जुवाडे समाउन ६ राउण्ड गोली

जुवाडे समाउन ६ राउण्ड गोली


बाराको जितपुर सिमरा उमनपास्थित बकुलियामा प्रहरीले जुवाडे समाउन ६ राउण्ड गोली प्रहार गरेको छ । हिजो बिहीबार राति २ बजे जुवाको खाल नियन्त्रणमा लिने क्रममा इलाका प्रहरी कार्यालय सिमराले ६ राउण्ड हवाईफायर गरेको स्थानीय प्रहरीलाई उद्धृत गर्दै राससले जनाएको छ ।

बकुलियामा जुवा खेलिरहेको सूचनाका आधारमा जुवा नियन्त्रण गर्न पुगेका प्रहरीलाई स्थानीयवासीले घेरेपछि प्रहरीले गोली चलाएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक भुवनेश्वर साहले जानकारी दिए ।

प्रहरीले एक ठाउँका जुवाडेलाई समाउन खोज्दा गाउँका अन्य ठाउँमा सञ्चालित जुवाडेहरुले प्रहरीलाई गाउँमै घेरेको र बाध्य भएर स्थिति नियन्त्रणमा लिन हवाईफायर गरेको थियो ।

जुवाडे र प्रहरीबीच दोहोर झडपसमेत भएको थियो । झडपमा एक प्रहरीसहित केही स्थानीयवासी सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

प्रहरीले जितपुरसिमरा उपमहानगरपालिका–५ बकुलियाका शंकर चौधरी थारुलाई नियन्त्रणमा लिएको छ भने नगद रु १५ हजार बरामद गरेको छ