्व टिममा भएकोले मेरै नेतृत्वमा मुद्धा दायर भयो ।’

‘बेल्जियमका तात्कालीन प्रधानमन्त्रीले नेपाल हतियार पठाउनेबारे अदालतलाई मनाउन सकेनन् । संसारभरिका मानवअधिकारवदीहरुले बेल्जियमको सरकारी निर्णयको तीव्र विरोध गरे । नेपालको द्वन्द्व राजनैतिक भएकोले हतियार हैन वार्तालाई जोड दिन दबाब दिनका लागि आग्रह गरियो । नेपालीहरुको शान्तिपूर्ण संघर्ष र सांसदहरुको तीव्र विरोध खप्न नसकेर बेल्जियमका तत्कालीन प्रधानमन्त्री गे भर्होफले राजीनामा दिए । तत्कालीन सत्ता पल्टियो ।’

खतिवडा त्यसको जश आफु मात्रै लिन चाहँदैनन् । ‘त्यो बेला हामी नेपालको अवस्थाको सम्वेदनशीलता नजिकबाट नियाल्दै थियौँ, हामी तीनजनालाई नेपालीको र नेपालको बेल्जियमबाट नेतृत्व गर्ने अवसर संगठनले दियो भने संगठन पनि हामीले नै स्थापना गरेका थियौँ, जुन त्यतिबेलाको आवश्यकता थियो ।’

(२००२ मा बेल्जियमको उच्च अदालतमा नेपाल पठाइन लागिएका घातक ‘मिनिमी राइफल’ रोक्न मुद्धा दायर गरिँदैको अवस्थामा मिडियाकर्मीहरुसंग)

उनी थप्छन्, ‘नेपालमा मानवअधिकारको रक्षाको सवालमा बेल्जियमको त्यो संघर्ष डायस्पोरामा नेपालीहरुले गरेको सबै संघर्षभन्दा मूल्यमान छ । त्यसले नेपाल पठाउन लागिएका घातक हातियार रोकेर हजारौँ नेपालीको प्राण बचाएको थियो भने नेपालको तात्कालिक द्वन्तिन्द्व राजनीतिक द्वन्द्वको रुपमा अन्तर्राष्ट्रियकारण गरिदिएको थियो । त्यसैले मानवअधिकार रक्षाको लागि गरिएको संघर्षबराबरको उचाइको संसारमा अर्को कुनै उदाहरण छैन । त्यो अवस्थामा हामीहरु कागजविहीन थियौं । राज्यले हामीलाई जे पनि गर्न सक्थ्यो । तर पनि जोखिम मोलेर रामबहादुर दाइ, म र नवीनजी मिलेर बेल्जियमको संसद कब्जा गर्ने हिम्मत गर्यौँ । आन्दोलनको नेतृत्व गर्यौँ। नेपाल र नेपालीको प्राणरक्षा भन्दा हाम्रो अर्को कुनै स्वार्थ थिएन त्यो बेला ।’

हुन पनि हो, त्यो गरिमामय संघर्षले गर्दा नेपालमा जान लागेका घातक हतियार रोकिए भने युरोपभरि नेपालीलाई कानुनी रुपमा बस्ने अनुमति दिन थाल्यो । अहिले बेल्जियमलगायत युरोपमा स्थाई बसोबास गर्ने अधिकांश त्यहि आन्दोलनपछि कागज पाएकाहरु हुन् भन्दा अतिशयोक्ति नहोला । त्यसैले त्यो संघर्षलाई भुल्नै नहुने तर्क गर्दै त्यो बेल्जियममा गरिएको संघर्ष नेपाली डायस्पोराको एतिहासिक र अनुपम उदाहरण हो भन्छन् उनी।


(बेल्जियमकी तत्कालीन उपप्रधान तथा गृहमन्त्री जुल्ली मिएल्के)

वि.सं. २०२४ चैत्र १४ गते सिन्धुपाल्चोकको भोटेचौरमा जन्मेका खतिवडाको हाल मूल घर हेटौँडा रहेछ । पंक्तिकारले उनको विगतको पृष्ठभूमिबारे चासो राख्दा उनले नङ कोट्याउँदै आफ्नो संघर्षप्रतिको विश्वास २०३६ सालको विद्यार्थी आन्दोलनबाट जागेको बताए । त्यो आन्दोलनले युवामा जागरण ल्याएको बताउने उनले दाजु रामचन्द्र खतिवडाको बामपन्थी आन्दोलनप्रतिको समर्पणलाई आफ्नो प्रेरणाको श्रोत बताउन पछि परेनन् । ‘मैले दाइको कारण घरमा आएका नेताहरुबाट औपचारिक अनौपचारिक रुपमा प्रशिक्षण पाइरहें, त्यहि कारण म तात्कालिक निरङ्कुश शासनको विरुद्धका आन्दोलनमा होमिएँ । २०४५ सालको आन्दोलनमा भरतपुरमा थुनिएँपछि त झन् मनमा भएको अलिअलि डर पनि हराउँदै गयो ।’ यसो भनिरहँदा उनले ठ्याक्क मिति बताउन सकिरहेका थिएनन्।

उनको भनार्इ अनुसार उनी २०४४ सालमा उनका सहकर्मी बद्रि लम्साल, युवराज रिमाल र उनि मिलेर तत्कालिन पुष्पलाल समुहको पूर्वीय कमिटि बनाइएको, माक्र्सवादी समुहको पार्टी सचिवको रुपमा काम गरेका रहेछन् । तात्कालिक फोटाहरु देखाउँदै उनरे माले र माक्र्सवादी समुहको एकतापछि हेटौडाको सचिव भएर काम गरेको बताए ।

हेटौँडाको शारदा प्राविका शिक्षक उनि २०५० पछि नेपाल टोबाको प्रालि खोलेर उद्योग व्यवसायमा प्रवेश गरेका रहेछन् । कुरैकुरामा पछि हरि सिम्खडा, शंकरनाथ पन्त, भुवन पाण्डे, तारानाथ लुइँटेल र उनि मिलेर पोलिथिन पाइप उद्योग क्रिष्टल प्रोडक्ट प्रालि बनाइ जमेर काम गरेको प्रसङ्ग कोट्याए । प्याङ्क्रियाज काम नलाग्ने भएको (मधुमेह) र मुटुको समस्याबाट समेत ग्रस्त उनकी श्रीमती पुष्पा खतिवडाको उपचार नेपालमा हुन नसकेपछि वि.सं.२०५६ साल वैशाख २६ गते मुलुक छोडेका उनि बेल्जियम बाध्य भएर आएको बताउँछन् । ‘यहाँ पनि उनको निरन्तर उपचार गराइरहनु पर्ने भएकोले समस्या छ’, खतिवडाले दुःखेसो पोखे ।

जनप्रगतिशील मञ्च किन छोड्नु पर्यो त भन्ने जिञासामा उनले यस्तो बाध्यता सुनाए,’२००३ सेप्टेम्बरको एक दिन युरोपियन संसदमा नेपालमा भैरहेको मानवअधिकार उलंघनबारे ज्ञापनपत्र दिन जादा दुवै प्रकारका आतंकको विरोध गरिएको ज्ञापन पत्र लुकाएर माओवादी नेता धर्मेन्द्र बास्तोलाले तयार गरेको ज्ञापन पत्र बुझाइयो । त्यसपछि मैले यो प्रगतिशीलहरुको साझा फोरमको मान्यताविरुद्ध भयो । त्यसो गर्नु गलत थियो भनेर प्रतिवाद गरें । त्यसपछि त्यो अन्तरविरोधको सुनुवाई गर्ने चासो देखाइएन । साझा फोरम माओवादीको भातृ संगठनमा बदलिएपछि त्यसमा म बस्नुको कुनै औचित्यता देखिनँ । त्यति ठूलो गरिमामय आन्दोलनको नेतृत्व गरेको र म स्वयमले स्थापना गरेको संगठन छोड्दा ज्यादै दुःख लाग्यो तर मेरो बुझाइमा अन्तरविरोध हल नहुनेगरी बढेकोले बस्नुको औचित्त्यता पनि रहेन । म त्यहाँबाट निस्के पनि त्यो संगठनले हामी तीनजनाको पहलकदमी र नेतृत्वमा नेपालमा मानावाधिकारको रक्षार्थ गरेको त्यो गौरवमय संघर्ष सम्झिँदा गर्वको अनुभूति हुन्छ । त्यसलाई हर तरहले सहयोग गर्ने साथीहरु, ग्रीन, सोसलिस्ट र वोर्कस पार्टीका तत्कालिन सांसद, मानवअधिकारकर्मी र मिडियाकर्मीलाई मेरो लाल अभिवादन छ ।’


(उच्चस्तरीय वार्ताको क्रममा)

धेरैले देखेका, थोरैले चिनेका अनि थोरैले बुझेका छन्, तीन अभियन्तालाई । तीनमध्ये दुर्इले त आफ्नो विगतको महान बिरासतलाई कोशेलीको रुपमा लिएर तितरबितर भैसके । कृष्ण खतिवडा बेल्जियमतिरै छन् । उनले मुखै फोरेर बताए अनुशार उनको नाम विवादास्पद गराउन धेरैले खेल्ने प्रयास पनि गरे, तर उनको विगतको बिरासतको अगाडि कसैको जोर चलेन । अहिले ब्यापारमा तल्लिन खतिवडा सामाजिक गतिविधिमा क्रियाशील भई ‘अर्धभूमिगत’ जस्तै छन् । त्यसैले उनी आममानिसका लागि अहिले ‘पेसिभ क्यारेक्टर’ भन्दा अन्याय हुँदैन ।

पंक्तिकारले भेट्दा उनी अलिक मोटो ज्यान, औसत उचाई, जौतिले केस, ढकिलो अनुहार, गम्भीर मुद्रामा देखिए। झट्ट हेर्दा यो हुलियाभित्र ‘इतिहासको कल्पनै गर्न नसकिने बिरासत लुकाएको मान्छे’ पनि छ होला भनेर अनुमान लगाउन नसकिने । कुरा गर्दै जाँदा थाहा भो, उनको मनभित्र अचेल अध्यात्मिक चेतभित्रको ‘मदमस्त’ दिल पनि रहेछ । यो चेहेराभित्र ‘उन्मुक्त’ भावभंगिमा पनि रहेछ ।

जीवनभर आस्थाको राजनीति गरेकालाई एउटा आस्थाको संगठन पनि चाहिने रहेछ भन्दै २००५ को डिसेम्बरमा एमाले नेता भिम रावलको अतिथ्यतामा उनले बनाएको नेपाली डेमोक्रेटिक फोरमले अहिले नेपाली प्रवासी मञ्चको रुपमा नाम फेरेको बताउँदै यो बेल्जियमको मुख्य शक्तिको रुपमा स्थापित रहेको जनाए । अहिले सुसी रेस्टुरेन्टका लागि आवश्यक पर्ने सामाग्रीहरुको प्रमुख व्यवसायी उनले २००७ तिर सुसी रेस्टुरेन्ट पनि चलाए ।

यतिबेला उनलाई व्यवसायबाट मनग्य आम्दानी छ । नर्वे र कतारमा समेत लगानी बिस्तार गरेका उनले नेपालमा पनि विभिन्न उद्योगहरुमा लगानी बढाइरहेका छन्, जीवनशैली आनन्दपूर्ण छ । एउटा छोरा छन् । सानो परिवार, अब उनी चिन्तित, दुःखित र पीडित भएर बाँच्ने पक्षमा छैनन् । जब उनी सुत्छन्, आनन्दले निदाउँछन् । खाँदा, बस्दा बेचैनी हुँदैन । मनमा आशंका, भय र प्रतिशोधको भावना पनि छैन । त्यसैले उनी आफूलाई शान्त र सन्तुष्ट ठान्छन् । एकदमै तनावरहित । एकदमै खुसी, बिन्दास । पुजापाठ पनि गर्न थालेका छन् केहि बर्षदेखि । भन्दछन ‘अब बिस्तारै बुढेसकाल लाग्न थाल्यो ।’

राजनीतिबाहेक योग ध्यान, साधना, संगीत, मनोरञ्जन आदिले आफूलाई निराशा र एक्लोपनबाट उन्मुक्ति दिलाएको खतिवडाको ठम्याइ छ ।

‘म पटक्कै बेखुशी, झगडालु र दुःखी छैन’, उनले निर्धक्कसाथ भने, ‘राजनीतिमा मात्र घोरिएको र व्यवसायमा हात नहालेको भए म पनि असरल्लको मान्छे हुन्थें होला,आर्थिक अभावले मनमा छटपटी र चिडचिडाहट हुन्थ्यो होला । अहिले एकखालको सन्तोष छ ।’

‘मैले सन्तुष्ट र खुसी हुन जानेको छु त्यसैले मन अनावश्यक दिशातर्फ़ भड्किन नदिन भजन, योगा आदि गर्छु’ उनले थपे, ‘किनभने मैले व्यक्तिगत स्वार्थका लागि राजनीति गरेको थिइनँ । जति गरें , मैले त्यसैबाट सन्तोष लिएँ र, व्यक्तिगत अभिष्ट पनि पालेको छैन । त्यही भएर म दुःखी छैन । बेल्जियमको नेपाली समाजलाई एक प्रकारले संकटमोचन गरेर नयाँ पुस्तालाई जिम्मा लगाई छोडिदिएका छौँ । नवीनजी बच्चा पढाउन बेलायततिर बसाइँ सर्नुभयो, आदरणीय राम दाइ बुढेसकालमा पारिलो घाम ताप्न नेपाल लाग्नुभयो। अब त बहस गर्ने पनि प्रसङ्ग नै छैन र उम्दा सहकर्मी पनि छैनन् ।’

उनको आँखामा देखिएको चमकले बताउँथ्यो, उनमा संक्रमणकालमा नेपाली समाज स्थापित गर्ने र नेपालमा भएको मानवअधिकारलाई अन्तर्राष्ट्रियकरण गर्ने जाँगर मात्र हैन, व्यवसायिक उन्नति र सफलताले डायस्पोराका उम्दा व्यवसायीमा नाम लेखाउने रुपान्तरित अभियानको जोश पनि प्रमाणित भैसकेको छ । पंतिकार घोत्लिन्छ, त्यो नमिलेको जिर्ण ज्यानभित्र तातो ज्वालामुखी जस्तै उर्जाशील व्यवसायिक र सामाजिक अभियान अझै चट्ट मिलेको युवा बनेर संघर्ष गरिरहेको छ ।

(सन्दर्भ सामाग्री : https://www.britannica.com/place/Belgium-Year-In-Review-2002, सम्बन्धित ब्यक्तिसंगको बिचारविमर्श र बेल्जियमको इतिहास)